२०३६ सालमा पहिलो दिनको सडक कविता क्रान्ति न्यूरोड पीपलबोटमा सम्पन्न भएपछि भवानी घिमिरेले त्यसको समाचार टिपाउनुभयो। उहाँले भन्दै जानुभयो र मैले टिप्दै गएँ। अनि त्यसलाई अरू प्रतिहरू पनि तयार गर्न लगाएर म र लव गाउँलेलाई विभिन्न दैनिक तथा साप्ताहिक अखबारको ठेगाना बताउँदै त्यहाँ–त्यहाँ लैजान अह्राउनुभयो। त्यही सिलसिलामा हामी त्रिपुरेश्वरमा अवस्थित संरक्षक साप्ताहिक पत्रिकाको कार्यालय पुगेका थियौं। प्रेसका कम्पोजिटरलाई भेटेर समाचार दिएका थियौं। त्यसरी पत्र–पत्रिकामा समाचार बाँड्न जानुपर्दाको फाइदा हामीले निकाल्यौं- ती पत्रिकाहरूमा आफ्ना रचना दिने।
सडक कविता क्रान्ति सकियो। अब समाचार लैजान ती पत्रिकामा जाने काम थिएन। तर एकाधपल्ट जाँदा कम्पोजिटरहरूसँग चिनाजानी भइसकेकोले आफ्ना रचना पनि लिएर दिन जान थालें। कतिपय कम्पोजिटरहरूसँग मित्रता पनि भयो। उनीहरूलाई पाना भर्न अनेक गर्नुपर्ने रहेछ। त्यसरी हातैमा सामग्री पाउँदा उनीहरू दङ्ग पर्ने। कविता इत्यादि नियमित रूपले पत्रिकाहरूमा प्रकाशित हुँदा आफू पनि दङ्ग परिने। नयाँ लेखकलाई हुने मज्जा त्यही नै थियो।
म कालीमाटीमा बस्ने हुँदा त्रिपुरेश्वर खासै टाढा थिएन। त्यसमाथि त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय त्रिपुरेश्वरमै जागिर खान थालेपछि त झन् सहज भइहाल्यो। अनि म बरोबर संरक्षक पत्रिकाको प्रेस पुगिरहन्थें। कम्पोजिटरसँग भेट गर्थें, रचना दिन्थें। कहिलेकाहीं यसो गफगाफ पनि गर्थें। मेरा कविता हरेक हप्ता जस्तै छापिन थालेका थिए।
अचानक एकदिन प्रेसमा कालो–कालो वर्णको चश्मा लगाएको मानिस देखें। मैले त्यसअघि तिनलाई देखेको थिइनँ। उनले त्यहाँ प्रेसमा मलाई देखेर सोधे, “को हौ तिमी ?” मैले आफ्नो नाम बताएँ।
तिनले तुरुन्तै रनक्क रन्केर भने, “ए हरेक हप्ता कविता छपाउने गोविन्द गिरी तिमी हौ ? …. कविता भनेको दिनदिनै लेखेर हरेक हप्ता–हप्ता छाप्ने चिज हो! बडो सोच–विचार गरेर पो कविता लेख्नुपर्छ !”
उनको भनाइले त म थर्थरी नै भएँ।
मलाई त्यसरी थर्थरी पार्ने त संरक्षक पत्रिकाका सम्पादक रहेछन् श्रीधर खनाल। यसरी मेरो पहिलो साक्षात्कार भएको हो। उनले त्यसरी भनेको कुरा अहिले पनि मेरो मनमा अझै गुञ्जायमान भए झैं लाग्छ।
त्यतिबेला मलाई उनको त्यो एक प्रकारको ठाडो भनाइ नमिठो लागे पनि पछि बुझ्दै जाँदा बडो ठीक भनेका रहेछन् भन्ने सोच्छु म।
तीसको दशकको शुरुआततिर सुवासको नीलो चोली जस्ता उपन्यास, प्रकाश कोविदको देवता, युधिर थापाको सिस्टर कल्पना जस्ता उपन्यासको बोलवाला थियो। ती उपन्यासहरू लोकप्रिय थिए। मानिसहरू किनेर पढ्थे। त्यतिबेला दीर्घवाहुको नाममा छापिने जासूसी उपन्यासहरू पनि निकै लोकप्रिय थिए। बाह्र बजेको घण्टी, मेजरको सर्प जस्ता उपन्यास मैले दोहोर्याई दोहोर्याई पढेको सम्झन्छु। मैले धेरैपछि मात्र थाहा पाएको हुँ, दीर्घबाहु भनेका त तिनै संरक्षक पत्रिकाका सम्पादक श्रीधर खनाल पो रहेछन्।
त्यतिबेला नेपाली अखबार जगतमा “नयाँ सन्देश” साप्ताहिक लोकप्रियताको शिखरमा थियो। हरेक शुक्रवार नयाँ सन्देश पत्रिकाको मारामार बिक्री हुन्थ्यो। ड्राइभर, खलासीहरूले समेत नयाँ सन्देश किनेर पढ्थे। साँझमा कुनै पनि पत्रिका पसलमा नयाँ सन्देश भेट्टाउन मुस्किल पर्थ्यो। त्यो पत्रिकामा निकै रोचक सामग्रीहरू हुन्थे। छोटा–छोटा कविताहरू हुन्थे। एउटा कथा पनि हुन्थ्यो। र अन्तिम पातोमा झैं लाग्छ, विश्वामित्रको रोचक, उत्तेजक, रोमाञ्चक कथा झैं लाग्ने, साँच्चैको झैं लाग्ने रचना आउँथ्यो। त्यसले धेरैको मन तान्थ्यो। त्यो विश्वामित्र भनेका श्रीधर खनाल हुन् भन्ने त मैले निकैपछि मात्र पत्तो पाएको हुँ।
मेरो दृष्टिमा त उनी कहिल्यै दीर्घवाहुका रूपमा उदाएनन्, न विश्वामित्रको रूपमा उदाए। उदाए त उही संरक्षक पत्रिकाको सम्पादकको रूपमा उदाइरहे, “कविता भनेको दिन दिनै लेखेर हरेक हप्ता छाप्ने चिज हो” भनेर हप्काउने बुज्रुकको स्वरुपमा उदाए, सधैं त्यही रूपमा उदाइरहे।
*** ***
श्रीधर खनाल विसं १९८८ मंसिर ३ गते त्रिपुरेश्वरमा जन्मेका थिए, माता बोधवती र पिता सेनेन्द्रराज उपाध्यायको सुपुत्रका रूपमा। उनको पूरा नाम श्रीधरराज खनाल भए पनि श्रीधर खनालकै नाममा रचना प्रकाशित गर्न थाले। उनले विसं २००५ मा गोरखापत्रमा “आर्थिक सिंहावलोकन” लेख छपाएर लेखन–प्रकाशनको दुनियाँमा पाइलो हालेका हुन्।
उनले आफ्नो नाम श्रीधर खनालको नाममा कम र छद्मनाम दीर्घबाहुका नाममा बढी कृतिहरू प्रकाशन गरे।
उनको निबन्ध सङ्ग्रह “नमरी संसार देखिन्न” (२०२०), उपन्यास “अनन्त यात्रा” (२०५६), व्यङ्ग्य कविता “चट्याङचुटुङ” (२०५७) साहित्यिक महत्वका रचना हुन्।
उनका जासूसी उपन्यासहरूमा शब्द भेदी लडाइँ (२०२४), मुर्कट्टा लाश (२०२४), मेजरको सर्प (२०२४), बिखालु इच्छापत्र (२०२५), ६ औंले मान्छे (२०२६), १२ बजेको घण्टी (२०२६), भेनसका हिप्पीहरू (२०२६), पानको गुलाम (२०२७), नाङ्गिएकी सुन्दरी (२०२९), डाक्टर डेमोन (२०२९) हङकङको व्यापारी (२०३०), हेलम्बुकी अप्सरा (२०५२), गुलाफी पिन (२०३०) तथा वज्रयोगिनीको खजाना (२०३०) रहेका छन्। यी उपन्यासहरूले बीस र तीसको दशकमा निकै बजार लिएका र जासूसी उपन्यासको क्षेत्रमा एक प्रकारको कीर्तिमान राखेका हुन्।
तर तीसको दशकपछि नेपाली जासूसी उपन्यासहरू बजारमा कम देखा पर्न र हराउँदै जान लागे। नेपालमा जासूसी उपन्यासलाई पनि ज्ञानबर्धक र मनोरञ्जक कामका लागि एक महत्वपूर्ण लेखन हो भन्ने मान्यता भएन। यसलाई सस्तो र बजारू वस्तुको रूपमा लिइयो र जासूसी उपन्यास लेखनले निरन्तरता पाएन। समाज वा बौद्धिक क्षेत्रले मान्यता दिएन। यसमा श्रीधर खनालको सधैं गुनासो रह्यो। उनको भनाइ थियो- “जासूसी उपन्यासले त विश्वकै हित गर्छ। यसको साहित्यिक महत्व छैन भन्नु त केवल अज्ञानता हो।”
खनाल नेपाली चलचित्र जगतमा पनि संलग्न भए। “हिजो, आज र भोलि” चलचित्रको कथा उनकै थियो। संवाद पनि उनैले लेखेका थिए। त्यसमा उनले अभिनय समेत गरेका थिए। सहनिर्देशन पनि उनकै थियो। त्यस चलचित्रका लागि उनले गीत पनि लेखेका थिए। चलचित्र “मनको बाँध” को कथा पनि उनैको थियो।
नेपाली सिने जगतमा ठूलो पर्दाको चलचित्र निर्माण हुने लहर चल्नुअघि र नेपालमा टेलिभिजन भित्रिएपछिको समयमा टेलिफिल्मको जगजगी भएको थियो। एक त नेपाल टेलिभिजनले त्यस्तो टेलिफिल्म किनिदिने सम्भावना हुन्थ्यो भने, कतिपय टेलिफिल्महरू मिनी सिनेमा हलहरूमा पनि प्रदर्शित हुन्थे। यही मेसोमा श्रीधर खनालले कैयन् टेलिफिल्महरूको लेखन तथा निर्देशन गरे। उनको नाम जोडिएका टेलिफल्महरूमा ठग र मूर्ख ब्राह्मण, धर्मबुद्धि पापबुद्धि, आफ्नो-आफ्नो भाग्य, विश्वासघात, मृगतृष्णा, तासको घर, बाघको घर आदि प्रमुख थिए ।
उनको सिर्जना हास्यव्यङ्ग्यमा पनि प्रखर थियो। उनको लेखन “उल्ली बिल्ली” फाइँफुट्टीराजको उपनाममा समेत समाहित थियो
संरक्षक साप्ताहिक त उनी आफैंले सम्पादन–प्रकाशन गरेको अखबार थियो। तर उनले त्यसका अतिरिक्त प्रतिध्वनि साप्ताहिक तथा रमिता पाक्षिक समाचारपत्रहरूको सम्पादन समेत गरेका थिए।
उनले आफ्नो जीवनका केही वर्षहरू शिक्षण पेशामा समेत व्यतीत गरेका थिए। उनले फर्पिङको त्रिभुवन आदर्श विद्यालयमा विसं २००९-१० मा अध्यापन गरेका थिए। उनी विसं २०११ मा नेशनल हाईस्कूल नदीपुर पोखरामा सहायक प्रधानाध्यापकको रूपमा कार्यरत थिए। उनी हेडमास्टर भएर सल्यानको खलङ्गा माध्यमिक विद्यालयमा २०१६ सालमा पुगेका थिए। उनले त्यहाँ भावी प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई समेत पढाएका थिए। जीवनको पछिल्लो चरणमा उनी यिनै संस्मरणहरूलाई लिपिबद्ध गर्ने काममा लागेका थिए।
आफ्नो जीवनभरको हास्यव्यङ्ग्य सिर्जनात्मक योगदानको कदर गर्दै उनलाई २०५० सालको भैरव पुरस्कार तथा २०५७ सालको वासुदेव लुईंटेल पुरस्कार प्रदान गरिएको थियो। अन्य फुटकर सम्मान तथा पुरस्कारहरू पनि उनले पाएका थिए। २०७५ सालमा उनलाई वासुशशी स्मृति सम्मान प्रदान गरिएको थियो।
उनले केही समय आफूलाई राजनीतिमा पनि अग्रसर गराएका थिए तर त्यसमा उनी लामो समय प्रतिबद्ध भएर लागेनन्। उनको लेखकीय व्यक्तित्व नै उनलाई चिनाउने माध्यम बन्यो र उनलाई यही रूपमा नेपाली जगतले सम्झनेछन्।
*** ***
नेपाली साहित्यका विभिन्न व्यक्तित्वहरूको अन्तर्वार्ता लिने मेरो साहित्यिक सोख हो। म श्रीधर खनालको पनि अन्तर्वार्ता लिन चाहन्थें। यसको लागि उनका सुपुत्र लेखक, निर्देशक तथा कलाकार ब्रजेश खनालसँग सम्पर्क गरेको थिएँ। ब्रजेशजीसँग भेटघाट गरेको पनि थिएँ। समय मिलाएर भेटाउने उनले वचन पनि दिएका थिए। संयोग मिलिरहेको थिएन।
२०७५ सालमा पाँच प्रतिभाहरू श्रीधर खनाल, ज्ञान उदास, भागीरथी श्रेष्ठ, कल्पना प्रधान तथा श्रेष्ठ प्रिया पत्थरलाई एकसाथ वासुशशी स्मृति सम्मान प्रदान गरिएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सो समारोहमा परशु प्रधान र श्रीधर खनाल एकसाथ देखिएका थिए। त्यो समारोहमा परशु प्रधानभन्दा जेठा श्रीधर खनाल निकै फूर्तिला र परशु प्रधान गलेका देखिएका थिए। हुन पनि परशु प्रधान उनीभन्दा अघि बिते। उनलाई उनको फुर्तिलो ज्यानले लामै उमेर डोर्याएको मान्नुपर्छ। तर पनि मज्जाले मोटरसाइकल हुइँक्याएर विचरण गर्ने श्रीधर खनाल पछिल्लो समय घरमै बस्नु परेको थियो र विगतका संस्मरण केलाउँदै त्यसलाई लिपिबद्ध गर्दै रमाउनु परेको थियो।
९० वर्ष माथिको जीवनलाई राम्रो जीवन पाएको मान्नुपर्छ। ३ माघ २०८१ का दिन उनको देहान्त भएपछि यौटा अनन्त रिक्तता भने हुने नै भयो। तर उनको देहान्त भए पनि उनले रोपेका अक्षरको बगैंचा नेपाली वाङ्मयको बगैंचामा फुलिरहनेछ, उनको योगदान झल्मलाइरहनेछ।
फल्स चर्च, भर्जिनिया, अमेरिका