चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ४ असोज/
केही अघि मात्र ठेक्का लिएको पृथ्वीतारा/एनके इन्टरनेशनल जे.भी नामक वीरगंज महानगरपालिकाका निजी साझेदार कम्पनीले गैरकानुनी रुपमा असुली गरिरहेका समाचारहरू प्राप्त हुन थालेका छन् ।
फोहोर मैला व्यवस्थापनकोलागि वीरगंज महानगरसँग साझेदारी गर्दै महानगरपालिकाभित्रका फुटपाथका फलफूल, आइक्रिम, पानीपुरी, चटपटे, ठेलाका पसल, उखु जुस पसल, लगायत अन्य घुम्ती पसल, सब्जीमण्डी वरपर र अन्य स्थान वा सडकमा बस्ने तरकारी व्यापारी/व्यवसायीहरूसँग २२।६० (बाइस रुपैयाँ साठी पैसा) मात्र लिने कबोलसाथ ठेक्का लिएपनि ती फुटपाथे व्यवसायीहरूसँग २५ रुपैया असुली गरिरहेको व्यवसायीहरूले गुनासो गरेका छन् ।
२२।६० पैसाको रसिद दिएर २५ रुपैयाँ लिएर हाकाहाकी ठगि गरिरहँदा पनि महानगर नेतृत्वको मौनताले अनेकौं प्रश्न खडा गरेका गरेका छन् । जनताका प्रतिनिधि महानगरका प्रमुख भएको समयमा पनि जनता विभिन्न किसिमले लुटिइरहनु, ठगिइरहनुले वर्तमान व्यवस्थाको औचित्य माथि प्रश्न गर्दै विकल्पको खोजीमा जान सक्ने अवस्थाको सिर्जना भएको साना–व्यवसायीहरू बताउँछन् ।
वीरगंज महानगरले समयमा यस्ता स–साना कुरामा ध्यान नपुर्याउने हो भने यसले भुसको आगो सल्केझैं अन्तमा विकराल रुप लिने देखिन्छ ।