जारी च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने टिम बार्सिलोना आफ्नो रफ्तारलाई निरन्तरता दिने प्रयासमा रहनेछ भने सन् २०२१ कै जस्तो नतिजा निकाल्दै उथलपुथल गर्ने दाउमा बेनफिका छ ।
२७ फागनु, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ का दोस्रो लेगका खेलहरू आज (मंगलबार) बाट सुरु हुँदैछ ।
अन्तिम १६ को दोस्रो लेगको पहिलो खेलमा स्पेनिस ला–लिगा लिडर बार्सिलोनाले पोर्चुगिज क्लब बेनफिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति साढे ११ बजे बार्सिलोनाको घरेलु मैदान ओलम्पिक लुइस कम्पनीमा खेल हुँदैछ ।
बार्सिलोनाको घरेलु मैदानमा उत्रिँदा पाहुना टोली बेनफिका दबाबमा हुनेछ । गत ६ मार्चमा भएको पहिलो खेलमा बार्सिलोनाले बेनफिकालाई उसकै घरेलु मैदानमा हराएको थियो । खेलको २२ औं मिनेटमा सोझै रातो खार्ड खाएपछि बार्सिलोनाका युवा डिफेन्डर कुर्बासी मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि १० खेलाडीमा सीमित बार्सिलोनाले सम्हालिएको खेल प्रस्तुत गर्यो । दोस्रो हाफको ६१ औं मिनेटमा बार्सिलोनाका ब्राजिलियन विंगर राफिन्हाले गरेको एक मात्र गोलले बार्सिलानो विजयी भयो ।
५२ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राख्दै बार्सिलोनाको पोस्टमा २६ पटक आक्रमण गरे पनि घरेलु मैदानकै हार टार्न बेनफिकाले सकेन । बार्सिलोनाका लागि गोल रक्षक स्केन्जीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
१० खेलाडी हुँदा हुँदै पनि जितेर आत्मबल बलियो बनाएको बार्सिलोना आज आफ्नै घरेलु मैदानमा बेनफिकालाई सहज हराउने दाउमा छ । खेल बराबरी गरेमा मात्रै पनि बार्सिलोना अर्को चरणमा पुग्नेछ । बेनफिकालाई भने खेल जित्नैपर्ने दबाब छ ।
जसकारण बनेफिका नतिजा उथलपुथल पार्दै अर्को चरणमा प्रवेश गर्ने दाउमा छ । तीन वर्षअघि सन् २०२१ को सेप्टेम्बर ३ मा च्याम्पियन्स लिगमा बेनफिकाले बार्सिलोनामाथि सनसनी मच्चाउँदै ३–० गोलको नतिजा निकालेको थियो ।
च्याम्पियन्स लिगको समूह चरणको खेलमा त्यतिबेला बेनफिकाका फरवार्ड डार्विन नुनेज २ गोल (हाल लिभरपुलमा) र राफा सिल्भाले १ गोल गरेका थिए । उक्त हारसँगै बार्सिलोना युरोपा लिगमा झरेको थियो । त्यस्तै सरप्राइज नतिजा निकाल्दै बार्सिलोनालाई नमिठो चोट दिने दाउमा बेनफिका छ ।
बार्सिलोनाको पक्षमा इतिहास
बार्सिलोना र बेनफिकाबीचको खेल इतिहास हेर्ने हो भने नतिजा बार्सिलोनाको पक्षमा देखिन्छ । यी दुईबीच ११ पटक भिडन्त भएको छ । जसमा ५ पटक बार्सिलोनाले जितेको छ भने २ खेल बेनफिकाले जितेको छ । बाँकी ४ खेल बराबरीमा टुंगिएका छन् । बार्सिलोनाले १४ गोल गर्दा बेनफिकाले ११ गोल फर्काएको छ ।
जारी च्याम्पियन्स लिगमा दोस्रो स्थानमा रहँदै समूह चरणका खेल बार्सिलोनाले टुंग्याएको थियो । बेनफिका भने १६ औं स्थानमा रहेको थियो । जारी च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने टिम पनि बार्सिलोना नै हो ।
बार्सिलोनाले जारी च्याम्यिन्स लिगमा २९ गोल गरिसकेको छ भने बेनफिकाले २० गोल गरेको छ । जारी च्याम्पियन्स लिगमा बढी गोल गर्ने खेलाडीको अग्रस्थानमा पनि बार्सिलोनाकै खेलाडीहरू छन् । १० गोल गर्दै शीर्ष स्थानमा बोरुसिया डर्टमन्डका गुइरासी छन् । त्यसपछि समान ९ गोल गर्दै बार्सिलोनाको लेवान्डोस्की र राफिन्हा दोस्रो र तेस्रो स्थानमा छन् ।
यसै सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेलमा पनि बार्सिलोनाले बेनफिकालाई ५–४ गोल अन्तरले हराएको थियो । इतिहास बार्सिलोनाको पक्षमा भए पनि बेनफिकाले आजको खेल आक्रमण लक्षित हुने भएकाले सुरुदेखि नै बार्सिलोनालाई दबाबमा राख्न सक्ने देखिन्छ ।
खड्किन सक्छ कुबार्सीको अभाव, टिममा छैनन् डी–मारिया
अन्तिम १६ को पहिलो लेगको सुरुवातमै रातो कार्ड खाएर मैदान बाहिरिएका युवा भरपर्दा डिफेन्डर कुबार्सी बिना बार्सिलोना मैदान उत्रिँदैछ । भरपर्दा युवा डिफेन्डरको अभाव बार्सिलोनालाई महँगो पर्न सक्छ ।
पछिल्लो समय कुबार्सी बार्सिलोनाका पहिलो रोजाइका डिफेन्डर हुन् । विपक्षी फरवार्डका लागि तगारो बन्दै आएका कुबार्सीको अनुपस्थितिमा बेनफिकाले फाइदा उठाउन सक्ने पनि देखिन्छ । यद्यपी उनको ठाउँमा आज कप्तान रोनाल्ड अराउजो र मार्टिन इन्गो मार्टिनेज मैदानमा उत्रनसक्ने आकलन गरिएको छ ।
बार्सिलोनाले भरपर्दा डिफेन्डर गुमाउँदा बेनफिकाले आफ्नो भरपर्दा खेलाडीहरू गुमाएको छ । भरपर्दा र अनुभवी अजेन्टिनी फरवार्ड एन्जल डी–मारियाबिनै बेनफिकाले बार्सिलोनाको यात्रा गरिसकेकोे छ । जसकारण उनी पनि आजको खेलमा मैदानमा हुने छैनन् । चोटका कारण फिट नरहेका उनी बेनफिकाको स्वाडमै छैनन् ।
अर्का भरपर्दा लेफ्ट ब्याक अल्भारो क्यारेरास पनि सस्पेन्समा परेका कारण आजको खेल गुमाउने छन् । उनको ठाउँमा स्यामुएल डाहाललाई टिममा राखिएको छ ।
‘बार्सिलोना क्षमतावना खेलाडीले भरिभराउ छ’
बेनफिकाको प्रशिक्षक बु्रनो लागेले बार्सिलोना क्षमतावान खेलाडीले भरिभराउ भएको बताएका छन् । दोस्रो लेगको खेलका लागि बार्सिलोना उपस्थित भइसकेका बेनफिकाका प्रशिक्षक लागेले फर्ममा रहेको बार्सिलोनालाई जसरी पनि हराउने लक्ष्य रहेको बताएका छन् ।
प्रि–म्याच कन्फरेन्समा बोल्दै उनले भनेका छन्, ‘बार्सिलोना एउटा क्वालिटी टिम हो । उसको आफ्नै मैदानमा खेल भएकाले उनीहरूलाई केही सहज होला । तर हाम्रो उदेश्य भनेको जसरी पनि जित निकालेर अर्को चरणमा प्रवेश गर्ने हुनेछ ।’
उनले आफ्नो खेलाडीहरूमाथि आत्मविश्वास रहेको बताएका छन् । यसअघि दुई खेलमा राम्रो सुरुवात गरेको र मौकाहरू पनि राम्रो सिर्जना गरेको बताउँदै चाँडै गोल गरेर खेल आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताएका छन् ।
बार्सिलोनको बल पोसेसन र मिडफिल्डरको खुलेर प्रशंसा समेत गरे । वान टु वान परिस्थितिमा उनीहरू घातक हुनसक्ने बुझाइ लागेको छ । त्यसैगरी उनले बार्सिलोनाका फरवार्डहरूको पनि प्रशंसा गरे ।
तर आफूहरूको रणनीति जसरी पनि गोल गर्नु रहेको उनको भनाइ छ । ‘बार्सिलोनाको डिफेन्स सेट पनि राम्रो छ । हामीले स्पेस कहाँनेर छ भनेर बुझ्न आवश्यक छ । मलाई लाग्छ कि हामी त्यो गर्न सक्छौं,’ लागेले भनेका छन् ।
‘बेनफिकाको काउन्टर खतरनाक छ’
बार्सिलोनाका प्रशिक्षक हान्सी फिल्क भने बेनफिकाविरुद्ध बचेर खेल्नुपर्ने बताएका छन् । प्रि–म्याच कन्फरेन्समा एफसी बार्सिलोनालाई प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘हामीले बेनफिकाविरुद्ध थप दबाब दिनुपर्छ । डिफेन्समा राम्रो ध्यान दिनुपर्छ । लिस्बनमा हामीले उनीहरूले कसरी काउन्टर गर्न सक्छौं भन्ने देखिसक्यौं, हामी होसियार हुनै पर्छ ।’
बेनफिकाको घरेलु मैदानमा भएको पहिलो लेगमा आफूहरूले गरेको राम्रो पक्ष र गल्ती समेत केलाएकाले त्यसलाई ध्यानमा राखेर रणनीति बनाइएको फिल्ककको भनाइ छ । खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेकाले यो लयलाई कायम राख्दै जित्ने लक्ष्यमा आफूहरू रहेको उनले बताए ।