वीरगंज/नेपाल विद्यार्थी संघ (नेविसंघ) ठाकुर राम बहुमुखी क्याम्पसका नेता विकास मण्डलको आयोजना मा स्ववियु निर्वाचन र विद्यार्थीको अपेक्षासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।
त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा निर्वाचनको घोषणा गरिएकोले नेविसंघका नेता र कार्यकर्ताले निर्वाचनको वातावरण बनाउन सो कार्यक्रमको आयोजना गरेका हुन्।
कार्यक्रममा नेविसंघ पर्साका पूर्व अध्यक्ष दिलिप राज कार्की, पर्सा अध्यक्ष रमेश यादव, र नेपाली कांग्रेसका मणिन्द्र नेपाली लगायतका नेताहरूले स्ववियु निर्वाचनको महत्त्व र विद्यार्थीका समस्याहरूको समाधानको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। विद्यार्थीहरूले पुस्तकालयमा पर्याप्त पुस्तक, राम्रो शैक्षिक वातावरण, महिला र पुरुष शौचालयहरूको व्यवस्थित अवस्था लगायतका अपेक्षाहरू राखेका थिए।
नेविसंघका नेता विकास मण्डलले भने, “नेविसंघको पक्षमा उम्मेदवार चयन गरेर निर्वाचन सफल बनाउनको लागि तयारी भइरहेको छ।” उक्त कार्यक्रममा सयौं विद्यार्थीको सहभागिता रहेको थियो र यसको संचालन अजयेन्द्र मण्डलले गरेका थिए।
















