२०८३ असार १८ गते, बिहीबार २२:०८

निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन तीव्र ! रौतहटमा थपिए ४३ हजार पाँच सय ८० मतदाता

चन्द्रसूर्य प्रतिनिधि/
रौतहट, २४ पौष/ ‘कोही नछुटौं, कोही नदोहोरिऔं’ भन्ने नाराका साथ निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम शुरु गरेसँगै रौतहटमा मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनेहरूको घुइँचो लाग्न थालेको छ ।

यसैबीच निर्वाचन आयोगले संचालन गरेको “स्थानीय तहमा मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८” अन्तर्गत पहिलो र दोश्रो चरणमा गरी रौतहटमा आठ हजार सात सय ३२ जना महिला एवं सात हजार नौ सय ३७ जना पुरुष गरी १६ हजार छ सय ६९ जनाले मतदाता नामावली सूचिमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटे लाल दासले जानकारी गराउनु भयो ।

गत साउन देखि हालसम्म रौतहटमा २० हजार आठ सय ३१ जना महिला एवं २२ हजार सात सय ४९ जना पुरुष गरी ४३ हजार पाँच सय ८० जनाले मतदाता नामावली सूचिमा आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी दासले बताउनु भयो ।

तीनवटै तहको निर्वाचन नजिकिंदै जाँदा र निर्वाचान आयोग, नेपालले समेत निर्धारित समयमै तिनै तहको चुनाव गराउन तयार रहेको जनाएपछि रौतहटमा मतदाताहरू पनि उत्साहपूर्वक मतदाता सूचिमा आफ्नो नाम दर्ता गराउन थालेका हुन् ।

रौतहटमा हालसम्मको कूल मतदाता संख्या चार लाख १६ हजार चार सय ३८ पुगेको जिल्ला निर्वाचन अधिकारी दासले बताउनु भयो ।

आयोगले निर्वाचनको मिति घोषणा नगरेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएकाहरूले नागरिकताको सक्कल प्रतिसहित जिल्ला निर्वाचन कार्यालय रौतहट–गौर, जिल्ला प्रशासन रौतहट–गौर, इलाका प्रशासन कार्यालय गरुडा र इलाका प्रशासन कार्यालय चन्द्रपुरमा गएर आफ्नो नाम दर्ता गराउन सकिने जिल्ला निर्वाचन अधिकारी दासले चन्द्रसूर्यलाई बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM