काठमाडौं । फिल्म ‘पिताम्बर’ले विहिबार बिहान कलाकारसँग होली खेलेको छ । एकापसमा रङ दलेर कलाकार प्रदीप खड्का,सुपुष्पा भट्ट लगायतले रङको पर्व फागु मनाए ।
निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईंसहित संचारकर्मीले पनि होलीमा भाग लिए । चैत २९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्मले प्रवद्र्धन अभियानअन्तर्गत होली पर्व सेलिब्रेसन गरेको हो ।
विहिबार पहाडी क्षेत्रमा भातृत्व र सद्भावको पर्व फागु पर्व मनाइँदैछ भने मधेश क्षेत्रमा शुक्रबार मनाइनेछ ।
यो मल्टिस्टारर एक्सन फिल्ममा प्रदीपको शीर्ष भूमिका छ । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्तको पनि अभिनय छ ।
फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सहनिर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । महिला निर्देशकले विरलैरुपमा एक्सन जनराका फिल्म निर्देशन गर्ने खडेरीलाई तोड्दै चौलागाईंले ‘पिताम्बर’ निर्देशन गरेकी हुन् ।
तस्वीर : सुरेन्द्र थापा