५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरीका पार्टी सभापति जीवनकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
कोशी प्रदेशको ह्वाट्एप ग्रुपमा श्रेष्ठले लेखेको विषयलाई कारण बनाएर ५ चैतभित्र स्पष्टीकरण दिने गरी सोमबार स्पष्टीकरण सोधिएको छ । कोशीका कार्यवाहक सभापति गोमा तामाङ (शरिन)ले श्रेष्ठले स्पष्टीकरण सोधेका हुन् ।
स्पष्टीकरण पत्रमा उल्लेख भए अनुसार श्रेष्ठले मेसेज ग्रुपमा ‘यहाँ जे पनि हुनसक्छ यो कम्पनी हो, पार्टी हैन’ लेखेका थिए । श्रेष्ठले लगाएको आरोप कोशीका कार्यवाहक सभापति तामाङलाई नभई केन्द्रप्रति भएको स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ ।
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंको भनाइ म प्रति अथवा कोशी प्रदेशप्रति होइन भने यो केन्द्रलाई लगाएको आरोप हो । पार्टीलाई लगाएको लान्छना क्षम्य हुने देखिँदैन ।’
श्रेष्ठले पटकपटक आम पार्टी सदस्यहरूको गरिमामा ठेस लाग्ने गरी सामाजिक सञ्जालमा लेख्दै आएको आरोप पत्रमा लेखिएको छ । श्रेष्ठका क्रियाकलाप पार्टी हितविपरीत रहेको उल्लेख गरिएको छ । श्रेष्ठले पार्टीले कारबाही गरेका व्यक्तिहरूसँग सम्बन्ध राखेको स्पष्टीकरण पत्रमा लेखिएको छ ।