Saturday, March 1, 2025
घरसमाचारनेपालले मलेसियासँग दशरथ रंगशालको सट्टा जोहोरमा खेल्ने

नेपालले मलेसियासँग दशरथ रंगशालको सट्टा जोहोरमा खेल्ने

मार्च २५ मा नेपालले पहिलो होम म्याच दशरथ रंगशालमा खेल्ने तय भएपनि त्यो खेल नेपालमा नहुने भएको छ ।

१७ फागुन, काठमाडौं । एएफसी एसियन कप क्वालिफायर्स २०२७ अन्तर्गत तेस्रो चरणको छनोटको खेलहरू यही मार्च २५ देखि सुरु हुँदैछ । त्यसमा नेपाल समूह एफमा  मलेसिया, भियतनाम र लाओससँगै छ ।

यसअघि सार्वजनिक खेलतालिका अनुसार नेपालले पहिलो खेल घरेलु मैदानमा मलेसियासँग खेल्ने तालिका थियो । मार्च २५ मा नेपालले पहिलो होम म्याच दशरथ रंगशालमा खेल्ने तय भएपनि त्यो खेल नेपालमा नहुने भएको छ ।

अब नेपालले पहिलो खेल मलेसियामा गएर खेल्नेछ । समूह एफमा रहेका नेपाल र मलेसियाबीचको खेल मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा हुनेछ ।

नेपाली फुटबलको नियमनकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस खेलबारे अहिलेसम्म आधिकारिक रुपमा खेल कहाँ हुने भनेर सार्वजनिक गरेको छैन ।

तर एसियाली फुटबल महासंघ (एएफसी) ले भने नेपाल र मलेसियाको होम म्याच मलेसियामा हुने उल्लेख गरेको छ । एएफसीले आफ्नो आधिकारिक वेवसाइटमा राखेको खेलतालिकामा पनि पहिलो खेल मलेसियाको मैदान जोहोरमा हुने उल्लेख छ ।

खासमा नेपालले मलेसियासँग पहिले होम म्याच खेल्ने र पछि अवे म्याच खेल्नुपर्ने हो । तर दशरथ रंगशालाले अन्तराष्ट्रिय मान्यता प्राप्त फुटबल खेल खेलाउने स्वीकृति नपाउँदा नेपालले होममा हुने पहिलो खेल बाहिर गएर खेल्नुपर्ने अवस्था आएको हो ।

एएफसीका प्रतिनिधिले केही समयमा दशरथ रंगशालाको निरिक्षण गरेको थियो । उनीहरूले रंगशालमा अन्तर्राष्ट्रिय खेल खेलाउन लागयक रहेको बताएपनि ट्रेनिङ भेन्युहरू ठिक नभएको बताएको स्रोतले जनाएको छ ।

एएफसी वेवसइटमा रहेको खेलतालिका नेपाल र मलेसियाको फुटबलसंघबीच दुई खेल ‘स्वाप’ गर्ने सहमति भएको उल्लेख गर्दै पहिलो खेल मलेसियामा हुने जनाएको छ ।

त्यसपछि नेपालले मलेसियासँग होम म्याच सन् २०२५ नोभेम्बरमा खेल्ने उल्लेख गरिएको छ । तर त्यो खेलका लागि मैदानको टुङ्गो भएको छैन ।

सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कप खेल्ने लक्ष्यका साथ तेस्रो चरणमा एसियाका २४ राष्ट्रहरू तेस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी टिमलाई ६ समूहमा विभाजन गरिएको छ र हरेक समूहको विजेता मात्र एसियन कपमा छनोट हुनेछ ।

किन हुँदैन दशरथ रंगशालमा खेल ?

भर्खरै केही दिनअघि मात्र दशरथ रंगशालमा एन्फाले नै पहिलो पटक चार देश सम्मिलित इन्टरनेसनल वुमन्स च्याम्पियनसिप पुटबल आयोजना गर्‍यो ।

म्यानमार, लेबनान र कीर्गिस्तान जस्ता टिम नेपाल आएर खेले । फाइनलमा घरेलु टोली नेपाललाई हराएर म्यानमारले उपाधि जित्यो । यसअघि पनि साफ वुमन्स च्याम्पियनसिप नेपालमै आयोजना भएको थियो ।

एएफसी च्यालेन्ज लिग अन्तर्गत भुटानको पारो एफसीले नेपालमै आएर चर्च ब्वाइज युनाइटेडसँग दशरथ रंगशालामै खेलेको थियो । महिलाको अन्तर्राष्ट्रिय लगायत क्लब खेलहरू दशरथ रंगशालमा भइरहेको छ ।

तर पुरुष फुटबलको एसियन कप छनोटका खेलहरू भने किन दशरथ रंगशालमा हुन सकिरहेको छैन त ? यो अहिलेको ठूलो प्रश्नको रुपमा रहेको छ ।

खासमा दशरथ रंगशालमा खेल नहुने भएको यो पहिलो पटक होइन । एसियन कप र फिफा विश्वकपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा पनि नेपालले घरेलु मैदानमा खेल्नुपर्ने दुई खेल न्युट्रल भेन्युमा गएर खेलेको थियो ।

गत वर्ष चैतमा नेपालले बहराइनसँग खेल्नुपर्ने होम म्याच उसैको मैदानमा गएर खेलेको थियो । यस्तै युएई विरुद्ध खेल्नुपर्ने म्याच साउदी अरेबियामा गएर खेलेको थियो ।

त्यस बेला एएफसीले दशरथ रंगशाला एसियन कप/विश्वकपको छनोट खेल खेलाउन लायक नरहेको बताएपछि नेपालले होम म्याच खेल्ने अवसर गुमाएको थियो ।

एएफसीले रंगशालको सुरक्षा व्यवस्था, पिचको अवस्था र फ्लड लाइट कारण देखाउँदै नेपालमा खेल हुन नसक्ने बताएपछि नेपालले बहराइन विरुद्धको खेल बहराइनमै गएर खेलेको थियो ।

त्यसपछि राखेपले दशरथ रंगशालाको सम्पूर्ण हेरचाहको जिम्मेवारी आफ्नो मातहतमा ल्याउँदै रंगशालाको तयारी गरेको थियो । तर त्यसपछि विश्वकप छनोट अन्तर्गत नै युएई विरुद्ध दशरथ रंगशालमा खेल्नुपर्ने खेल पनि हुन सकेन ।

यसरी नेपालले घरेलु मैदानमा खेल्न पाउने खेलहरू पनि विदेशमा गएर खेल्नुपर्ने अवस्था आइपरेको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -