काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नयाँ ढङ्गले पार्टीका कामकारबाहीलाई अघि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
एमाले लमजुङ–काठमाडौँ सम्पर्क मञ्चले आज राजधानीमा आयोजना गरेको विभिन्न पाँच वटा पालिका सम्पर्क मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सङ्गठन विस्तार तथा जनसरोकारका मुद्दामा केन्द्रित हुन आग्रह गर्नुभयो ।
“तपाईँहरूले आजदेखि नै के अठोट गर्नुस् भने हाम्रा पालामा म केही न केही नयाँ काम गर्छु, अर्को पटक नेतृत्व लिनेगरी काम गर्नुस्”, उपमहासचिव गुरुङले भन्नुभयो, “इमानदारितापूर्वक र गतिशील भएर काम गर्दा सफलता पाउन सकिन्छ, यतातर्फ ध्यान दिनुहोला ।” अध्ययनशीलता र लगनशीलताले व्यक्तिलाई सफलतातर्फ उन्मुख गराउने भन्दै उहाँले अध्ययनका क्रममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न पनि आग्रह गर्नुभयो ।
उपमहासचिव गुरुङले पार्टी नेतृत्व र सरकार विरुद्धको घेराबन्दी तोड्ने गरी योजना बनाइनुपर्नेमा जोड दिँदै नेता जत्तिकै कार्यकर्ता पनि सक्रिय हुनुपर्ने बताउनुभयो ।
उहाँले मुख्य जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले राजनीतिक सक्रियता अझ अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आफ्नो पार्टीले केही समयअघि राजधानीमा आयोजना गरेको जनजागरण सभामा देखिएको सहभागितालाई लिएर सन्तुष्ट हुन नसकिने जनाउँदै उहाँले विभिन्न साङ्गठनिक जिम्मेवारीमा रहेकाले थप मेहनत गर्नुपर्ने बताउनुभयो ।