Thursday, March 6, 2025
घरसमाचारम्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान

म्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान

२१ फागुन, पोखरा । म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब डेढ अर्ब अपचलन प्रकरणमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले बुधबार भएको थुनछेक बहसपछि समन्वय प्रमुख राजकुमार थापासहित ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।

सहकारीको पूर्वउपाध्यक्ष रहेका थापासहित पूर्व अध्यक्ष मनप्रसाद थजाली, सञ्चालक समिति सचिव देवी थापा, पूर्व प्रवन्धक रुद्र गुरुङ र लेखा समितिका पूर्व सदस्य लोकबहादुर पुन (लोकेश) लाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको श्रेस्तेदार भोलाराज रेग्मीले जानकारी दिए ।

माघ २० गते पक्राउ परेका थापासहितलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान प्रतिवेदन तयार गरी प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

सरकारी वकिलको कार्यालय प्रहरीको प्रतिवेदन अध्ययन गरी सहकारी ठगीमा मात्र कारबाही गर्न माग गर्दै फागुन १५ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।

थापासहित २५ जनालाई विपक्षी बनाएर अदालतमा दायर अभियोग पत्रमा १ अर्ब १३ करोड बिगो माग दाबी गरिएको थियो । प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले सहकारीको डेढ अर्ब रुपैयाँ जोखिममा परेको भन्दै थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो ।

यो सहकारी ठगी प्रकरणमै प्रहरी हिरासतमा रही विरामी परेर अस्पतालमा उपचार गराइरहेका पूर्व अध्यक्ष थमबहादुर गर्बुजालाई स्वास्थ्यमा सुधार भएपछि उपस्थित गराउन अदालतले आदेश गरेको छ । कुमारी सहकारीको रकम अपचलन अभियोगमा अझै १९ जना फरार रहेको प्रहरीले जनाएको छ ।

जिसस म्याग्दीका अध्यक्ष थापा नेकपा एमालेबाट निर्वाचित हुन् । उनलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेकाले मुद्दाको किनारा लगाग्दासम्म पार्टीबाट निलम्बन गरिएको एमाले प्रदेश इन्चार्ज किरण गुरुङले जानकारी दिएका छन् ।

थापाले आफू उपाध्यक्ष छँदा सहकारीको रकम आफ्नो बोर्डिङ स्कुल, जग्गा खरिद तथा व्यक्तिगत प्रयोजनमा लगाएको उनीमाथि अभियोग छ ।

कुमारी सहकारीमा करिब ६ हजार जना बचतकर्ताको रकम हिनामिना भएको उजुरी परेपछि रजिस्ट्रारको कार्यालयले हिसाब मिलाउन १ वर्षको समय दिएको थियो ।

त्यो अवधिमा केही रकम सहकारीमा फिर्ता गरे पनि अपचलन भएको रकम मिलान नभएपछि रजिस्ट्रारको कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको थियो ।

थापाले सहकारीको रकम बुद्ध एकेडेमीमा पनि खर्च गरेको पाइएको थियो । सुरुमा रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय विश्लेषण प्रतिवेदनमा १ अर्ब ४९ करोड अपचलन देखिएको भए पनि थापाले केही जग्गाको हिसाब मिलान गरेका थिए ।

तर, अझै करिब १ अर्ब ४२ करोड रुपैयाँ जोखिममा परेको रजिस्ट्रारको कार्यालयको निष्कर्ष थियो ।

२०६५ सालमा मनप्रसाद थजालीको अध्यक्षतामा गठन भएको सहकारीबाट निवर्तमान उपाध्यक्षसमेत रहेका जिसस प्रमुख थापालगायतको योजनामा रकम दुरुपयोग भएको प्रतिवेदनमा थियो ।

सहकारीमा अहिलेका अध्यक्ष यमबहादुर रोका, ऋण समिति संयोजक सूर्यबहादुर तिलिजा, लेखा समिति संयोजक गेमबहादुर घर्ती छन् ।

२०७९ माघ २८ नयाँ कार्यसमिति चुनिएर आउनुभन्दा अगाडि नै सहकारीमा समस्या आइसकेको थियो । सहकारीमा २०८७ फागुनसम्म रुद्रबहादुर गुरुङ र त्यसपछि दिलिप रम्जाली व्यवस्थापक भएर काम गरेका थिए ।

सहकारीबाट लिएको रकमको ब्याज र साँवासमेत सहकारीमा नबुझाई छुट खर्च लेख्न लगाउने काम जिसस प्रमुखले गरेको अभियोग छ । राजकुमारले पत्नीको नामको ऋणसमेत डर, त्रास र धम्की देखाई मिलान गर्न लगाई सहकारीका बचतकर्ताको बचत हिनामिना गरी अपचलन गरेको अनुसन्धान प्रतिवेदनमा थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -