काठमाडौं । थापा गाउँस्थित मण्डला नाटक घरमा यो पटकको नाटक हेराइ तपाईंलाई फरक लाग्न सक्छ। मण्डलाको गेटबाट भित्र छिर्ने बित्तिकै देब्रेपट्टि एउटा घर थियो। घरको आँगनमा बाँस (याग्राङ्गसिङ) गाडिएको थियो। तीन जना झाँक्रीको टोली तङसिङको तयारी गर्दैथिए। घरमा अन्य थुप्रै मानिस थिए। कोही पाहुनाहरूलाई स्वागत/सत्कार गर्दैथिए त कोही तासको खालमा व्यस्त।
नाटक हेर्न गएका दर्शक सधैं झैं ठूलो हल छिर्ने ढोका आसपास गफिंदै नाटक सुरु हुने घण्टीको आवाजको प्रतीक्षामा थिए। दर्शकको ध्यान आँगनको त्यो दृश्यतिर तब मोडियो जब त्यहाँ झगडा सुरु भयो।
आँगनमा एक्कासि एक लिम्बु पात्र गाउँलेले विकास नबुझेको भन्दै रिसाउन थाल्छन्। ‘तिमीले विकास बुझेका छौ ?’ ती पात्रले तास खेल्दै गरेको एक बाहुन पात्रलाई सोध्छन्। बाहुन पात्रले प्रत्युत्तरमा लिम्बू पात्रको आलोचना गर्दै भन्छन्, ‘परिवर्तन मात्रै भएर हुँदैन। तिम्रो गाउँ बाच्नु परेन, संस्कृति बाँच्नु परेन ?’
यो झगडामा अन्य पात्रहरू पनि सामेल हुन्छन्। कसैको धारणा विकास हुनुपर्छ भन्ने हुन्छ त कसैको विकास भन्दा आफ्नो संस्कृति ठूलो भन्ने।
तर यो झगडा नाटक मुक्कुम्लुङको पहिलो भाग हो। करिब २० मिनेट खुल्ला रङ्गमञ्चमा यो दृश्य हुँदै गर्दा बाटोमा हिंडिरहेकाहरु समेत के भएछ भन्दै आइपुग्छन्। दर्शकलाई त अब के हुन्छ ? नाटक भित्र हुन्छ या बाहिरै हुने हो भन्ने खुल्दुली हुने नै भयो। आँगनको त्यो दृश्यले दर्शकलाई नाटकको विषयवस्तुमाथि पूर्व जानकारी दिन्छ।
‘मुक्कुम्लुङ’ अर्थात् ‘पाथीभारा’। सरकारले कानुनी रूपमा मुक्कुम्लुङलाई पाथीभाराको नाम दिए यता कसरी मुक्कुम्लुङको अस्तित्व/पहिचान सङ्कटमा परेको छ भन्ने कथा यो नाटकले देखाउँछ। मुक्कुम्लुङ (पाथीभारा) मा केबलकार निर्माण गरिने निर्णय भएयता त्यहाँका स्थानीय संरक्षणकर्ताहरूले विरोध जनाइरहेका छन्। उनीहरूले मुक्कुम्लुङ त्यहाँका स्थानीयहरूको धार्मिक आस्थासँग जोडिएको ठाउँ भएको र त्यस ठाउँमा केबलकार आवश्यक नभएको भन्दै आएका छन्। यही कथालाई नाटक मार्फत भनिएको छ।
नाटकमा मुन्धुममा उल्लेख गरिएकी पृथ्वीकी पहिलो नारी मुजिङ्ना खेयङ्ना र उनीबाट जन्मिएका छोरा सुसुवेन लालावेनको सिकार यात्रालाई देखाइएको छ। जसको यात्रा मुक्कुम्लुङको इतिहाससँग जोडिन्छ। खासमा उनीहरूको कथा नै लिम्बू समुदायको उत्पत्तिको मूल कथा हो। सुसुवेन लालावेन सिकारमा जाँदा चार युवतीसँगको प्रेम र उनीहरूबाट जन्मिएका सन्तानहरू नै आधुनिक लिम्बू समुदायको मूल स्रोत मानिन्छ।
मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको योजनाले स्थानीय आदिवासीको धार्मिक र सांस्कृतिक महत्त्वपूर्ण स्थानलाई सीधै चुनौती दिन्छ। राज्यले विकासको नाममा स्थानीय समुदायको सहमति विना र उनीहरूको सांस्कृतिक पहिचानलाई सम्मान नगरी बाह्य विकास परियोजना लाद्ने प्रयास गरेको छ। यो नाटकले आदिवासी समुदायको भूमि, संस्कृति र परम्परागत जीवनशैलीलाई बलपूर्वक विस्थापित गर्ने र कमजोर बनाउने षड्यन्त्रलाई उजागर गर्दछ। जसले उनीहरूको सांस्कृतिक पहिचान र परम्परागत जीवनशैलीलाई असर पार्छ।
नाटकले राज्य र स्थानीय समुदाय बीचको शक्ति सङ्घर्षलाई यथार्थपरक रूपमा चित्रण गरेको छ। यसले विकासको नाममा हुने सांस्कृतिक र पारिस्थितिक विनाशलाई तीव्र व्यङ्ग्य गर्दछ। समुदायभित्रका पनि विभिन्न दृष्टिकोणहरू केही पक्षले आर्थिक अवसरका लागि परियोजनालाई समर्थन गर्दा अन्यले सांस्कृतिक विरासतको संरक्षणमा जोड दिन्छन् भन्ने कुरालाई पनि प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ।
नाटकमा मुक्कुम्लुङको वर्तमान समस्या भन्दा धेरै सुसुवेन लालावेनको कथा छ। जुन आफैंमा महत्त्वपूर्ण कथा हो तर पनि त्यो कथाले दर्शकको ध्यान भने त्यति धेरै तान्न सकेको छैन। करिब १ घण्टा ५० मिनेटको नाटकमा सिकारीको कथालाई छोटो बनाएर मुक्कुम्लुङको कथालाई देखाउन सकिने मौका भने नाटकले गुमाएको छ।
तर पनि यो नाटकले वर्तमान सामाजिक सङ्घर्षलाई चर्को व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दछ। नाटकले पाथीभारामा केबुलकार निर्माण विरुद्धको स्थानीय समुदायको सङ्घर्षलाई केन्द्रीय विषयको रूपमा लिएको छ। यो केवल भौतिक विरोध मात्र नभएर एउटा समुदायको सांस्कृतिक अस्तित्व र पारिस्थितिक संरक्षणको लागि लड्ने प्रयास हो।
0000
खुल्ला रङ्गमञ्च र हल दुवैको सेट डिजाइन सामान्य देखिए पनि अर्थपूर्ण छ। जसले नाटकको कथालाई बोकेको छ। नाटकमा जीवजन्तुहरूको मार्फतबाट कथा देखाइएको छ। झिंगा, कुकुर, मृग या मौरी उनीहरूको कस्ट्युम निकै सुहाउँदो छ। लाइभ म्युजिकले नाटकमा थप सौन्दर्य थपेको छ। कलाकारहरूले प्रयोग गरेको कस्ट्युम र गरगहनाहरूले लिम्बु संस्कृति र नाटकको कथालाई न्याय गरेको छ।
मुजिङ्ना खेयङ्नाको रूपमा वेदना राईले निकै सुन्दर काम गरेकी छन्। उनको अभिनयको यात्रामा दर्शकले आमाको माया र अनेकन् भावनाहरू महसुस गर्छन्। सुसुवेन लालावेनको पात्रको रूपमा सुरज तमुको अभिनय बलियो छ। यी बाहेक अन्य सबै कलाकारहरूले आफ्नो पात्रलाई न्याय गरेको देखिन्छ।
निर्देशक अनिल सुब्बाले यो नाटकलाई केवल नाटक मात्रै होइन भने जस्तै यो नाटक केवल एउटा कथा मात्र होइन, एक सामाजिक आन्दोलनको प्रतीक बन्न सफल भएको छ। यो एक महत्त्वपूर्ण सांस्कृतिक सङ्घर्षको कथा हो जसले स्थानीय समुदायको पहिचान र अस्तित्वका लागि लड्ने सङ्घर्षलाई प्रकाश पार्छ। यसले लिम्बू समुदायको सङ्घर्ष, इतिहास र वर्तमान चुनौतीलाई शक्तिशाली माध्यमबाट प्रस्तुत गरेको छ।
माघ ४ बाट सुरु भएको नाटक माघ २७ गतेसम्म चल्नेछ।