– स्वयम्भुनाथ कार्की
राष्ट्रलाई माया गर्ने राष्ट्रवादी हुन्छ, राष्ट्रको अस्तित्व परिचय अर्थात आजकलको भाषामा पहिचान अस्विकार गर्ने राष्ट्रवादी हुनै सक्दैन । ऊ प्राविधिकरुपले नागरिक हुनसक्छ, यस्ता नागरिकहरु राष्ट्रले आफुलाई के दियो भन्ने खोजी मात्र गर्दछन् । आफूले राष्ट्रलाई केही दिनै पर्दैन नागरिक भएको कारणले राष्ट्र दोहन मात्र आफ्नो अधिकार मान्छन् । मुलुकमा उच्च पद ओगटेर बस्छन तर निवृत्त जीवनमा नेपालको करबाट पेन्सन थापेर अमेरिका जस्ता मुलुकहरुमा गाडीमा पेट्रोल भर्ने नोकरीमा गौरव गर्छन् । त्यसै कारणले यस्तामा राष्ट्रवाद खोज्नु नै मुर्खता हो, तर एक कुरा उल्लेख गर्नै पर्दछ । यस्तै पात्रहरु मुलुकलाई अपनाएर बसेकालाई राष्ट्रवाद, राष्ट्रप्रेमको पाठ सिकाउन भने पछि पर्दैनन् । नेपालबाट अलि ठूलो दलको नेता विदेश जाने वित्तिकै चाकरी गर्न तँछाड मछाड गर्छन् । सकभर त्यो दलको विदेश सम्पर्क मञ्चको कार्यसमितिमा बस्न संघर्ष गर्दछन् । यसले उनीहरुलाई नेपालको बजेटबाट नेपाल आउँदा सत्कार पाउने ग्यारेण्टि हुन्छ ।
धेरै नेपालीको मान्यता छ नेपालको अस्तित्वको निमित्त एकताको सुत्र राजमुकुट हो । तर राजाको साखुल्ले भएर जथाभावी गर्नेहरुको पहिलेको उदण्डताले बोल्न भने सक्दैनन् । यस्ता जमालले कुनै जमानामा आफुलाई मन नपर्ने वित्तिकै कसैलाई पनि अत बनाई दिन्थे । बहुदल पछि अत भनिएकाहरु नै मुलधार भए त्यसपछि उनीहरु रिस उठेकालाई माओवादी भन्न थाले । अहिले पनि नेपालमा गणतन्त्र कार्यन्वयन भएको दशक नाघेको छ तर उनीहरु राजालाई गद्दि मै भएको भ्रम दिन सफल भएका छन । यस्तैका कारणले धेरै नेपालीले राजसंस्था पुनर्स्थापन भन्न सकेका छैनन् । कोही संवैधानिक राजसंस्था, कोही राजा र राजसंस्था अलग भनेर आफुले त्यस्ता चाटुकार बेगरको राजसंस्था खोजेको जनाउँछन ।
यो बीचमा नारायणहीटी दरवार परराष्ट्र मन्त्रालय भयो, यी चाटुकारहरुलाइ पत्तै छैन । संग्राहलय भयो, टिकट काटेर हेर्ने वस्तु भयो कुनै परवाह छैन । बरु आफु पनि संग्राहलय घुमेर आएका हुन सक्छन् । अब छिटै नारायणहीटीमा रेष्टुरेण्ट खुल्दैछ । तर कुनै राजसंस्थाप्रति आस्था राख्नेले पूर्व राजा भनिदियो लेखिदियो भने त्यसको हुर्मत काढ्न झुम्मन्छन । यत्रा वर्षहरुमा कयौले श्री ५ भनेको वा राजा भनेको कारणले गर्न खोजेको कार्यक्रम सरकारले विथोल्यो । पक्राउ गर्यो, अनि आइन्दा यसो गर्दिन भनेर कागज गरायो । त्यो बेलामा त्यस्ता पक्राउ पर्नेको निमित्त चुइक्क आवाज निकाल्न सकेनन् । तर त्यस्तै कागज गर्दै आफ्ना काम गर्दै गर्नेहरुका प्रयत्नले वर्तमानमा केही खुकुलो महशुस गर्ने वित्तिकै चाटुकारिता लिएर, साखुल्ले भएर त्यस्तैलाई लतार्न आई पुगेका छन् ।
यो बीचमा राजा केवल जनताको मनमा आस्थामा मात्र रहेका छन । तर चाटुकारहरु राजालाई गद्दिमा नै भएको भ्रम दिन सफल भएका छन् । त्यसैे होला शायद राजा पनि भ्रममा छन, उनको सार्वजनिक उपस्थितिमा हुने जयजयकार अनि जनताको उत्साहलाई जनताको आशा आकांक्षाको रुपमा हैन गद्दिमा भएको बेलाको झैं जयकार बुझेको जस्तो लाग्छ । यो निर्मम र कठोर वास्तविकता अब राजाले पनि र हिजो देखिका चाटुकारहरुले पनि बुझ्न आवश्यक छ कि वर्तमानमा नेपालमा राजाको कुनै वैधानिक हैसियत छैन । त्यो प्राप्त गर्न हान्दले बसेर वा भाग्यले दिए डोकामा दुध दुहिएला भनेर हुन्न । यदि मुलुकको माया भए मुलुकको निमित्त केही गर्ने जिम्मेवारी राजाको पनि हो ।
राजालाई जसरी भरोसा हुन सकिरहेको छैन त्यसै गरेर बाहिर रहेका राजभक्तलाई पनि भरोसा नभएको हुन सक्छ । किनभने केवल राजभक्ति राखेकै कारण तीन पटक उनीहरु नराम्ररी दण्डित भई सकेका छन । तै पनि अझै आस्था राखेका छन् भने त्यो आस्थाको अपमान गरिनुहुन्न राजाबाट । यदि यी पुराना वरिष्ठ राजभक्तहरुको ल्याकत र वर्कत हुथ्यो भने नेपालमा राजसंस्था पाखा लागेकै हुने थिएन । त्यसैे राजा गद्दिमा नै भएका भ्रम दिन बन्द गर्नुस । आफ्नो बरिष्ठता र मान सम्मान नबखान्नुस् । यदि तपाईहरुले सकेको भए हाम्रो आवश्यकता नै पर्ने थिएन । अब धेरै तपाइहरुबाट हुन सक्ने केही छैन । केवल राजालाई गद्दिमा नै रहेको भ्रम दिएर थप नकारा नबनाउनुस् । रह्यो म जस्ताको कुरा, नेपाललाई राजाको आवश्यकता छ भन्ने महशुस भएर त्यो कुरा भन्न थाल्ने वित्तिकैदेखि मलाई राम्रो थाहा छ राजा पुनस्र्थापना भएमा तपाइहरुले मलाई जेल हाल्नु हुनेछ । मुलुकको आवश्यकताको निमित्त यो अवस्था मनले स्विकार गरेर नै बोल्न शुरु गरिएको हो । त्यसैले सावधान हुने जिम्मा अब तपाईहरुको ।
२०७६ मंसिर १२ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित