१६ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । सिंगापुर फुटबल संघले सन् २०२५ को पहिलो घरेलु खेल भनेर नेपाल र हङकङसँग खेल खेल्ने तालिका सार्वजनिक गरेको छ ।
नेपाल र सिंगापुरबीच मैत्रीपूर्ण खेल चैत ८ गते (मार्च २१) मा सिंगापुरमा खेल हुनेछ । एएफसी एसियन कप तेस्रो चरणको छनोटको तयारीमा रहेका नेपाल र सिंगापुरले त्यसको तयारी स्वरुप खेल खेल्न लागेका हुन् ।
यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । नेपालले पछिल्लो पटक गत नोभेम्बरमा ताजिकिस्तानमा गएर घरेलु टोली र अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
एसियन कप तेस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले मार्च २५ मा मलेसियासँग पहिलो खेल खेल्ने तय छ । उक्त खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका थियो । तर नेपाल र मलेसियाबीचको खेल दशरथ रंगशालमा नहुने सम्भावना धेरै छ । एएफसीले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल खेलाउन स्वीकृति नदिएकोले उक्त खेल नेपालको सट्टा मलेसियामै हुने स्रोतले जनाएको छ ।
यस्तै सिंगापुरले छनोटको पहिलो खेल मार्च २५ मै हङकङसँग घरेलु मैदानमा खेल्ने तालिका छ ।