Monday, March 10, 2025
घरसमाचारब्राजिलले पाएको पहिलो ओस्कार

ब्राजिलले पाएको पहिलो ओस्कार

युद्धले देशलाई कथा दिन्छ, जुन पछि गएर इतिहास हुन्छ। युद्धले मान्छेलाई व्यथा दिन्छ, जुन पछि गएर आघात बन्छ। त्यही कथा, इतिहास, व्यथा र आघातको दस्तावेज हो– ‘आई एम स्टिल हियर’, जसले ब्राजिललाई पहिलो ओस्कार दिलायो।

ओस्कार वितरण हुने दिनभन्दा ठ्याक्कै दुई दिन अघि मात्र मैले ‘आई एम स्टिल हियर’ हेरेको थिएँ। फिल्म सकिंदासम्म मेरा आँखा रसाइसकेका थिए। फिल्मले पुन: एकपटक मलाई बोध गराएको छ, हामीले बाँचेका युद्ध फरक छन्, तर हामीले भोगेका व्यथा एउटै।

ब्राजिलियन फिल्म ‘आई एम स्टिल हियर’ लेखक मार्सेलो रुबेन्स पाइवाको सन् २०१५ मा प्रकाशित आत्मकथा ‘आई एम स्टिल हियर’मा आधारित रहेको छ। मार्सेलो रुबेन्स पाइवा उनै ‘रुबेन्स पाइवा’का छोरा हुन्, जसलाई ब्राजिलको सैन्य तानाशाहीको समयमा घरबाट जबर्जस्ती लगेर हत्या गराइएको थियो। उनले आत्मकथामा ब्राजिलको सैन्य तानाशाही, त्यसबेलाको राजनीतिक स्थिति, त्यसले परिवारमा पारेको प्रभाव, विशेषगरी उनकी आमा युनिस पाइवाको जीवनमा परेको असरबारे वर्णन गरेका छन्।

ब्राजिलका राष्ट्रपति जोआओ गुलार्टले भूमिसुधार, श्रमिक अधिकार, राष्ट्रियकरण र क्युवासँगको सम्बन्ध बढाएपछि उनलाई कम्युनिस्ट समर्थक भन्दै सैन्य र दक्षिणपन्थी दलहरूले विरोध गर्न थालेका थिए। परिणामस्वरूप: ब्राजिलमा १ अप्रिल सन् १९६४ मा सैन्य तानाशाहीको सुरुवात भयो, जसलाई ‘पाँचौं ब्राजिलियन गणतन्त्र’ भनेर पनि चिनिन्छ।

त्यो शासन ब्राजिलियन सशस्त्र सेनाले राष्ट्रपति जोआओ गुलार्ट विरुद्ध गरेको सैनिक ‘कु’ बाट शुरू भएको थियो, जसलाई सेनाका उच्च अधिकारीहरूले योजनाबद्ध रूपमा बुनेका थिए। त्यसलाई सेना, क्याथोलिक चर्च तथा ब्राजिलको धनी र उच्च वर्गका व्यक्तिहरूले समर्थन गरेका थिए। दक्षिण अमेरिकामा समाजवादी वा वामपन्थी शासन फैलिन नदिन अमेरिकाले पनि सैन्य हस्तक्षेपलाई साथ दिएको थियो।

यसरी ब्राजिलको लोकतान्त्रिक व्यवस्था ध्वस्त पार्दै सैन्य शासनको सुरुआत भयो, जुन २१ वर्षसम्म कायम रहेको थियो। उक्त सैन्य शासनले राष्ट्रवाद, आर्थिक विकास र कम्युनिज्म विरुद्धको अभियानलाई आफ्नो मुख्य लक्ष्य बनाए पनि भित्रभित्रै देशमा मानवअधिकार उल्लंघन, दमन, सेन्सरसिपलाई चरम सीमामा पुर्‍याएको थियो।

त्यसले गर्दा देशमा विस्तारै राजनीतिक तथा सामाजिक अस्थिरता देखा पर्न थालेका थिए। नयाँ व्यवस्था विरुद्ध विद्यार्थी आन्दोलनमा उत्रिन थालेका थिए, मजदुर हड्ताल गर्न थालेका थिए, वामपन्थी समूहहरू सडकमा आएर आवाज उठाउन थालेका थिए। जनताले सैन्य शासनको दमनकारी नीतिहरूको विरोध गर्न थालेका थिए। देशमा ठूलो विरोध प्रदर्शन हुन थालेको थियो।

त्यसपछि सैन्य शासनले सन् १९६८ मा इन्स्टिट्युसनल एक्ट नम्बर ५ (एआई–५) पारित गर्‍यो, जसलाई सैन्य शासनको सबैभन्दा दमनकारी कानूनी आदेश भनेर पनि चिनिन्छ। उक्त नयाँ नीतिले ब्राजिलको सैन्य शासनलाई झनै कठोर र बलियो बनाइदियो। त्यसले देशलाई पूर्णरूपले एक तानाशाही शासनमा रूपान्तरण गरिदियो।

नयाँ शासनले संसद्लाई अनिश्चितकालका लागि बन्द गर्ने अनुमति पायो। नागरिक अधिकार र राजनीतिक स्वतन्त्रता खोसियो। पत्रकारिता र सञ्चारमाध्यममाथि पूर्ण नियन्त्रण लियो। विरोध प्रदर्शन, हड्ताल र स्वतन्त्र अभिव्यक्तिमा रोक लगाइयो। राजनीतिक दलहरूलाई प्रतिबन्ध गर्ने, विपक्षी नेताहरूलाई निर्वासनमा पठाउने तथा गिरफ्तार गर्ने अधिकार पायो।

न्यायालय, विश्वविद्यालय र सरकारी निकायहरूमा सैन्य नियन्त्रण लागू गरियो। राजनीतिक गतिविधिलाई निगरानी गर्न गुप्तचर प्रणाली स्थापना गरियो। राजनीतिक असहमति देखाउनेहरूलाई ‘सुरक्षा खतरा’ भनेर घोषणा गर्न थालियो। सैन्य शासकले कुनै पनि व्यक्तिलाई विना अभियोग ६० दिनसम्म पक्राउ गर्न सक्थ्यो।

सैन्य शासनको कठोर अवधिभर विपक्षीहरूमाथि यातना, हत्या तथा देश निकाला जस्ता अत्याचार भइरहे। उक्त शासनकालमा २० हजार भन्दा बढी मानिसलाई यातना दिइयो। ४३४ जना आधिकारिक रूपमा मारिए। कैयौं वामपन्थी कार्यकर्ता, विद्यार्थी, लेखक, कलाकारहरू पक्राउ परे वा निर्वासनमा पठाइए। केही अनुसन्धानकर्ताका अनुसार वास्तविक पीडितहरूको संख्या अझ धेरै हुनसक्ने अनुमान रहेको छ। त्यो समयमा हजारौं आदिवासी सैन्य शासनको कारण मारिएका थिए।

अन्तत: सन् २०१४ मा गएर ब्राजिलको सैन्य नेतृत्वले पहिलो पटक तानाशाही शासनका क्रममा गरिएका यातना र हत्या स्वीकारेका थिए। उक्त सैन्य शासन ब्राजिलको एक यस्तो दमनकारी शासन प्रणाली थियो, जसमा आर्थिक वृद्धि भए पनि जनताको स्वतन्त्रता र मानवअधिकार पूर्ण रूपमा दबिएको थियो।

ब्राजिलको त्यही सैन्य तानाशाहीको शासनमा मारिएका थिए, रुबेन्स पाइवा। उनी सिभिल इन्जिनियर तथा राजनीतिज्ञ थिए। उनले ब्राजिलियन चेम्बर अफ डेपुटिजमा सांसदको रूपमा पनि काम गरेका थिए। सन् १९६४ को सैन्य ‘कु’पछि, अरू राजनीतिज्ञहरूसँगै उनको संसदीय पद पनि सैन्य सरकारद्वारा खारेज गरियो। पछि उनलाई व्यवस्था विरुद्धका गतिविधिमा संलग्न भएको आरोप लगाउँदै गिरफ्तार गरियो। पक्राउपछि यातना दिइयो र उनको हत्या गरियो। तर, उनको शरीरका अवशेषहरू कहिल्यै फेला परेनन्।

उनै रुबेन्स पाइवाको गाथा हो, ‘आई एम स्टिल हियर’, जसलाई उनकी श्रीमती युनिस पाइवाको नजरबाट देखाइएको छ। फिल्मले आफ्नो श्रीमान्‌को खोजी र परिवारको स्थिरता कायम राख्ने प्रयासलाई केन्द्रमा राखेको छ। निर्देशक वाल्टर साल्सले फिल्म मार्फत ब्राजिलको सैन्य तानाशाहीको समयमा हराएका रुबेन्स पाइवाको परिवारको संघर्ष र साहसलाई सशक्त रूपमा चित्रण गरेका छन्, जसले हामीलाई ब्राजिलको त्यही कालो कालखण्डमा पुर्‍याएको छ।

