चन्द्रसूर्य समाचारदाता/
बारा/
बाराको ग्रामिण सीमावर्ती क्षेत्र छतवा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक राम विकास साहले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकको नाममा तस्करसँग रकम असुली गरी तस्करीको लाइन खुलाएको समाचार जानकारीमा आएको छ ।
नेपाल सरकारले भन्सार नाकाबाट रांगा, भैंसी लगायतका पशु चौपाया आयातमा रोक लगाएपछि तस्करहरूले बाराको सीमावर्ती ग्रामिण नाकाबाट लुकाई छिपाई रांगा भैंसी लगायतका मासुजन्य चौपाया भित्र्याउन छतवा प्रहरी चौकीको नाका प्रयोग गरी ल्याइरहेको श्रोतले जानकारी दिएको छ ।
श्रोतले दिएको जानकारी अनुसार प्रहरी चौकी छतवा, बाराका प्रनानि राम विकास साहले राँगा/भैंसी तस्कर सुरेन्द्र साह, गाई तस्कर कपिल मियाँ एवं सुर्ती व्यापारी राम बाबु पटेललाई बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाही, प्रहरी नायब उपरीक्षक गौतम मिश्रसमेतलाई भाग दिनु पर्छ भन्दै मोटो रकम लिएर तस्करीको लाइन दिएका छन् ।
प्रहरी चौकी छतवाका प्रनानि साहले सो नाका प्रयोग गरी भित्र्याउने कपडा, खाद्यान्न, मोटरपार्टस् लगायतका कारोबारीहरूलाई पनि लाइन दिएको श्रोत बताउँछ । जिल्लाको मूख्य नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडाई गरेपछि छतवा नाका तस्करहरूकोलागि सहज बनेको हो ।
त्यहाँ रहेको श्री सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेश (FOB)छतवाले केही अघि मात्र प्रहरी चौकी छतवा नाकाबाट पार गरी आएको भारत आदापुर भवानीपुर ग्राम पंचायत १० बस्ने वर्ष १८ का सन्तोष कुमार रजकलाई BR05Y2752 नम्बरको मो.सा.को प्रयोग गरी साथमा डाईजोपाम 2 ml 890 पिस, नर्फिन –2 ml 901 पिस, फेनरागन –2 ml 925 पिस समेत बरामद गरी नियन्त्रमा लिएको थियो ।
प्रहरी चौकी छतवाका प्रनानि साहले तस्करहरूलाई जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक एवं प्रनाउको नाममा रकम लिएर लाइन दिएपनि सो क्षेत्रका सशस्त्र प्रहरीको कडाइका कारण तस्करहरूलाई गाह्रो भएपछि कतिपय समयमा प्रहरी चौकीका प्रनानि साहले तस्करहरूलाई लाइन क्लियर गरेको सूचना समेत आफैंले दिएर भैंसी, सूर्ती, खाद्यान्न, कपडा तथा मोटरपार्टस् लगायतका सामान भित्र्याउन सघाउ गर्ने गरेको श्रोतको दाबी छ ।
सो विषयमा प्रहरी नायब निरीक्षक साहसँग प्रतिकृया लिन खोज्दा कहिले आफू वीरगंजस्थित घरमा भएको, कहिले कलैया स्थित आफन्तको गृह प्रवेशको पूजामा रहेकोले केही बोल्न नमिल्ने बताए ।