फाइल तस्वीर
१ चैत, काठमाडौं । अन्नपूर्ण संरक्षित क्षेत्रमा नियमित उडान गर्न चाहने हेलिकप्टर कम्पनीले स्थानीय सरकारसँग उडान सूचीकरणपत्र लिनुपर्ने भएको छ ।
यसरी सूचीकरण नभई यस क्षेत्रमा उडान गर्न चाहे प्रतिउडान दोब्बर शुल्क तिर्नुपर्ने गरी अन्नपूर्ण गाउँपालिकाले कार्यविधि संशोधन गरेको छ ।
गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा हेलिकप्टर उडान पर्यटन शुल्क व्यवस्थापन कार्यविधि २०७९ कार्यान्वयन गरिरहेको छ । जसमा हालै पहिलो संशोधन गरी सूचीकरण नगरी हेलिकप्टर उडाए दोब्बर शुल्क लिने नियम बनाइएको हो । सूचीकरण भएका हेलिकप्टरले हरेक उडान बापत १० हजार रुपैयाँ तिर्नुपर्छ ।
यसलाई संशोधनमा कायम राख्दै गाउँपालिकाले सूचीकरण नगरी उडाए दोब्बर अर्थात् प्रतिउडान २० हजार रुपैयाँ शुल्क लाग्ने बनाइएको हो ।
हेलिकप्टर उडानबाट अन्नपूर्ण आधार शिविर भ्रमण गर्ने विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले तोकेको रुट परमिट लिएको हुनुपर्छ ।
रुट परमिट नलिएका विदेशी पर्यटकलाई उडानमा योग्य नमानिने कार्यविधिमा उल्लेख छ । संशोधन मार्फत सूचीकरण शुल्क ५ हजार रुपैयाँ तय गरिएको समेत राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।
संशोधनमा स्थानीय साझेदार संस्थाको भूमिका समेत स्पष्ट पारिएको छ । त्यस्तो संस्थाले आपतकालीन उद्धार, विपद् व्यवस्थापन, पर्यटन, चिकित्सा सहायता जस्ता काममा सक्रिय हुनुपर्ने छ ।