बाँके । नेपालगन्ज रङ्गशालामा शनिबार सम्पन्न सेमिफाइनल खेलमा ब्राइटल्यान्ड स्कुलले मनकामना मावि नेपालगन्जलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।
निर्धारित समयसम्म खेल गोलरहित बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुट आउटमा ब्राइटल्यान्डका अनमोल गुरुङ, निशान्त बुढामगर, जोन थारु, र श्रीरिस रावतले गोल गर्दै टिमलाई जित दिलाए। मनकामनाका विशाल बम र रोशन महताराले गोल गरेका थिए।
अब ब्राइटल्यान्डले आइतबार फाइनल खेलमा ग्रीनपीस मावि कोहलपुरसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, छात्रतर्फको अर्को फाइनल खेलमा नेपालगन्ज सेन्ट जेभियर्स र आदर्श मावि नेपालगन्ज भिड्नेछन्।
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा छात्रतर्फ २१ टिम र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ।
















