रौशन चौधरी
२२ मंसिर, रौतहट ।
राजपुर बमकाण्डका थप एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली काग्रेंसका नेता आफताब आलमको भाई महताब आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
२०६४ चैत्र २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विष्फोट परी घाइते त्रिलोक प्रताप सिंह र ओशी अख्तर लगायतकाहरु लाई इटा भट्टामा जलाएको मुद्दामा फरार रहेका महताब आलमलाई भारत बिहारको मोतिहारी बाट पक्राउ गरेको सुरक्षा श्रोतले जनाएको छ ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुरमा गरी तिन वटा मुद्दाका तत्कालीन सासंद तथा पूर्व मन्त्री आलम आफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागी कारागार पठाए पछि मुद्दाका बाकी अभियुक्तहरुको प्रहरीले खोजी गरिरहेको छ । यसै क्रममा भारत बिहारको मोतिहारी बाट प्रदेश प्रहरीको टोलिले महताबलाई पक्राउ गरेको हो ।
असोज १७ गते राजपुर बमकाण्डका फरार अभियुक्त मध्ये ईटा पोल्ने भट्टाका हेड मिस्त्रीलाई प्रहरीले पक्राउ गरेको थियो । कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाको फरार अभियुक्त रौतहट बौधिमाई नगरपालिका ४ का ५५ वर्षिय बद्री सहनीलाई २ नं. प्रदेश प्रहरी कार्यालयको टोलिले पक्राउ गरेको थियो ।
२०६४ चैत्र २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तर सहित अन्य घाइतेहरुलाई जिउदै इटा भट्टामा पोलेको आरोपमा पक्राउ परेका क्षेत्र नं. २ का सासंद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो । रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमार्ने उद्योग र ज्यान मुद्दा गरी तीन मुद्दा लगाइएको छ ।