Saturday, March 15, 2025
घरसमाचारविवादबीच विश्वविद्यालय क्याम्पसका उम्मेदवार सार्वजनिक, अरु कहाँ के भयो ?

विवादबीच विश्वविद्यालय क्याम्पसका उम्मेदवार सार्वजनिक, अरु कहाँ के भयो ?

१ चैत, काठमाडौ । राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको लागि त्रिवि, विश्वविद्यालय क्याम्पसले उम्मेदवारको अन्तिम नामावली बिहीबार राति अबेरमात्रै सार्वजनिक गर्‍यो ।

नेविसंघको दुई वटा समूहको उम्मेदवारी परेपछि आधिकारिक कसलाई मान्ने भन्नेमा विवाद भएपछि ढिलागरी सार्वजनिक गरिएको हो ।

नेविसंघबाट अनोज कार्की र दीपकराज जोशीले अध्यक्षका लागि उम्मेदवारी दिएका थिए । तर निर्वाचन समितिले नेविसंघ केन्द्रीय कमिटीलाई आधिकारिक कसलाई मान्ने भनेर सोधेको थियो ।

जसमा नेविसंघले जोशी समूह आधिकारिक भएको पत्र पठाएपछि निर्वाचन समितिले कार्कीको उम्मेदवारी खारेज गर्‍यो । यसअघि निर्वाचन समितिले त्रिवि सल्लाहकार, उपकुलपति केशरजंग बराल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार प्रसाद रिजालसँग पनि छलफल गरेर उम्मेदवारको अन्तिम नाम सार्वजनिक गरेको हो ।

‘एउटै संघ संगठनको एकभन्दा बढी उम्मेदवारी परेमा सम्बन्धित संघको केन्द्रीय सभापतिको सिफारिसलाई मध्यनजर गरेर अध्यावधिक गर्ने भनेको छ । अर्कै स्वतन्त्र भएको भए कार्की समूहको पनि नाम आउँथ्यो । तर एउटै भएपछि खारेज भयो,’ निर्वाचन समितिका एक सदस्यले भने, ‘निर्वाचन आचारसंहिता र निर्देशिका अनुसार निर्णय लिएका हौं । त्रिवि पदाधिकारीकै रोहवरमा निर्णय भएको हो ।’

नेविसंघले पनि आधिकारिक उम्मेदवार जोशी नै रहेको स्पष्ट पारेको छ । ‘आधिकारिक उम्मेदवार दीपक जोशी नै हो । त्रिवि समिति भनेर अर्को पनि उम्मेदवारी परेको छ । मिलाउने प्रयास गरिरहेका छौं,’ नेविसंघ प्रवक्ता सुरज सेजुवालले भने ।

कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, पार्टीबाट गठित निर्देशक समितिका संयोजक एवं सहमहामन्त्री किशोरसिंह राठोर लगायत कार्कीको पक्षमा रहेको विद्यार्थी नेताहरूले दाबी गरेका छन् ।

त्रिविका स्ववियु सभापति श्यामराज ओझा पनि कार्कीको पक्षमा खुलेका छन् । ‘आधिकारिक उम्मेदवार कार्की हो,’ उनले भने । तर निर्वाचन अधिकृतको कार्यालयले कार्कीको उम्मेदवारी खारेज गरेको छ ।

निर्वाचन अधिकृतप्रति असन्तुष्टी जनाउँदै कार्की समूहले प्रिन्सिपल कार्यालयमा ताला लगाएका छन् । निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेको राजीनामा मागेर कार्की समूहले ताला लगाएको हो । ‘अहिलेको अधिकृतबाट चुनाव सम्भव छैन । राजीनामा मागेर ताला लगाएका हौं,’ त्रिवि नेविसंघका अध्यक्ष विष्णु बडैलाले भने ।

उता एमाले र नेकपा एकीकृत समाजवादी निकटका विद्यार्थी संगठनले त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु चुनावको प्रक्रिया अगाडि बढाउन र कार्यालयमा लगाइएको ताला खोल्न माग गरेका छन् ।

नेविसंघको आन्तरिक विवादलाई लिएर चुनावी प्रक्रिया नबिथोल्न दुई संगठनले संयुक्त विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं उपत्यकाको अन्य क्याम्पसमा पनि चुनावी प्रक्रिया रोकिएको छ ।

सरस्वती क्याम्पसमा मतदाता सूचीमा विवाद हुँदा तालाबन्दी भएकाले प्रक्रिया अगाडि बढेको छैन । नेपाल ल क्याम्पसमा संघसंगठन नै दर्ता भएको छैन ।

पब्लिक युथ क्याम्पसमा मतदाता नामावलीमा विवाद भएपछि प्रक्रिया अगाडि बढेको छैन । थापाथली इन्जिनियरिङ क्याम्पसमा एउटै संगठनको दुई वटा उम्मेदवारी परेपछि तालाबन्दी भएको छ ।

शंकरदेव क्याम्पसमा मतदाता सूचीमा विवाद भएपछि तालाबन्दी छ । धनुषाको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा भर्नाको विषयलाई लिएर प्रक्रिया नै अगाडि बढेको छैन ।

सुर्खेत बहुमुखी क्याम्पसमा कसैले दर्ता गरेको र कसैले गर्न नपाएको भन्दै विवाद छ । बुटवल र भैरहवा क्याम्पसमा पनि तालाबन्दी छ ।

विवाद भएको क्याम्पसमा निर्वाचन समितिले सहमतिको प्रयास गरिरहेको त्रिविले जनाएको छ । स्ववियु चुनाव ५ चैतमा हुँदै छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -