काठमाडौं । शुक्रबारदेखि हलमा नेपाली भाषाको ‘एक्टर : टेक वन’सहित ३ फिल्म प्रदर्शनमा आएका छन् । जसमा बलिउडको ‘देवा’ र जापानको ‘माइ हिरो अकाडेमिया : यू आर नेक्स्ट’ छन् ।
कानूनी अवरोध खेपेको प्रदीप खड्का स्टारर थ्रीलर एवं रोमान्टिक फिल्म ‘एक्टर : टेक वन’ अन्ततः शुक्रबारदेखि दर्शकमाझ आएको छ । यसको रनटाइम १३६ मिनेट र सर्टिफिकेट पीजी छ ।
राजन भुसाल निर्देशित फिल्ममा प्रदीप सहित आना शर्मा, राजवल्लभ कोइराला, दिब्या रायमाझी लगायतको अभिनय छ । फिल्म स्टार हुने सपना देखेको एक निम्नवर्गीय युवक कुशलको संघर्षको कथा यसले पेश गर्छ । राजवल्लभको पुनरागमन र दिब्याको डेब्युको कारणले पनि यो फिल्म प्रतीक्षित छ ।
शाहिद कपुर, पूजा हेग्डे स्टारर बलिउड एक्सन थ्रीलर ‘देवा’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । एक कुशल र तीक्ष्ण प्रहरी हाकिमले उच्च पदस्थ संलग्न मुद्दाको छानविन गर्दा भोग्नुपर्ने चुनौति र सो क्रममा खुल्ने पर्दाफासको कथा यसमा छ । १५७ मिनेट रनटाइमको ‘देवा’ले पीजी सर्टिफिकेट प्राप्त गरेको छ ।
शुक्रबारदेखि जापानी भाषाको ‘एक्सन एड्भेन्चर’ एनिमेटेड फिल्म ‘माइ हिरो अकाडेमिया : यू आर नेक्स्ट’ पनि रिलिज भएको छ । यो फिल्मको रनटाइम ११० मिनेट र सर्टिफिकेट पीजी छ ।