बीरगंज १४ भदौ । युवाहरु आफैं पनि केही गर्न सक्ने क्षमताको भएपनि आर्थिक अवस्था कमजोर भएकाले ऋण लिएर विदेश नै जानुपर्ने बाध्यतालाई हेर्दै प्रदेश नं. २ को सरकारले कृषि कर्म गर्नेलाई विना ब्याजको ऋण दिने व्यवस्था गर्न लागेको बताए ।
मुख्यमन्त्री किसान उत्थान कार्यक्रम अन्तर्गत युवाहरुलाई ऋणको व्यवस्था गरिने मन्त्री शैलेन्द्र साहले जनाए ।
“यो कार्यक्रमको कार्यविधी निर्माण भइरहेको छ,’ साहले भने, “दशैंसम्म कार्यविधी निर्माण हुन्छ ।’
युवाहरुलाई रोजगारीकालागि प्रदेश सरकारले यसै बर्षदेखि कोष निर्माण गरेको छ । बाली संरक्षण, पशु संरक्षण र मत्स्य संरक्षण कोषहरुमध्ये कुनै कोषबाट युवाहरुले व्यवसाय गर्न रकम लिए व्याज लाग्दैन । प्याकेज अनुसार ऋण दिइने समेत बताए ।
मन्त्री साहले आलु खेतीको उदाहरण दिँदै भने, “कुनै युवाले आलु खेती गर्न चाहे त्यसको समायवधी तीन महिना हुन्छ । तर, ती युवालाई चार महिनाका लागि ऋण दिइने छ । किन भने एक महिना त बजार लग्न पनि समय लाग्छ ।’
युवाले अन्न तथा तरकारी खेती, पशुपालन या दूध उत्पादनकालागि आशय पत्र पेश गर्न सक्ने छन् । आशय पत्रमा माग गरे बमोजिमको रकम बिना व्याजमा प्रदान गरिने योजना प्रदेश सरकारको छ । खेती गर्न, गाई, भैंसी पाल्न, कुखुरा पालन र माछा पालेर व्यवसाय गर्न मात्रै यो ऋण दिइनेछ’ मन्त्री साहले भने, “कसैले व्यक्तिगत रुपमा मागेमा यो ऋण दिइने छैन ।’
उनले प्रदेशको पूर्वी क्षेत्र सप्तरी, मध्य क्षेत्र धनुषा र पश्चिमी क्षेत्र पर्सामा एक र एकवटा अर्गा्निक मलको कारखाना प्रदेश सरकारले संचालन गर्ने बताए । तीन ठाउँमा कारखाना भएपछि प्रदेश भरिका जनतालाई सहज हुने उनको विश्वास छ ।