२०८३ असार १३ गते, शनिबार १०:२३

विपिनको डेब्यु एक्सन ‘कर्मा’ चैत २९ मै आउने

छायांकन सेटमा निर्देशक सौरभ चौधरी (बीचमा) ।


काठमाडौं । सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ ।

मंसिर अन्तिम साताबाट सुरु भएको छायांकनको पहिलो चरण दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पुरा गरिएको छ । बाँकी छायांकन काठमाडौंमा हुनेछ । दुई सातामा छायांकन सकिनेछ ।

छायांकन चरणमै सम्पादन र भीएफएक्सको काम समेत भइरहेको छ । निर्देशक चौधरीले भने, ‘हामीले दिनरात नभनी मेहनतले काम गरिरहेका छौँ । अबको दुई सातामा छायांकन पूरा हुनेछ, त्यसपछि पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ । अहिलेसम्म कुनै बाधा-अड्चन बिना छायांकन सम्पन्न भइरहेको छ ।’

पूर्वघोषित मितिमा फिल्म प्रदर्शन नहुने भन्ने हल्लाको खण्डन गर्दै उनले भने, ‘हल्लामा नलाग्न दर्शकलाई अनुरोध गर्दछौं । काम तीव्र गतिमा अगाडि बढिरहेको छ, हामी पूर्व निर्धारित मिति चैत २९ गते नै फिल्म रिलिज गर्नेछौं ।”

फिल्ममा विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेव पन्त शीर्ष भूमिकामा हुनेछन् । विपिन र उपासना पहिलो पटक सहकार्य गर्दैछन् भने मुकुन भुसाल नेगेटिभ भूमिकामा प्रस्तुत हुनेछन् ।

एक्सन ड्रामा जनरामा निर्माण भइरहेको ‘कर्मा’को कथा निर्देशक चौधरीले लेखेका हुन् । विपिन पहिलो पटक एक्सन अवतारमा देखिन लागेका छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’लाई वसन्त लम्सालले निर्माण गरिरहेका छन् । छायांकन सुरु हुनु अगावै ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । सेभेन सिज सिनेमाले अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM