Saturday, December 14, 2024
घरसमाचारक्यानकुनको अन्तिम रात

क्यानकुनको अन्तिम रात

घुमफिर गर्नु नदी बग्नु जस्तै लाग्छ मलाई । जसरी नदीमा उसको बगाइले, उसको प्रवाहले सङ्लोपन थपिदिन्छ, पवित्रता थपिदिन्छ त्यसैगरी जीवनमा पनि यात्राले नयाँ ऊर्जा, उमंग, सङ्लोपन र पवित्रता थपिदिन्छ । समय र स्रोतले भ्याएसम्म बगिदिन मन लाग्छ, कतै गड्गडाएर बगिदिऊँ लाग्छ, कतै छङछङ बगिदिऊँ लाग्छ, कतै सुनसान चुपचाप बगिदिऊँ भन्छ यो मन नदी जस्तै !

यात्रामा बग्ने क्रममा सन् २०२० को फेब्रुअरी २३ आइतबारका दिन सार्लोटबाट उडेको विमान जब मेक्सिकोको क्यानकुन शहरमा अवतरण गर्दै थियो, झ्यालबाट तल हेर्दा क्यारिबियन सागरको नीलो पानी हात फैलाएर हामीलाई स्वागत गर्न तम्तयार झैं देखियो, तल पर्खिरहेको स्वर्गको एउटा टुक्रा जस्तो, शुक्लपक्षको सप्तमीमा देखिने चन्द्रमा जस्तो, समुद्र किनारमा लमतन्न तन्केको क्यानकुन शहर । श्रीमती वर्षा र मैले उत्साहित नजर साटासाट गर्‍यौं, जल र थलको यो स्वर्गमा हामी आफ्नो विवाह वार्षिकोत्सव मनाउने उत्सुकताले भरिएर पुग्दै थियौं ।

रिचमण्डबाट सार्लोट, र त्यसपछि क्यानकुनसम्मको यात्रा एउटा रोमाञ्चले भरिएको थियो । अवतरणपछि, हामी थरी थरी रंगीविरंगी यात्रीहरूको भीडमा सामेल भयौं, सबै आफ्नो मेक्सिकन भ्रमण सुरु गर्न उत्सुक र व्यग्र पर्यटकहरू ! इमिग्रेसनमा लागेका लामा लाइनहरूले समेत क्यानकुनको लोकप्रियताको दसी प्रमाण पेश गरिरहेका थिए ।

हाम्रा पासपोर्टहरूले हरियो रंग लत्पतिएको प्रवेशाज्ञा पाएपछि, हामीलाई मेक्सिकन हावाको न्यानो आलिङ्गनले गम्लङ्गै अँगालो हाल्यो । ट्याक्सी र टुर अपरेटरहरूको एक जीवन्त कोलाहललाई पन्छाउँदै, चाँडै नै होटलसम्म पुग्ने सवारी साधन बन्दोबस्त गरियो । शहर भएर गुड्दै गर्दा, हामी जस्तै, हामी जत्रै देखिने पैदल यात्रीहरू, ट्राफिक बीच गुड्ने स्थानीय बस र सडकहरूको किनारमा लहराइरहेका अग्ला नरिवलका रूखहरू र अन्य ट्रपिकल बोट–बिरुवाले भरिएका सडकहरूले कता–कता मलाई मेरो जन्मभूमिको पनि झल्को आयो ।

समुद्रतर्फ फर्केको एक अग्लो संरचना, हाम्रो होटल; जसको फ्रन्ट डेस्कमा बस्ने हँसिला रसिला स्टाफहरूले हामीलाई खुला हृदयले स्वागत गरे । जब हामी पाँचौं तलामा पुग्यौं, लिफ्टका ढोकाहरू खुले, आफ्नो कोठामा पसियो, कोठाको बालकोनी सामु एक दृश्य देखियो जसले हामीलाई एकछिन अडिन बाध्य बनायो । क्यारिबियनको विशाल विस्तार हाम्रो सामु थियो, नीलो र हरियो रङ्गको मनमोहक पानीको फैलावट ! ‘आहा ! कति राम्रो !’ हामी दुवैको मुखबाट फुत्त फुत्कियो । बालकोनीबाट देखिएको यस प्राकृतिक दृश्यको अघि हामी एकछिन आश्चर्यचकित भएर उभियौं, बसाइको अवधिभरका लागि मात्रै भए पनि आफ्नो हुने सुन्दरतालाई पिउँदै ।

दिउँसोको खानापछि हामी क्यानकुन शहरसँग परिचित हुन निस्कियौं । हाम्रो होटल नजिकै समुद्रको पृष्ठभूमिमा ठूल्ठूला रंगीविरंगी अक्षरमा लेखिएको क्यानकुन साइन गर्वका साथ उभिएको थियो, मानिसहरू त्यहाँ फोटो खिच्न पालो पर्खिरहेका थिए । हरेक पर्यटकहरूले आफ्नो भ्रमणको प्रमाण पेश गर्न मद्दत गर्ने लोकप्रिय स्थानमा पुगेपछि फोटो नखिच्ने कुरै भएन । भिडियो पनि बनाउनै पर्‍यो, फेसबुक, टिकटकको जमाना जो छ ।

ट्याक्सी भन्दा पाएसम्म सार्वजनिक यातायात नै उचित लाग्छ मलाई । साधारण जनजीवनसँग परिचित हुन पाइन्छ, स्थानीय जीवनशैली बुझ्न पाइन्छ, सस्तो र सुलभ पनि । हामीले शहर घुम्न सार्वजनिक यातायातको विकल्प रोज्यौं । क्यानकुनको बस प्रणाली सरल, सुलभ र आकर्षक लाग्यो जहाँ चालक नै भाडा सङ्कलक पनि हुँदारहेछन् । यात्रुहरू बसमा चढ्दा चढ्दै चालकलाई भाडा दिन्छन्, फिर्ता दिनुपर्ने भए आफू नजिकै कलात्मक तरिकाले राखिएका चानचुने पैसा निकालेर फिर्ता दिन्छन्, यात्रुहरू खाली सिटमा गएर बस्छन् । ठाउँ–ठाउँमा बस स्टपहरू छन्, ओर्लिनेहरू ओर्लिन्छन् चढ्नेहरू चढ्छन् ड्राइभर पैसा उठाउँछन्, गाडी कुदाउँछन् । हामीकहाँ जस्तो बेग्लै खलासी पनि चाहिएन, कन्डक्टर–कलेक्टर पनि चाहिएन, यात्रुहरूका झोला तान्दै जबर्जस्ती गर्नु पनि परेन, जाऊँ जाऊँ गुरुजी भन्दै ढोका ठटाउनु पनि परेन । कति आनन्द !

एउटा स्टपमा ओर्लियो केहीबेर घुम्यो, फेरि बस चढेर अर्को ठाउँ गयो यसरी हामीले होटल क्षेत्रबाट डाउनटाउनसम्म छिचोल्यौं । एउटा मल र बजारहरू भएको स्थानमा ओर्लेर केही सपिङ गर्‍यौं, क्यानकुन लेखेका टीसर्टहरू किन्यौं । शहर पार गर्दै जाँदा, पर्यटकीय होटल क्षेत्र र डाउनटाउन क्षेत्रबीचको भिन्नता स्पष्ट भयो, जहाँ पनि डाउनटाउनहरू अलिकति कम सुरक्षित मानिन्छन् । यहाँ पनि त्योभन्दा अलग नरहेको बुझियो । जे होस् प्रत्येक ठाउँले मेक्सिकन जीवनको आफ्नै अद्वितीय स्वाद प्रदान गरेका छन् ।

साँझ नजिकिंदै गर्दा, हामी होटल फक्र्याैं। यसका तीनवटा सुन्दर स्वीमिंग पुलहरूको आकर्षणले तान्ने नै भयो । आधा शरीर मनतातो पानीमा डुबाउँदै हामीले ककटेलहरूको आनन्द लियौं, एक–एक गिलास मार्गरिटाले मेक्सिकन हावासँग मिल्दोजुल्दो रमरम उष्णताको मिश्रण गरिदियो । होटलको लवीबाट गुञ्जायमान भइरहेको लाइभ सङ्गीतको आवाजले वातावरणमा अझै जीवन्तता थप्यो, आहा ! हाम्रो वैवाहिक वार्षिकोत्सवको रात्रिभोज अघि कति सुमधुर पृष्ठभूमि ! भ्रममै सही, मन पुलकित भयो ।

क्यानकुनको पहिलो दिन आफ्नै कोठाको बालकोनीमा समापन गरियो, जहाँ हामी हात समातेर बस्यौं, क्यारिबियनका मन्द मन्द छालहरूमा चन्द्रमाको प्रकाश नाच्दै गरेको हेर्दै रमायौं । समयले जुराएको यो उत्कृष्ट अवसरप्रति कृतज्ञता र आपसी प्रेमको भावनाको सघनता महसुस गर्दै सामुद्रिक छालहरूको संगीतमय आवाजमा सुस्ताउँदै, अझ सुन्दर भोलिको प्रतीक्षा गर्दै हामी निद्रा देवीको काखमा लुटपुटियौं ।

इस्ला मुहेरेसको एकदिने यात्रा

निद्राबाट ब्युँझदा छालहरूको मन्द आवाजले कानमा विस्तारै साउती मारे जस्तो भान भयो । उठेर विस्तारै बालकोनीतिर हेर्दा क्यारिबियन सागरको नीलो पानी बिहानको सूर्यको प्रकाशमा टल्किरहेको थियो ।

हामी दुवैले तातो कफीका कपहरू समातेर, आँखाले भ्याउन्जेल कफीसँगै समुद्रको दृश्य पियौं ।

आजको दिन मलाई चिचेन इत्जा हेर्न जान मन थियो तर बेलुका होटलमा र अन्यत्र बुझ्दा टिकट नपाएपछि चिचेन इत्जा हेर्न जाने चाहनालाई थाती राखियो ।

क्यानकुनबाट २०० किलोमीटर जति टाढा रहेको चिचेन इत्जा आधुनिक मेक्सिकोको उत्तरी युकाटान प्रायद्वीपमा अवस्थित छ । प्राचीन माया सभ्यताका सबैभन्दा ठूला र महत्वपूर्ण शहरमध्ये एक थियो यो, इसाको ६०० देखि १२०० को बीचको समयावधिमा यो शहर अत्यन्त समृद्ध थियो । यस ठाउँमा उच्च पिरामिड, मन्दिर, बल कोर्टहरू र अन्य वास्तुकला संरचनाहरू राम्रोसँग संरक्षित छन् । चिचेन इत्जालाई सन् १९८८ मा यूनेस्को विश्व सम्पदा स्थल घोषित गरिएपछि यो स्थान मेक्सिकोमा सबैभन्दा बढी भ्रमण गरिने पुरातात्विक स्थलहरूमध्ये एक भएको छ । तर यसपालि यस्तो महत्वपूर्ण स्थान पुग्ने मौका मिलेन ।

त्यसपछि हामीले नजिकैको सानो टापु इस्ला मुहेरेस घुम्न जाने योजना बनायौं । इस्ला मुहेरेसको अर्थ हुन्छ लेडी आइल्याण्ड । केहीबेर यो ठाउँको बारेमा इन्टरनेटमा अध्ययन गरियो ।

इस्ला मुहेरेस मेक्सिकोको क्यानकुन शहरबाट १३ किलोमिटर टाढा रहेको एक सुन्दर टापु रहेछ । यो टापु ७ किलोमिटर लामो र बढीमा ६५० मिटर चौडा छ । यसको नामको अर्थ ‘महिलाहरूको टापु’ रहेछ ।

यो टापुको नाम १६औं शताब्दीमा स्पेनी आक्रमणकारीहरूले फेला पारेका माया सभ्यताका महिला देवी इक्सचेलका मूर्तिहरूबाट राखिएको रहेछ । आजकल यो टापु आफ्नो सेतो बालुवाले भरिएको समुद्री किनार विशेषगरी प्लाया नोर्ते, स्वच्छ नीलो पानी र पानीमुनिको जीवन अवलोकन (स्नोर्कलिङ कलयचपभष्लिन) का लागि प्रसिद्ध छ ।

नुहाएर तयार भएपछि, हामी बिहानको खानाको लागि होटलको रेस्टुरेन्टमा गयौं । हाम्रो पूर्वीय पाकशास्त्रमा ८४ व्यन्जनको प्रसंग आउँछ तर यहाँ त सयौं किसिमका पाक्यहरू, खानाहरू हाम्रो ध्यान तान्नका लागि प्रतिस्पर्धा गर्दै थिए ।

भरिएको पेट र उत्साहका साथ, हामी इस्ला मुहेरेस टापुतर्फ जाने सानो क्रुज जहाजमा चढ्यौं । जहाजको भित्रभन्दा बाहिर हावा खाँदै बस्ने इच्छा गरियो । यात्राको क्रममा जसै क्यारिबियन हावाले हाम्रो कपाल हल्लाउँदै गयो, क्यानकुनको किनारा पनि विस्तारै हाम्रो पछाडि हराउँदै गयो ।

‘ककटेल लिने कि ?’, साना छाताहरूले सजाइएका रङ्गीन पेय पदार्थहरू प्रस्ताव गर्दै चालक दलका एक सदस्यले सोधे ।

‘अवश्य !’ मैले मुस्कुराउँदै पेय स्वीकार गरें । जहाजका स्टाफहरूले स्पेनिस गीत संगीतको छाल नै उछाले । क्यारिबियन उष्ण मौसममा स्वीमिंग कस्ट्युममा सजिएका यात्रीहरूले मेक्सिकन संगीतको तालमा नाची नाची खुब मजा लुटे । यात्रा छिटै बित्यो, यात्राको रोमाञ्चकताको मजा लिंदालिंदै चाँडै नै इस्ला मुहेरेसको सानो टापु देखा पर्‍यो ।

जहाजबाट ओर्लिने क्रममा चालक दलका सदस्यले बताए कि, टापु घुम्नका लागि हामीसँग लगभग ४–५ घण्टा छ ।

हात समातेर हिंड्दै वर्षा र म टापुका मुख्य आकर्षणहरू खोज्न थाल्यौं । नरिवल पानीको चुस्की लगाउँदै सेतो चिनी जस्तो बालुवा भएका समुद्र किनारहरू पुग्यौं, कतै फ्री स्याम्पल बाँडिरहेका केही स्थानीय मेक्सिकन मदिराहरूको स्वाद लिनेहरूको भीड देखियो, सडकमा घुम्दै गर्दा एउटा सांस्कृतिक प्रदर्शन पनि देख्यौं, रङ्गीचङ्गी पोशाकहरू र जीवन्त सङ्गीतले हामीलाई आकर्षित गर्‍यो ।

यो टापुमा ट्याक्सी, गल्फ कोर्ट वा साइकलमा पनि घुम्ने सुविधा रहेछ, ‘कति लखर लखर हिंड्नु बरू एउटा ट्याक्सीमा चढेर घुम्यो भने छिटो पनि हुन्छ, मुख्य मुख्य ठाउँ लगि पनि दिन्छ’ वर्षाले भनिन् । मैले एउटा ट्याक्सी बोलाएँ, मीठो मुस्कानका साथ एक चालकले हामीलाई स्वागत गरे ।

‘हामीलाई इस्ला मुहेरेसका सबैभन्दा राम्रा राम्रा ठाउँहरू देखाउनुहोस्’, मैले अनुरोध गरें ।

हाम्रा ट्याक्सी चालक, खुआन, एक उत्कृष्ट गाइड साबित भए, माया सभ्यताका प्राचीन भग्नावशेषहरू, समुद्र किनारहरू पार गर्दै जाँदा उनले हामीलाई प्राचीन माया सभ्यताका इतिहासका कथाहरूले मनोरञ्जन गराए । पुन्टा सुरमा रहेका माया सभ्यताका भग्नावशेषहरू देखाए । मेक्सिकन जलसेनाको क्याम्प, त्यहाँको भूगोल, इतिहास बताए । क्यूबा र मायामीको दूरी बताए । घुम्नका लागि जहाँ जहाँ रोके पनि खुसी भएरै हाम्रा राम्रा फोटो भिडियोहरू खिचिदिए । खुआनले चन्द्रमा, प्रेम र प्रजननकी देवी इक्सचेलका मूर्तिहरू भएको ठाउँ पुर्‍याए ।

एउटा ठूलो ह्वेल माछासँग पनि भेट गराए । हाम्रा तराईका खोलाहरूमा लगाइने जस्तै लामो काठको पुलमा हिंडेर गइयो, अलिक पर समुद्रको बीचतिर एउटा तालिम प्राप्त ह्वेल माछो राखिएको रहेछ । धेरै मानिसहरू त्यो भीमकाय जलचरलाई छुन, सुम्सुम्याउन लालायित हुँदै पालो पर्खंदै लाइनमा बसेका थिए । हामीले पनि आफ्नो पालो आएपछि त्यो विशाल माछालाई छोयौं, चलायौं । ह्वेल माछो पनि ज्ञानी रहेछ । उसको चिप्लोपनसँग जिस्किन दिइरह्यो । तर एक पल्ट पानीमा डुबुल्की के मारेको थियो, निस्केर उस्को मुखभरीको जुठो पानी मतिर यस्तरी हुत्यायो कि म त भिजेर निथ्रुक्कै भएँ !

धन्न व्यागमा एक जोर एक्स्ट्रा लुगा बोकेर हिंडिएको थियो र ट्याक्सीमा गएर फेर्न पाइयो । क्यारिबियन सागरको सुन्दर पानीले ह्वेल माछाको मुखबाट अभिषेक लिन पाइयो भन्ठानियो । सकारात्मक सोच्नु पर्‍यो नि होइन त ! यसरी ह्वेलसँगको अनुभव पनि अविस्मरणीय नै रह्यो ।

यो सानो टापुमा यस्ता अनुभव बटुल्न र ती आकर्षक कलाकृतिहरू मात्रै देख्न पाइएन, टापुका विभिन्न सुरहरूबाट देखिने क्यारिबियन सागर र मेक्सिकोको खाडीतिरको गाढा नीलो पानीले गर्नुसम्म सम्मोहित गर्‍यो ।
समुद्री किनारको बाटो भएर हिंड्ने क्रममा बाटो छेउमा विभिन्न किसिमका शङ्खहरू बेच्न राखेका सडक पसलहरू देखिए, हाम्रो हिन्दु परम्परामा शङ्खको प्रयोगको प्रसंग सम्झाउँदै खुआनलाई मैले कुनै एउटामा रोक्न अनुरोध गरें । ‘पूजापाठमा रुचि राख्ने आमालाई पनि काम लाग्ने र अरूलाई उपहार दिन पनि हुने’, मैले एउटा ठूलो शङ्ख उठाउँदै भनें ।

वर्षाले सहमतिमा टाउको हल्लाइन् ‘दुई–चार वटा लिऔं न ! मेक्सिको यात्राको सुन्दर सम्झना पनि हुने ।’ हामीले केही शंख र अक्टोपस आदि सामुद्रिक जीवका खोलबाट बनेका सजावटका सामानहरू किन्यौं ।

हाम्रो क्रुज टिकटमा दिउँसोको खाना समेत समावेश भएको हुँदा खानाको लागि तोकिएको रेस्टुरेन्टमा गयौं र खुआनलाई सशुल्क बिदा गर्‍यौं ।

मीठा मीठा क्यारिबियन स्वादहरू, ताजा समुद्री खानेकुरा र उष्ण प्रदेशका स्वादिला फलफूलहरूको आनन्द उठाइसक्दा यो टापुलाई बिदा गर्ने समय हुँदैथियो ।

परम्परागत मेक्सिकन संस्कृति र आधुनिकता एकै ठाउँ मिसिएकी यी सानी सुन्दरी टापुलाई विदाइका हात हल्लाउँदै अब जहाजमा फर्कने समय भयो ।

सबै यात्रुहरू जहाजमा चढ्न थाले, हामीले पनि भीडलाई पछ्यायौं । क्यानकुन फर्कने यात्रा पनि कम आनन्ददायक थिएन । यी सानी सुन्दरी टापुको सौन्दर्य ओझेल पर्दै गर्दा हाम्रो सानो जहाज सिसा जस्तो पारदर्शी पानी भएको ठाउँमा गएर अडियो । चालक दलका एकले घोषणा गरे कि ‘स्नोर्कलिङका लागि इच्छुकहरू अगाडि आउनुहोला ।’

स्नोर्कलिङ पानीमुनिको एउटा रोमाञ्चक गतिविधि हो, जसमा पानीको सतहको ठीक मुनिको रंगीन जलमण्डलसम्म पुगेर सामुद्रिक वस्तु र जीवहरूसँग लुकामारी खेल्न पाइन्छ। स्नोर्कल, मास्क र फिन्सको सहयताले पौडिन जान्नेहरू त्यो सफा पानीमा सजिलै पौडिन सक्छन्, हामी दुवैजना पौडीकुशल नभएकाले, यो गतिविधिमा सामेल हुने आँट गरिएन, बरू अरू साहसी र प्रकृतिप्रेमी यात्रुहरूले लिएको मजालाई मुदित भावले मजै मानेर हेरियो । अरूको खुसीलाई आफ्नै सम्झेर खुसी हुनसक्नु पनि त एउटा गुण हो, कला हो ।

अस्ताउँदो सूर्यले आकाशलाई सुन्तले र गुलाबी रङ्गमा सजाउँदै गर्दा क्यारेबियन सागरबाट क्यानकुन शहरको सौन्दर्य देखिन थाल्यो ।

होटलमा फर्केपछि, यो सुन्दर यात्राप्रति प्रेम र कृतज्ञताले भरिंदै हामीले यो साहसिक दिनको शान्तिपूर्ण समापन गर्‍यौं ।

समुद्री हावाका लहरहरू

उठेर अर्को सुन्दर दिनको लागि तयार भएपछि होटलको बिहानको बफेले हामीलाई बोलायो । स्वादहरूको एक महासम्मेलनमा हामी उत्साहका साथ सामेल भयौं । संसारभरिका स्वादहरूले भरिएका प्लेटहरूले हामीलाई भरदिनको लागि ऊर्जा दिए ।

आज हामीले नजिकको तीर्थलाई हेला नगर्ने नीति लियौं । मेक्सिकन न्यानो घामले लालसलाम भन्न थालेपछि होटलको निजी समुद्र किनारमा गयौं । सेतो र मसिनो बालुवा भएको यो समुद्र किनारमा सुत्न पनि मिल्ने लामा–लामा कुर्सीहरूमा पल्टिंदै छालहरूको लयबद्ध आवाज सुन्यौं, यो शान्त संगीतको तालमा केही झकायौं ।

दैनिक जीवनका चिन्ता र तनावहरूलाई एकातिर पन्छाएर घण्टौं घामको ताप र समुद्री हावाको लहरमा बिताउनु पनि एउटा आनन्द नै रहेछ । शरीर तातेपछि घरीघरी क्रिस्टल जस्तै सफा पानीमा डुबुल्की मार्‍यो र घरी पिना कोल्याडाको चुस्कीमा रमायो ।

नजिकै बारबाट चिकन बार्बिक्यूको लोभलाग्दो सुगन्ध बग्न थालेपछि हाम्रा पेटहरू पनि गुर्गुराउन थाले । हामी बारतिर गयौं, जहाँ मेक्सिकन कुखुराका पखेटाहरू र चिसो बियरका फ्रस्टेड गिलासहरूले राम्रै खातिरदारी गरे । ह्वेर आर यू फ्रम ? सर्भ गर्ने क्रममा बार ब्वाईले सोधे, आइ एम फ्रम नेपाल, मैले जवाफ दिएँ । पृथ्वीको यो अर्कै कुनामा एउटा बारमा काम गर्ने केटोले नेपाल के सुनेको होला र ! भन्ने ठान्दै भए पनि मैले संवादलाई लम्ब्याउन खोजें । डू यू नो नेपाल ?, एस आई नो, टु मेनी माउन्टेन्स् राइट ? म गलत रहेछु । कम से कम हस्पिटालिटीको क्षेत्रमा काम गर्नेले त नेपाल बारे जान्दारहेछन् भनेर खुसी लाग्यो ।

मीठो संवाद, मीठो खाना, मीठो साथ र सुन्दर वातावरणले आनन्दित तुल्यायो ।

दिउँसो ढल्किंदै जाँदा, हामीले अनिच्छापूर्वक समुद्र किनारको स्वर्गलाई बिदा गर्‍यौं र गरम पानीको स्वीमिंग पुलमा रहरको घैला भरिउन्जेल रमायौं । साँझ स्थानीय गायक कलाकारहरूले प्रस्तुत गरेको लाइभ ल्याटिनो संगीतका सुरहरूसँगै डिनर गरेर एउटा सुखद् दिनको समापन गरियो ।

क्यानकुनका मूर्ति र मण्डलाहरू

क्यानकुन एक्सप्लोर गर्ने रहर अझै पुगेको छैन । यो सुन्दर शहरलाई अझ बुझ्ने र नियाल्ने कोसिस हुनेछ आज ।

सन् १९७० भन्दाअघि एक सानो माछा मार्ने गाउँको रूपमा रहेको क्यानकुन युकाटान प्रायद्वीपमा अवस्थित मेक्सिकोको क्विन्टाना रू राज्यको एक विश्व प्रसिद्ध पर्यटकीय गन्तव्य हो । सरकारको लगानी र योजनाबद्ध विकासपछि क्यारिबियन समुद्र किनारमा स्थित, यो ठाउँ मेक्सिकोको सबैभन्दा लोकप्रिय पर्यटकीय स्थलमा परिणत भएको हो ।

उष्ण जलवायु भएको यो समुद्री किनारमा औसत तापमान ७५ °F देखि ९०°F (२४°c देखि ३२°c) सम्म हुने गर्छ । वर्षभरि गर्मी तापक्रम रहने भएकाले गर्मीको खोजीमा रहेका पर्यटकहरूका लागि आकर्षक गन्तव्य बनेको छ यो ।

फेब्रुअरी महिनाको चिसो छल्न पुगेका हामी पनि यो शहर धीत मर्ने गरी घुम्ने इरादाले आज पनि एउटा स्थानीय बसमा चढ्यौं, हामी जस्तै जिज्ञासु पर्यटकहरूले भरिएको बसका झ्यालहरूले होटल क्षेत्र भएर गुड्ने क्रममा, स्थानीय जीवनका एकपछि अर्को तस्वीरहरू प्रस्तुत गर्दै गए ।

आफू मेक्सिकोको बसमा गुड्किंदैछु मन चाहिं नेपाल पुगिसकेछ । के भाको हो हँ यस्तो ! जहाँ जहाँ पुगे पनि जहाँ जहाँ घुमे पनि मनमा चाहिं नेपालकै बारेमा कुरा खेलिराख्ने । यो सुन्दर क्यानकुन शहरलाई हेर्दै मैले त कोशी ब्यारेजभन्दा अलिक मास्तिर कोशी किनारभरि, कोशी नदीलाई बलियो तटबन्ध गरेर, एउटा लयमा बगाउँदै, सरकार र संसारभरका सारा निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरेर विलासी र सुविधासम्पन्न होटलहरू भएको सुन्दर शहर खडा गरिसकेछु । कोशीको बलौटे बिचमा पिंडुला सेकाउन, नदीमा र्‍याफ्टिङ गर्न, जेट स्की दौडाउन, अलिक मास्तिर बन्जी हान्न, प्यारासेलिङ गर्न, राजविराज वा विराटनगर एअरपोर्टबाट माउन्टेन फ्लाइट गर्न, जनकपुर, लुम्बिनी, पाथीभरा आदि धार्मिक यात्रामा निस्किन भारत, चीन र दुनियाँभरिबाट असंख्य पर्यटकहरूले ती होटलहरू खचाखच भरिएछन्, दिउँसै रमिता हेर्दै यस्ता अनेक सपना पो देखेंछु । सरकार ! के सही नीति र दृढ इच्छाशक्ति हुने हो भने के यो सपना असम्भव हुन्छ र ? मनकी वात !

मनमा यस्तै अनेक तर्कना गर्दै गुड्ने क्रममा मध्य बजारमा एक ठाउँ हिन्दू र बौद्ध धर्मका देवी–देवताका मूर्तिहरू र त्यसमाथि ठूला रोमन अक्षरमा मण्डला लेखेको देखेपछि आश्चर्य मिश्रित जिज्ञासा उत्पन्न भयो । के चाहिं रहेछ यो हेरौं भनेर नजिकै स्टपमा बसबाट ओर्लियौं ।

एउटा नाइट क्लब रहेछ । जे होस् हाम्रा मूर्तिहरू, कलाहरू, हाम्रा संस्कृति मिसिएका नामहरू सात समुद्र तरेर यहाँसम्म आइपुगेको देखेर हर्षले प्रफुल्लित भइयो ।

घुम्दै जाने क्रममा जेट स्की र प्यारासेलिङ जस्ता साहसिक खेल र गतिविधि भएको ठाउँमा पुगियो । जेट स्की चाहिं दौडाउँ कि भन्ने लाग्यो तर अलिक डराइँदोरहेछ, घरभन्दा टाढा यो अजनवी ठाउँमा केही भइहाल्यो भने के गर्ने ! यस्तो भय उत्पन्न भइदियो कि आँट गरिएन । यहाँ पनि अरूहरू खेलेको रमाएको देखेर आनन्दित भइयो ।

जब साँझको अँध्यारो छाउन लाग्यो, हामी होटलमा फक्र्यौं, थकित तर नयाँ अनुभवहरूको न्यानो चमकले भरिएका हामीहरूको दिन अझै सकिएको थिएन । होटलको बारबाट लाइभ सङ्गीतको आकर्षक आवाज आइरहेको थियो, ‘जो से विएन के एस्तोइ आफुएरा !’ भाषा नबुझे पनि त्यो ल्याटिनो लय र सङ्गीततिर पुतलीहरू बत्तीतिर तानिए जस्तै तानिएर पुग्यौं हामी पनि । संगीतको तालमा यो उष्णस्वर्गमा प्रेमको उत्सव मनायौं, जीवनभर रहने स्मृतिहरू सिर्जना गर्‍यौं ।

डिनरपछि आफ्नै कोठामा पल्टेर गम्न थालें कि यो उष्णस्वर्गमा भोलि हाम्रो अन्तिम दिन । यतिका दिन आफ्नै ठानेर बसेको यो कोठा भोलि बिहान ११ बजे छोड्नुपर्छ । एउटा नजानिंदो पीडाले मनमा बास गर्‍यो । म गहिरो चिन्तनको सागरमा डुब्न थालेंछु, यो अस्तित्वको क्षणभंगुर प्रकृतिको बारेमा गम्दै, म सोच्दछु कि जीवन आफैं यो होटल बसाइ जस्तै त छ । यो संसार पनि एक विशाल होटल त हो, एक अस्थायी बसोबास, जहाँ हामी अतिथि भएर आएका छौं, एक छोटो समयको लागि । जसरी म यो होटल माथि, यो कोठामाथि आफ्नो स्वामित्व दाबी गर्न सक्दिनँ, त्यसैगरी जीवनमा हामी केही पनि कुराको स्वामित्व दाबी गर्न सक्दैनौं । सबै, सबै अस्थायी छन्, अनित्य छन्— हाम्रा सम्बन्धहरू, हाम्रा सुविधाहरू, हाम्रा सुखहरू, हाम्रा दुःखहरू र हाम्रो समय समेत अस्थायी छ यो होटलको कोठा जस्तै ।

बरू हरेक कुरामा अलिप्त भएर, टाँसिने प्रयास नगरी आनन्द मात्र लिन जानियो भने, स्मृति र अनुभवहरू मात्रै हाम्रा हुन् भन्ने ठानियो भने, एकदिन हामीले यो ठाउँ छोड्नु नै पर्छ भन्ने स्वीकार गरियो भने हरेक बिदाइहरू, हरेक वियोगहरू सहज हुनेछन् ।

यसरी आफैंले आफैंलाई सम्झाउँदा सम्झाउँदै क्यानकुनको अन्तिम रात फुस्स निदाइएछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -