काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंकले मुलुककै अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको बताउनु भएको छ ।
कृषि विकास बैङ्कको ५८औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बैङ्कको इज्जत र प्रतिष्ठालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारी तथा व्यवस्थापनलाई आग्रह गर्नुभयो ।
मुलुकको कृषि क्षेत्रको विकासका लागि बैंकले आधा शताब्दीभन्दा लामो समयदेखि अनवरत रुपमा सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
कृषि विकास बैंकले ग्राहकको चाहना र आवश्यकता अनुसार आफूलाई पूर्णरुपमा डिजिटलाइज गरेको जानकारी कार्यक्रममा दिइएको छ । साथै बैंकले कुल ४ अर्ब १३ करोड मुनाफा सङ्कलन गर्न सफल भएको छ ।
मुलुकको कृषि तथा पशुपालन क्षेत्रमा मुख्य लगानी भएको यस बैंकले कृषक वर्गलाई मुख्य प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको जानकारी दिइएको छ । । बैंकका कुल २७ लाख ग्राहक देशभरि छरिएर रहेका छन् ।
वार्षिकोत्सवकै अवसरमा बैङ्कको नयाँ वेबसाइट शुभारम्भ गरिएको छ । साथै विभिन्न शाखामा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मानित समेत गरिएको छ ।