फिल्ममा रुबेन्स पाइवाकी श्रीमती ‘युनिस पाइवा’को भूमिका निर्वाह गरेकी अभिनेत्री फर्नान्डा टोरेसले श्रीमती र आमाको रूपमा दु:खको गहिराइलाई प्रभावकारी रूपमा प्रस्तुत गरेकी छिन्। ‘आई एम स्टिल हियर’बाट बेस्ट एक्ट्रेसका रूपमा गोल्डन ग्लोब जित्ने उनी पहिलो ब्राजिली अभिनेत्री हुन्। उनी सोही विधामा ओस्कार अवार्डमा पनि मनोनयन परेकी थिइन्।

ओस्कारमा मनोनयन हुने उनी आफ्नी आमा मोन्टेनेग्रोपछि दोस्रो ब्राजिली अभिनेत्री हुन्। मोन्टेनेग्रोले ‘आई एम स्टिल हियर’मा आफ्नै छोरी फर्नान्डा टोरेसकी वृद्ध पात्रको रूपमा अभिनय गरेकी छिन्। उनी पनि सन् १९९९ मा ‘सेन्ट्रल स्टेसन’बाट ओस्कारमा मनोनयन भएकी थिइन्, जसलाई वाल्टर साल्सले नै निर्देशन गरेका थिए।

सन् १९७० मा पूर्व सांसद रुबेन्स पाइवा ६ वर्षको लामो आत्म-निर्वासनपछि रियो डि जेनेरियो फर्कन्छन् र आफ्नो श्रीमती र पाँच सन्तानसँग सुखमय जीवन बिताउन थाल्छन्। तर, राजनीतिक अस्थिरताको बीचमा, उनलाई सैनिकहरूले गिरफ्तार गर्छन् र बेपत्ता पार्छन्। श्रीमान्‌को बेपत्तापछि, युनिस पाइवाले गम्भीर रूपमा मानसिक, शारीरिक र सामाजिक संघर्षको सामना गर्नुपर्छ। उनी आफ्नो श्रीमान् फर्केर आउने आश बोकेर बस्छिन्।

श्रीमान्‌को अवस्थाबारे जानकार नहुँदा उनको मानसिक तनाव विस्तारै बढ्दै जान्छ। उनले आफ्नो श्रीमान्‌को खोजीमा सार्वजनिक रूपमा आवाज उठाउँछिन्, जसका कारण उनी पनि गिरफ्तार हुन्छिन् र यातना भोग्छिन्। उनलाई १२ दिनसम्म कैद गरिन्छ, जहाँ उनले अरू राजनीतिक कैदीहरूको यातना समेत देख्नुपर्छ। उनीसँगै उनकी १५ वर्षीया छोरीलाई पनि सोही कारागारमा २४ घण्टासम्म राखिन्छ। तनाव, भोक र शारीरिक कष्टका कारण उनले दीर्घकालीन स्वास्थ्य समस्याहरू समेत भोग्नुपर्छ।

सरकार र सेना विरोधी भएकाले धेरैले उनको परिवारलाई आफूबाट टाढा राख्न थाल्छन्। श्रीमान् बेपत्ता भएपछि परिवारको जीविका चलाउन कठिन बन्न पुग्छ, जसका कारण उनले धेरै नै संघर्ष गर्नुपर्छ। आफ्ना छोराछोरीलाई सुरक्षित राख्ने जिम्मेवारी उनको काँधमा झन् भारी हुँदै आउँछ। विस्तारै उनी अन्य पीडित परिवारहरूसँग मिलेर सत्य र न्यायको खोजी गर्न थाल्छिन्।

आफ्नो श्रीमान्‌को शव फेला नपरेका कारण उनले कहिल्यै न्यायको महसुस गर्न पाउँदिनन् तर उनी ब्राजिलको सैनिक तानाशाही विरुद्ध लड्ने प्रेरणादायी महिला बन्न पुग्छिन्। फिल्मले उनको संघर्ष, परिवारको पुनर्स्थापना प्रयास र ब्राजिलको राजनीतिक अवस्थालाई मज्जासँग चित्रण गरेको छ। फिल्म युनिस पाइवाको असाधारण संघर्षको कथा हो, जसले मानसिक, शारीरिक, आर्थिक र सामाजिक कठिनाइहरूको सामना गर्नुपरे पनि कहिल्यै हार मानिनन्। उनको साहस, संघर्ष र दृढताले ब्राजिलको इतिहासमा ठूलो छाप छाडेको छ।

उनले आफ्नो श्रीमान्‌को अवस्थाबारे जानकारी प्राप्त गर्न निरन्तर रूपमा खोजी गरिरहन्छिन्। उनले सैन्य शासनका पीडितहरूका अभिलेखहरू खोल्ने अभियान नै चलाउँछिन्। उनी अधिनायकवादी सरकारको विरुद्धको लडाइँको प्रतीक बन्न पुग्छिन्, त्यसैले पनि उनलाई र उनका सन्तानहरूलाई सैन्य जासूसहरूले लामो समयसम्म निगरानीमा राख्छन्।

 

उनी सैन्य शासनको समयमा राजनीतिक गतिविधिका कारण हराएका व्यक्तिहरूको मृत्युलाई स्वीकार गर्ने कानून लागू गराउनेमा एक प्रमुख अभियन्ता हुन्छिन्। सन् १९९६ मा २५ वर्षपछि, उनले ब्राजिल सरकारबाट आधिकारिक रूपमा रुबेन्स पाइवाको मृत्युको प्रमाणपत्र पाउँछिन्। उनी पत्रकारहरूको अघि आफ्नो श्रीमान्‌को मृत्युको प्रमाणपत्र लिएर मुस्कुराउँछिन्। ओहो ! त्यो दृश्य। फिल्ममा जब उक्त दृश्य आउँछ, मुटु निचोरिन्छ।

पछि ब्राजिल सरकारले रुबेन्सको मृत्यु प्रमाणपत्रलाई सच्चाउँदै त्यसमा राज्यको हातबाट हिंसात्मक तरिकामा ज्यान गुमाएका भनी उल्लेख गर्छन्। सन् १९८८ मा, युनिस पाइवा राष्ट्रिय संविधानसभाको आदिवासी एजेन्डाहरूको सल्लाहकार हुन्छिन्, जसले सैन्य शासनद्वारा दुरुपयोग गरिएका पुराना संविधानको स्थानमा नयाँ ब्राजिलको संविधान ल्याउन मद्दत गर्छ।

फिल्मले गहिरो सामाजिक र राजनीतिक सन्देश दिएको छ, यसले अन्याय र अत्याचार विरुद्ध संघर्ष गर्ने साहस, साँचो न्यायको खोजी र मानवअधिकारको महत्त्वलाई उजागर गरेको छ। कुनै पनि परिस्थितिमा सत्य र न्यायको पक्षमा उभिनुपर्छ भन्ने प्रेरणा युनिस पाइवाको जीवन र संघर्षले देखाएको छ। १३ डिसेम्बर सन् २०१८ मा, साओ पाउलो शहरमा, ८९ वर्षको उमेरमा युनिस पाइवाको निधन भएको थियो। उनी १५ वर्षदेखि अल्जाइमरसँग लडिरहेकी थिइन्।

८१औं भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सर्वश्रेष्ठ पटकथा पुरस्कार जितेको ‘आई एम स्टिल हियर’ले ९७औं एकेडेमी अवार्डस्‌मा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्मको लागि ब्राजिललाई पहिलो ओस्कार मात्र दिलाएन, कोभिडको महामारीपछि सबैभन्दा बढी कमाइ गर्ने ब्राजिलियन फिल्म पनि बनेको छ। ‘आई एम स्टिल हियर’ यस्तो शक्तिशाली फिल्म हो, जसले ब्राजिलको इतिहासको कठिन समयमा एक महिलाको साहस र दृढतालाई देखाएको छ। फिल्मले व्यक्तिगत र राजनीतिक संघर्षलाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ, जसले हामीभित्र गहिरो प्रभाव पार्छ।

समय फरक हुन्छ, युद्ध फरक हुन्छ। तर, हाम्रो भावना एउटै हुन्छ। ‘आई एम स्टिल हियर’ ऐतिहासिक फिल्म मात्र होइन, भावनात्मक फिल्म हो। सन् १९८५ मा लोकतन्त्र फर्किएपछि मात्र ब्राजिलमा राजनीतिक स्वतन्त्रता, मानवअधिकार र खुला समाजको पुनर्स्थापना सम्भव भएको थियो।

फिल्म ‘आई एम स्टिल हियर’ले ब्राजिललाई पहिलो ओस्कार जिताएपछि देशभरि ठूलो रौनक छाएको छ। फर्नान्डा टोरेसको उत्कृष्ट अभिनयले ब्राजिलको फिल्म उद्योगमा नयाँ मापदण्ड स्थापित गरेको छ। ब्राजिलका राष्ट्रपति र अन्य उच्च अधिकारीहरूले समेत टोरेसको सफलता र ओस्कार जितलाई राष्ट्रिय गौरवको क्षण मान्दै बधाई दिएका छन्।

मेरो निम्ति पछिल्लो समय हेरेको उत्कृष्ट फिल्महरूको सूचीमा ‘आई एम स्टिल हियर’ पनि परेको छ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -