नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित १६ हप्ते आइपिएम कृषक पाठशाला समापन भएको छ । आर्थिक विकास समिति अन्तर्गत कृषि विकास शाखाको आयोजनामा आइपिएम कृषक पाठशालाको समापन तथा कृषक दिवस कार्यक्रम वडा नम्बर १९ फाराम टोलमा आज सम्पन्न भएको छ । कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका आर्थिक विकास समिति सदस्य तथा कार्यपालिका सदस्य सङ्गीता रेग्मीको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यता तथा आर्थिक विकास समिति संयोजक गोपाल पुनको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले कृषि क्षेत्रमा आगामी दिनमा नयाँ क्रान्ति गर्ने र वास्तविक किसान पहिचान गरी नगरलाई कृषि बस्तुमा आत्मनिर्भर बताउने गरी योजना कार्यान्वयन गरिने बताउनुभयो । विशिष्ट अतिथि पुनले कृषिलाई आधुनिक र प्रविधियुक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । आइपिएम तरिकाबाट लगाइएको बन्दा प्रति कठ्ठा ४२ क्विन्टलसम्म उत्पादन भएको देखिएको छ ।
समापन कार्यक्रममा कृषि शाखा प्रमुख अम्बिका रिजालले १६ हप्ता सञ्चालन गरिएको पाठशालाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने पूर्व बागवानी विकास अधिकृत शम्भु नाथले आइपिएम पाठशालाको सान्दर्भिकता र महत्वबारे प्रकाश पार्नुभएको थियो । कृषि शाखाका नायब प्राविधिक सहायक भुवन प्रसाद पन्तले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कृषकका नृत्य लगायतका विविध प्रस्तुति रहेका थिए ।