Friday, November 29, 2024
घरक्राइम चेकसामाजिक विकृति अन्त्य गर्न सर्वपक्षीय हातेमालो आवश्यक: प्रजिअ ढकाल

सामाजिक विकृति अन्त्य गर्न सर्वपक्षीय हातेमालो आवश्यक: प्रजिअ ढकाल

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २१ पौष/
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सबै पक्षको सक्रियताले मात्र समाजमा देखिएका सामाजिक कुरीति र विकृतिको अन्त्य गर्न सकिने बताउनु भएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले वीरगंज-१८ भवानीपुरमा आयोजना गरेको “बालविवाह, महिला हिंसा तथा जबरजस्ती करणी सम्बन्धी सचेतना कार्यक्रम”मा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै प्रमुख जिल्ला अधिकारी ढकालले सो क़ुरा बताउनु भएको हो ।

हामीलाई समाजमा भैरहेको लैंगिक हिंसा, बाल विवाह, चेलिबेटी बेचबिखनजस्ता गैर कानूनी क्रियाकलाप भैरहेको थाहा हुँदा पनि चुप लागेर बसिदिने प्रबृत्ति बढ्दै गएकोले हाम्रो समाज दिनानुदिन हिंसा र अपराधको चपेटामा पर्दै गएको बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले स्वागत मन्तव्य दिनु हुँदै समाजमा विभिन्न खाले हिंसा बढ्नुमा स्थानीयहरूको दोष रहेको बताउनु भयो । प्रहरी उपरीक्षक बस्नेतका अनुसार गाउँघर र समाजमा हुने गरेका विभिन्न खाले हिंसाका घटनालाई गाउँमा नै मिलाउने, इज्जतको डरले खुलेर विरोध नगर्ने परिपाटीका कारण लैंगिक हिंसा दिनानुदिन बढ्दै गएको उनले बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले समाज सुधार्न र सही बाटोमा डोर्याउन आफैंबाट शुरुवात गर्नु पर्ने बताउनु भयो । उहाँले सबैले चाहेमा बालविवाह, डाइजो, घरेलू प्रथा लगायतका सामाजिक कुरीति र विसंगति अन्त्य गर्न नसकिने होइन, तर कोही आफूमाथि नपरेसम्म बोल्न नचाहदा हाम्रो समाज हिंसा मुक्त हुन नसकेको बताउनु भयो ।

नेपाल बार एसोसिएशन पर्साको तर्फबाट आउनु भएका अधिवक्ता अभय दास थारुले घरेलू, लैंगिक हिंसा लगायतका सामाजिक अपराध, त्यसबाट हुने क्षति र कानूनी सजाय वा व्यवस्थाबारे प्रकाश पार्नु भएको थियो ।

त्यस्तै सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका वरिष्ठ सल्लाहकार समेत रहनु भएका विश्व ज्योतिष महासंघका एशिया कमिटीका उपाध्यक्ष ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेले बाल विवाह विरुद्ध ब्राह्मण समुदाय, ज्योतिष परिषद र विश्व ज्योतिष महासंघ नेपालको कानूनी मान्यता अनुरूप नै विवाह इत्यादि कर्म गराई रहेको दाबी गरेका थिए ।

वीरगंज महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष ब्रह्मदेव राउत कुर्मीको अध्यक्षता भवानीपुरस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गनमा भएको सो कार्यक्रममा सामाजिक कार्यहरुमा सरिक भएर दिएको योगदानको मूल्यांकन गर्दै कार्यक्रम व्यवस्थापक मनिष सिँह राजपुतसहित ६ जनालाई सम्मान पत्रमार्फत सम्मानसमेत गरिएको सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव दिलिप प्रधानले जानकारी दिनु भएको थियो ।

भोजपुरी गायक सुनिल पण्डितले महिला हिंसा अन्त्य सम्बन्धमा सांस्कृतिक प्रस्तुत गरेको कार्यक्रममा दाइजो प्रथा, बालविवाह एवम् लागु औषध दुर्व्यसनको विरुद्धमा रामनिवास देहातीद्वारा निर्देशित सचेतनामुलक नाटकसमेत प्रस्तुत गरिएको थियो ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सोभम राणा, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिनेश गौतम, ग्रिनसिटी सामुलदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, स्थानीय युवा समाजसेवी आशीष तिवारी उर्फ एटी भाईलगायतको उपस्थिति रहेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -