१६ फागुन, काठमाडौं । ‘अबको अनुसन्धान हवल्दारले मुचुल्का गरेर सईले साइन गरेजस्तो हुँदैन । प्रविधिको ज्ञानबिना अनुसन्धान अपुरो हुन्छ,’ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुवेर कडायतले ५ फागुनमा यो विषय उठाए ।
अपराधको नयाँ ट्रेन्ड (शैली), घटबढको ग्राफ र अपराधको अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका प्रमुख समेत रहेका एआईजी कडायतले थपे, ‘पुरानो शैलीको अनुसन्धानबाट अब सफलता मिल्न गाह्रो छ ।’
देशभर भएका अपराधको विश्लेषण गरी नयाँ रणनीति र कार्यायोजना बनाएर काम गर्ने अपराध अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०८१/८२ मा भएका अपराधको अर्धवार्षिक समीक्षा गरेको थियो । अपराधको अर्धवार्षिक विश्लेषण र आगामी रणनीतिबारे बताउने क्रममा एआईजी कडायतले आगामी दिनको अनुसन्धान झनै चुनौतीपूर्ण हुने उल्लेख गरेका थिए ।
‘एआईको जमानमा अपराध पनि प्रविधि विशेष भएकाले पुरानो शैलीको पुलिसिङ र इन्भेस्टिगेसनबाट अनुसन्धानले पूर्णता पाउन असम्भव प्रायः छ,’ कडायतले भनेका थिए ।
कडायतले भनेजस्तै अपराध अनुसन्धान विभागले नयाँ अपराधको शैली विशेषगरी १० वटा स्वरुप देखिएको उल्लेख गरेको छ । अपराध अनुसन्धान विभागका एसपी राजकुमार सिलवालले अपराधका नयाँ स्वरुपबारे ब्याख्या गर्दै अहिले देखिएका अपराधबारे खुलाएका थिए ।
अपराध अनुसन्धान विभागले हालै सम्पन्न गरेको पछिल्लो ‘रिसर्च’ अनुसार १० वटा नयाँ स्वरुपका अपराध समाजमा व्याप्त छन् । क्रिप्टो करेन्सी, साइबर अपराध, अनलाइन ठगी, हनी ट्र्याप, अनलाइन जुवा तथा सट्टेबाजी तथा अनलाइन बैंकिङ नयाँ अपराधका स्वरुप हुन् । यी सबै अपराध प्रविधिमार्फत हुने गरेका छन् । नेपालमा अवैध मानिएको क्रिप्टोमा लगानी गरेर रकम विदेश लैजाने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २ साउन २०८० मा ब्रेक प्याडभित्र लुकाएर ल्याएको करिब ६१ किलो सुनको अनुसन्धान गर्दा कारोबार क्रिप्टोमार्फत हुने गरेको र क्रिप्टोमा लगानी गरेर रकम विदेश पुर्याउने गरेको भेटिएको थियो ।
त्यही शैलीमा क्रिप्टोमार्फत नै सहकारीको रकम पनि विदेश लगिएको प्रहरीले निष्कर्ष निकालेको थियो । ललितपुरको मितेरी सहकारी प्रकरणमा जोडिएकी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङले सहकारीको रकम क्रिप्टोमार्फत विदेश लगेको निष्कर्ष प्रहरीले निकालेको थियो ।
ज्योतिबहादुर भण्डारीमार्फत क्रिप्टोमा लगानी गरेर सहकारीको रकम विदेश पुर्याइएको खुलेको थियो । उनै ज्योतिविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी भएको छ । तर उनी अहिलेसम्म पक्राउ परेकी छैनन् । यस्तै शैलीमा ललितपुरकै समेरु सहकारीका तत्कालीन अध्यक्ष भरत महर्जनले रकम बेलायत लगेर उतै बसेको खुलेको थियो ।
पछिल्लो समय विभिन्न अपराधमार्फत आर्जन गरेका रकम क्रिप्टोमा लगानी गरेर विदेश लैजाने गरेको प्रहरी अनुसन्धानबाट खुल्दै आएको छ ।
अनलाइनमा विभिन्न प्रलोभन देखाएर हुने ठगी पनि नयाँ स्वरुपको अपराध हो । अनलाइनमार्फत नै सम्पर्क गरी हनी ट्र्यापका घटना हुने गरेको देखिएको छ ।
अपराध अनुसन्धान विभागको पछिल्लो रिसर्चअनुसार १० वटा नयाँ स्वरुपका अपराध समाजमा व्याप्त छन् । क्रिप्टो करेन्सी, साइबर अपराध, अनलाइन ठगी, हनी ट्र्याप, अनलाइन जुवा तथा सट्टेबाजी तथा अनलाइन बैंकिङ नयाँ अपराधका स्वरुप हुन् । यी सबै अपराध प्रविधिमार्फत हुने गरेका छन् ।
गत २३ माघमा मात्रै इलेक्ट्रिक सामानहरु मर्मत गर्ने एक व्यक्तिलाई अनलाइनमार्फत सम्पर्क गरी राइस कुकर मर्मत गर्न भन्दै कोठामा बोलाएर हनी ट्र्यापमा पारेको आरोपमा स्मिता आचार्य नाम गरेकी युवती पक्राउ परेकी थिइन् । कोठामा सामान मर्मत गर्न आइसकेपछि मागेअनुसारको रकम नदिए बलात्कार मुद्दामा फसाउने भन्दै मोलमोलाइ गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
अनलाइन जुवाको धन्दामा प्रहरीले एक साताको अवधिमा तीन (२८ माघ र ५ फागुनमा दुई) ठूला अपरेसन गरेर काठमाडौं उपत्यकाबाट ५१ भारतीयलाई पक्राउ गरेको थियो । उनीहरुले ६ अर्बको अनलाइन जुवा तथा सट्टेबाजी खेलाएको खुलेको थियो । भारतीय समूहले काठमाडौंलाई सेल्टर बनाएर अनलाइनमार्फत सट्टेबाजी खेलाउने र उक्त रकम भारत लैजाने गरेको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताएका थिए ।
यसैगरी अनलाइन बैंकिङका अपराधहरु पनि पछिल्लो समय बढी देखिन थालेको छ । जसमा अनलाइन तथा ई-सेवा जस्ता वालेटका कर्मचारी भन्दै ओटीपी (वान टाइम पासवर्ड) मागेर रकम ट्रान्सफर गरी ठगी गर्ने प्रवृत्ति देखिएको अपराध अनुसन्धान कार्यालयको विश्लेषण छ । यी सबै अपराध प्रविधिमार्फत हुँदै आएका छन् ।
यसका साथै पछिल्लो समय देखिएको बैंकिङ कसुर, सहकारी ठगी, अनुचित लेनदेन तथा मिटरब्याजी र सम्पत्ति शुद्धीकरणका कसुरलाई प्रहरीले अपराधको नयाँ स्वरुपका रुपमा व्याख्या गरेको छ ।
प्रहरीले भनेजस्तै तथ्याकंअनुसार पनि बैंकिङ कसुरको अपराध हरेक वर्ष बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ३८४ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा अहिले बढेर १० हजारको हाराहारीमा पुगिसकेको छ । आर्थिक वर्ष २०७९/८० मा १२ हजार १३५ र आर्थिक वर्ष २०८०/८१ मा १३ हजार २६३ पुगिसकेको छ ।
अघिल्ला वर्षहरुमा चोरी, डकैती, गुण्डागर्दी, हप्ता असुली, अपरहण, घरेलु हिंसा, बोक्सी आरोप, झै-झगडा कुटपिट, मानव बेचबिखन तथा आसोरपसार, हत्या जस्ता अपराधका घटनामा बढोत्तरी भएको थियो । यस्ता अपराध प्रविधिमैत्रीभन्दा पनि भौतिक उपस्थितिमा हुन्थे । तर अब पाकेट मार्ने गर्ने, बैंक फोड्ने वा कसैको घरमा गएर चोरी गर्नेभन्दा पनि प्रविधिबाटै डिजिटल वालेट वा बैंक खाता ह्याक गरी रकम चोरी हुन थालेको छ ।
गत १ अक्टोबरमा एफवान सफ्टको सिस्टममा छिरेर सिटिजन्स बैंकको एफवान सफ्टकै खाताबाट ३ करोड ५१ लाख, ५० हजार ३७० रुपैयाँ अन्य व्यक्तिको बैंक खातामा ट्रान्सफर गरेर रकम विदेश पुर्याइएको थियो । केही वर्षअघिसम्म बैंक नै फोडेर रकम चोरी हुने गरेकोमा अब भने भौतिक उपस्थिति बिना नै प्रविधिको प्रयोग गरेर रकम चोरी हुन थालेको साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।
उनका अनुसार यो प्रकरणमा साइबर ब्यूरोले २४ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । तर विभिन्न लेअरमा रहेर प्रविधिमार्फत रकम चोरी भएको यो घटनाको अनुसन्धान जटिल बनेको अनुसन्धान अधिकृतले बताएका छन् । यसका मुख्य व्यक्तिसम्म प्रहरी पुग्न सकेको छैन । अझै पनि यो प्रकरणको अनुसन्धान जारी रहेको ब्यूरोको भनाइ छ ।
अनुसन्धानका लागि छुट्टै भर्ना लिनुपर्ने प्रहरीको कार्ययोजना
अहिले नेपाल प्रहरीमा देशभर २२२ वटा युनिटबाट मुद्दा चल्छन् । जसमा इलाका प्रहरी कार्यालय ११५ वटा, जिल्ला प्रहरी कार्यालय ७४, प्रहरी वृत्त १८, वडा प्रहरी कार्यालय ८ वटा, ब्यूरो ४ वटा र परिसर ३ वटा छन् ।
मुद्दा चल्ने युनिटबाटै अपराध अनुसन्धानका कामहरु हुन्छन् । मुद्दा नचल्ने युनिटहरुले व्यक्ति पक्राउ गरे पनि सम्बन्धित कार्यालयलाई बुझाउँछन् । तर यी कार्यालयहरुमा प्रविधिसम्बन्धी जानकार अनुसन्धान अधिकृत नहुँदा अनुसन्धानमा जटिलता आउने गरेको छ । ५ असार २०८० बाट हमा देशभरका जिल्लाबाट मुद्दा चल्ने निर्णय भएर कार्यान्वयनमा समेत गइसकेको छ ।
तर, अहिले पनि साइबरसम्बन्धी ज्ञान भएका अनुसन्धान अधिकृत नहुँदा साइबरसम्बन्धी मुद्दाको उजुरी केन्द्रीय साइबर ब्यूरोमा आउने गर्छ । जिल्लाबाट साइबरको मुद्दा चलेको विवरण न्यून छ ।
प्रविधिमैत्री ज्ञान भएका अनुसन्धान अधिकृत तथा प्रहरी कम हुँदा अपराध अनुसन्धानमा जटिलता हुने गरेको प्रहरी अधिकारीहरु नै स्वीकार्छन् । यसबारे एआईजी कडायतले भनेका थिए, ‘अबको ५ वर्षपछि हेरक मुद्दा चल्ने युनिटमा आईटीसम्बन्धी मान्छे भर्ना लिइएन भने अनुसन्धान गर्न निकै गाह्रो पर्छ ।’
अपराध अनुसन्धानका लागि प्रहरी भर्ना लिँदा प्रविधिमा ज्ञान भएको, विज्ञान संकाय तथा आईटी अध्ययन गरेकालाई केन्द्रमा राख्नुपर्ने अपराध अनुसन्धान विभागको भावी योजनामा उल्लेख छ ।
हरेकजसो अपराध प्रविधिमा जोडिन थालेपछि प्रहरीले आफ्नो भावी कार्ययोजनामा यसबारे समेत समेटेको छ । अपराध अनुसन्धान विभागले अनुसन्धानकै लागि भनेर छुट्टै प्रहरी भर्ना गर्नुपर्ने कार्ययोजना अघि सारेको छ ।
अपराध अनुसन्धानका लागि भर्ना लिँदा प्रविधिमा ज्ञान भएको, विज्ञान संकाय तथा आईटी अध्ययन गरेकालाई केन्द्रमा राख्नुपर्ने अपराध अनुसन्धान विभागको भावी योजनामा उल्लेख छ ।
प्रहरीको कम्प्युटर सेवा निर्देशनालयका प्राविधिक डीआईजी अरुण भण्डारी पनि हरेक अपराध प्रविधिमार्फत हुन थालेकाले आईटीको जानकार व्यक्ति नभई अपराध अनुसन्धान पूर्ण नहुने बताउँछन् । ५ फागुकै उक्त अन्तरक्रियामा प्राविधिक डीआईजी भण्डारीले भनेका थिए, ‘अपराधको शैली फेरिएको छ । प्रविधिमा जोडिएर अपराध हुन्छ । तर यसबारे राम्रो ज्ञान भएका अनुसन्धान अधिकृतका भएको अवस्थामा अनुसन्धानले पूर्णता पाउन सक्दैन ।’
शैली फेरिएसँगै अपराध अनुसन्धानमा एआईको प्रयोग
अपराधको स्वरुपले अनुसन्धानमा जटिलता थपेसँगै नेपाल प्रहरीले पनि प्रविधिमार्फत हुने अपराधको अनुसन्धान गर्न एआईको प्रयोग सुरु गरेको छ । एक भारतीय कम्पनीसँग ९ करोड ११ लाखमा एआई विजनेस इन्टेलिजेन्स टुल्स खरिद गरी प्रहरीले प्रयोगमा ल्याएको छ ।
भारतबाट खरिद गरिएको उक्त प्रविधि सञ्चालनबारे १५ प्रहरीलाई तालिम समेत दिइएको छ । भारतको पुणेमा १५ प्रहरीलाई यसबारे तालिम दिइएको थियो । एक पटकमा ७ जना र अर्को पटकमा ८ जना गरी १५ जनालाई भारत पठाएर तालिम दिइसकेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यो प्रविधि सञ्चालनमा आएसँगै एनालाइटिकल्स टुल्सको प्रयोगबाट अपराध अनुसधानमा सहजता आउने बताइएको छ । यसमा भएका डेटाहरुले आगामी दिनमा आउन सक्ने अपराधका चुनौती र ध्यान दिनुपर्ने विषयबारे प्रेडिक्सन गर्नसक्ने बताइएको छ ।
‘यसले अपराधका डाटाहरुको एनालाइसिस गर्छ र आगामी दिनमा ध्यान दिनुपर्ने विषयहरु सुझाउनुका साथै चुनौतीका विषयमा पनि प्रेडिक्सन गर्छ,’ इन्जिनियर डीआईजी भण्डारी भन्छन् । भावी चुनौतीको समेत प्रेडिक्सन गर्ने हुँदा कहाँ कस्तो अपराध हुनसक्छ, कस्तो रणनीति बनाउने भन्ने सुझाव समेत दिइने बताइएको छ ।
यो टुल्सलाई नेपाल प्रहरीले गेम चेन्जर योजनाको रुपमा बुझेको छ । अपराध अनुसन्धानदेखि स्मार्ट पुलिसिङमा समेत यसले सहयोग गर्ने बुझाइ नेपाल प्रहरीको छ ।