Saturday, March 1, 2025
घरसमाचारकिन अचानक चर्चामा आए महेश त्रिपाठी ?

किन अचानक चर्चामा आए महेश त्रिपाठी ?

फिल्म ‘लाज शरणम्’को कर्णालीको पात्रमा महेश त्रिपाठी (बायाँ) र फिल्म ‘फेरि रेशम फिलिली’को पुरुष समलिंगी चरित्रमा ।


काठमाडौं । अहिले फिल्म वृत्तमा कसैको चर्चा भैरहेको छ भने उनी महेश त्रिपाठी नै हुन् । अहिले हलमा चलिरहेका ‘फेरि रेशम फिलिली’ र ‘लाज शरणम्’सँग त्रिपाठीका सानदार किस्सा छन् ।

अहिले धेरै प्रशंसा त्रिपाठीको भैरहेको छ । यी दुवै फिल्मको प्राण भर्ने काम उनले गरेका छन् । ‘फेरि रेशम फिलिली’मा उनी पुष्पा नामक पुरुष समलिंगीको भूमिकामा छन् भने ‘लाज शरणम्’मा सन्देश नामक कर्णालीको विपन्न युवकको भूमिका निर्वाह गरेका छन् ।

यी दुई फिल्मको पर्दामा सानदार र जीवन्त चरित्र निर्वाह गरेर महेशले दर्शकको मन जितेका छन् । ३ वर्षको छोटो अभिनय करिअरमै उनले जस्ता चरित्र बाँचे, यसले समाजलाई फिल्मसँग जोड्न मात्र हैन, अभिनेतालाई पात्रप्रति इमान्दार बन्न प्रेरित पनि गरेको छ ।

डेब्यु फिल्म ‘चपली हाइट ३’, ‘प्रसाद २’, ‘हल्कारा’, ‘खजुरे ब्रो’मा महेशले निर्वाह गरेका चरित्रले उनलाई विविधता बाँच्ने अभिनेताको रुपमा स्थापित गरेको छ । छोटो समयमै कालजयी र जीवन्त चरित्र निर्वाह गर्ने लोभलाग्दो सफलता उनले प्रस्तुत गरेका छन् ।

‘फेरि रेशम फिलिली’का समलिंगी पुरुष

महेशले एकै समयमा यी दुई फिल्म छायांकन गरे । १५ दिनसम्म दिनरात मिलाएर काठमाडौं र गैंडाकोट ओहोरदोहोर गरे । राती काठमाडौंमा आएर ‘लाज शरणम्’ छायांकन गर्थे र दिउँसो गैंडाकोट पुगेर ‘फेरि रेशम फिलिली’को पुष्पा बन्थे । एक समय दुई चरित्र बाँच्ने महेशको यो अब्बलता धेरैका लागि अनुकरणीय पक्ष हो ।

बेलुकी ५ बजेसम्म ‘फेरि रेशम फिलिली’ सुट गर्थे । राती ११ बजे काठमाडौं आएर बिहान ५ बजेसम्म ‘लाज शरणम्’को सन्देश बने । यो क्रम दुई सातासम्म चल्यो ।

‘फेरि रेशम फिलिली’ निर्देकश नीरज महर्जनले महेशको ‘हल्कारा’ हेरेर उनलाई अप्रोच गरेका रहेछन् । ‘उहाँलाई हल्कारा एकदमै मनपरेको । हेरिरहँदा मसँग काम गर्ने उहाँको इच्छा पहिलादेखि भैराखेको रहेछ’ फिल्मको प्रस्तावबारे महेश सुनिए, ‘मलाई जुन पात्र प्रस्ताव गरिएको थियो त्यो जटिल र निर्दोषपूर्ण छ । हल्का र मजाकको पात्र बनाउनुपनि थिएन । अल्पसंख्यकको चरित्रलाई न्यायपूर्ण ढंगले चित्रण गर्न सकिएन भने ब्याकफायर पनि हुनसक्छ । यो चरित्रमा उहाँले मलाई अप्रोच गर्नुभयो ।’

चरित्रमा आफूले गम्भिरतासँग क्षमता प्रस्तुत गर्न पाइने देखेर अभिनय गर्न आफू तयार भएको उनले सम्झिए । ‘यो चरित्र बायस भएको भए, मैले गर्ने थिइँन । फिल्मभित्र यसलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ’ भन्छन्, ‘यसलाई गम्भीरतासाथ प्रस्तुत गर्न पाइन्छ भन्ने हिसाबले नै मैले यसलाई गर्छु भनेँ ।’

‘लाज शरणम्’को लागि २० किलो तौल घटाएका थिए उनले । संयोगवश, एकैपटक छायांकन परेका दुबै फिल्मलाई फाइदा पुग्यो । फिलिलीको पुष्पा नामक ‘गे’ पात्रको लागि दुब्लो शरिर चाहिएको थियो, यो ज्यानमा उनी पर्फेक्ट देखिएका छन् ।

अभिनय पढ्ने बेलै समलिंगीको ब्यवहारबारे उनले अध्ययन गरेका रहेछन् । उक्त चरित्र निर्वाह गर्न उनलाई त्यतिबेलाको अध्ययनले फाइदा पुग्यो । ‘पात्रलाई कसरी सरल बनाउने, मनोविज्ञान कसरी बनाउन सकिन्छ भन्ने लागेर सजिलो भयो’ उनले भने ।

‘लाज शरणम्’मा कर्णालीको विपन्न युवक

यो फिल्मको चरित्रमा डुब्नका लागि महेशले ३ महिनाभन्दा धेरै समय डोल्पामा बिताए । त्यहाँको भाषा, रहनसहन र लवज सिके । फिल्ममा यसरी प्रस्तुत भएका छन् मानौं उनी त्यहाँका रैथाने हुन् । चरित्रको गहिराइमा पुगेर उनले आफूलाई जसरी कर्णालीको सन्देश नामक विपन्न र असहाय चरित्रमा डुबुल्की मारेका छन्, घरेलु फिल्मकोे लागि यो शक्तिशाली चरित्र हो ।

फिल्ममा उनले कुपोषणले थलिएको बच्चालाई बचाउन असहाय पिताले गरेको कारुणिक संघर्षको कथामा छन् । उनको चरित्र र संवेदनामार्फत दर्शकले कर्णालीसँग जोडिने मौका पाउँछन् । यो पात्रको लागि महेशले २० किलो तौल घटाए ।

‘१० किलोसम्म तौल घटाउन कठिन भएन, त्यसपछि वेट घटाउन गाह्रो भयो । २० किलो घटाएँ’ यो फिल्मका लागि आफू शारिरकरुपमा निकै तयार भएके बताउँदै उनले भने । फिल्मको केन्द्रीय चरित्रमा महेशले जसरी आफूलाई प्रस्तुत गरेका छन्, यसले ‘लाज शरणम्’को कथ्य र चरित्र चित्रणको प्राण धान्ने काम गरेको छ ।

‘आर्ट हाउस’ र ‘मेनस्ट्रिम’बीच सन्तुलन

महेश अब आर्टहाउस र कमर्सिल भनिने मूलधारका फिल्मबीच सन्तुलन मिलाएर काम गर्ने तयारीमा छन् । ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’जस्ता फिल्मले आफूलाई वृहत्तर दर्शकमाझ चिनिन मद्दत पुर्‍याएको उनको भनाइ छ ।

‘माहोल हेर्दा चर्चा भएको छ, दर्शक र मिडियाले खोज्नुभएको छ । सोसल मिडियामा चर्चा भएको पनि रहेछ । एउटा एक्टरलाई नामले चिनोस् भनेर पनि हुन्छ । काम गर्दै जाँदा व्यक्तिगत पहिचान बनोस् भन्ने लागिरहन्छ’ उनले भने ।

नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको फिल्म ‘हल्कारा’ गर्दा प्रशंसा मिलेपनि त्यो प्रशंसा सानो सर्कलमा मात्र सीमित हुने गरेको महेशको अनुभव छ । ‘अहिलेका फिल्मबाट मिलेको अप्रिसिएसन ठूलो स्केलमा भएको पाएको छु’ उनले भने ।

उनी ठ्याक्कै यस्तै चरित्रमा देखिनुपर्छ भन्ने ‘स्टेरियोटाइप’मा छैनन् । चरित्रलाई गम्भीररुपमा भन्न खोजिएका कथा भएमा अझ राम्रो हुने उनको बुझाइ छ । ‘मलाई खास पात्र यस्तै गर्नुपर्छ भन्नेछैन । सिरियस्ली काम गर्न पाऊँ भन्ने मात्र हो’ उनले भने । महेश यतिबेला फिल्म ‘परान’को छायांकनको लागि पूर्वी नेपालमा ब्यस्त छन् । महेश यतिबेला ब्यस्त र डिमान्डेड अभिनेता समेत बनेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -