१७ फागुन, काठमाडौं । चीन भ्रमणमा रहेका कांग्रेस नेताहरूले चीनको सुरक्षा चासो र एक चीन नीतिमा प्रतिबद्धता दोहोर्याएका छन् ।
पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र देवराज चालिसेले सिचवान प्रान्तको लेसान सीटीमा आयोजित कार्यक्रममा लिखित मन्तब्य राख्दै चीन नेपालको असल छिमेकी भएकाले उसको चासोका विषयमा नेपाल सरकार सदैव सचेत र सतर्क रहँदै आएको धारणा राखे ।
नेत्री कोइरालाले चीनले कला, संस्कृति, सम्पदा र पुरातात्विक महत्वका वस्तुको संरक्षणमा गरेको काम नेपालका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरिन् ।
उनले सम्पदा संरक्षणमा चीनको अनुभव र सहयोग लिन नेपाल सरकारलाई आग्रह पनि गरिन् ।
नेता चालिसेले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले अतुलनीय विकास गरेको स्मरण गर्दै चीनको प्रगति नेपालका लागि पनि लाभदायक र उपयोगी हुने विश्वास व्यक्त गरे ।
भ्रमण टोलीसँग लेसान सीटीको गुआनयिङ गाउँपालिकाका पदाधिकारीले पनि अन्तरक्रिया गरेका थिए । त्यसक्रममा स्थानीय नेताहरूले आफूहरूले पनि निर्णय प्रक्रियामा प्रजातान्त्रिक अभ्यास सुरु गरेको जानकारी गराएका थिए ।
टोलीलाई विभिन्न कृषि एवम् नमूना क्षेत्रको पनि अवलोकन गराइएको थियोे ।