२०८३ जेष्ठ १७ गते, आईतवार १०:३४

राप्रपा बैठकमा महामन्त्री राणाको आलोचना, पदाधिकारीले नै गरे विरोध

१२ माघ, काठमाडौं । राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री धवलशम्शेर राणाले प्रस्तुत गरेको दस्तावेजको चर्को आलोचना भएको छ । बैठकमा प्रस्तुत राणाको विचारपत्र नामको राजनीतिक दस्तावेज पार्टीलाई विभाजनमा लैजाने प्रकृतिको भएको भन्दै चर्को आलोचना भएको हो ।

४० वर्षमुनिका केन्द्रीय सदस्य राणाको प्रतिवेदनलाई लिएर आक्रोशित देखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । शुक्रबारदेखि सुरु भएको बैठकमा महामन्त्री धवलशम्शेर राणाको विचार भनेर केन्द्रीय समिति सदस्यहरूलाई बाँडिएको दस्तावेजलाई महामन्त्री कुन्ती शाहीले वाचन गरेकी थिइन् । त्यसपछि बोलेका केन्द्रीय सदस्यले राणाको दस्तावेज पार्टीलाई विभाजनमा लैजाने प्रकृतिको भन्दै आलोचना गरे ।

महामन्त्री राणाले आफ्नो विचारपत्रमा पार्टीले थालेको खुल्ला आवेदनमार्फत पार्टीमा २० जना ४० वर्षमुनिका केन्द्रीय सदस्य ल्याउने प्रकृयालाई दुष्कर्मको संज्ञा दिएकोमा पनि अधिकांश केन्द्रीय सदस्यले विरोध जनाएका छन् ।

राणाको दस्तावेजमा संगठन कमजोर बन्दै गएको भन्दै अध्यक्षलाई दोषारोपण गरिएको एक केन्द्रीय सदस्यले बताए । तर, शनिबार बोल्ने केन्द्रीय सदस्यहरूले राणा नै तीन वर्षसम्म संगठन विभाग प्रमुख रहेकोले उनले अध्यक्षमाथि दोष थोपर्न नमिल्ने भन्दै आलोचना गरेका थिए ।

बैठकमा बोलेका सहमहामन्त्री धनबहादुर बुढाले दस्तावेजमार्फत् राणाले अध्यक्ष लिङदेनको निष्ठामा प्रश्न उठाएको भन्दै गणतन्त्रवादी पार्टी एमालेबाट आएका राणाले जीवनभर राजसंस्थाको पक्षमा उभिएका अध्यक्षलाई आरोप लगाउनु अनैतिक भएको टिप्पणी गरेका थिए ।

‘महामन्त्रीज्यू कुनै बेला एमाले पार्टीमा हुनुहुन्थ्यो, एमाले राजसंस्थावादी पार्टी हो ?’ बुढाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पार्टीका नेताहरू पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दजस्ता नेता गणतन्त्रका पक्षमा उभिँदासमेत आफ्नो निष्ठा नछाड्ने अध्यक्षलाई निष्ठा र इमान्दारीको प्रश्न गर्न मिल्छ ?’

अर्का सहमहामन्त्री प्रकाश रिमालले राजेन्द्र लिंग्देनको नेतृत्व आएपछि देशभर पार्टीको पक्षमा आकर्षण बढेका बेला नेतृत्व कमजोर बनाउने र पार्टीलाई पुन टुटफुटको शृंखलामा धेकेल्ने प्रयास भएको बताएका थिए ।

महामन्त्री राणाले आफ्नो विचारपत्रमा पार्टीले थालेको खुल्ला आवेदनमार्फत पार्टीमा २० जना ४० वर्षमुनिका केन्द्रीय सदस्य ल्याउने प्रकृयालाई दुष्कर्मको संज्ञा दिएकोमा पनि अधिकांश केन्द्रीय सदस्यले विरोध जनाएका छन् ।

केन्द्रीय सदस्य उद्धवराज भेटवालले दुष्कर्मको संज्ञा दिएको भन्ने शब्द फिर्ता लिएर युवाहरूसमक्ष माफी माग्न महामन्त्री राणालाई अनुरोध गरे । ‘पार्टीमा आएका युवालाई तिरस्कार गर्ने तर, पार्टीको सिद्धान्त र संगठन छाडेर अर्को पार्टीका चिह्नमा चुनाव लड्न जाने नेताचाहिं चाहिने ?’ महामन्त्रीलाई उनको प्रश्न थियो ।

केन्द्रीय सदस्य लोकेन्द्र कुँवरले पनि ४० वर्षमुनिका युवा केन्द्रीय सदस्य बनाउने नवीन राप्रपाको कार्यक्रमको समर्थन गर्दै राणाको आलोचना गरेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । केन्द्रीय सदस्यहरूले बोलिसकेपछि पार्टीका पदाधिकारीहरूले बोल्ने र निर्णय गरेर बैठक सम्पन्न गरिने राप्रपाले जनाएको छ ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM