राकेश चौरसिया/
वीरगंज, ८ भदौ/
देशमा भइरहेको अपराधिक घटनाले त्यसै पनि नेपाल प्रहरीको छवि पछिल्लो समयमा इतिहासमै सबैभन्दा धुमिल बन्दै गएको छ । सोही क्रममा पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सहित आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको आगमनले पर्सा जिल्लामा शान्ति सुरक्षाको अवस्था राम्रो होला, विधिको शासन स्थापना होला, अपराधी मनोवृत्तिका मानिसहरू डराउलान्, तस्करी कार्य निरुत्साहित होला भन्ने आश एवं विश्वास गरेर बसेका पर्सा जिल्लावासीको आश पर्सेली प्रहरीको अकर्मण्यताले तुहिन थालेको छ ।
अपराध अनुसन्धान महाशाखाबाट पर्सा प्रहरीको जिम्मेवारी लिएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले आफ्नो कार्यकालमा पर्सा जिल्लामा विधिको शासन र कानुन पालना गराउन मेरो प्रमुख उद्देश्य रह्ने छ भनेर पर्सेली पत्रकारहरूमाझ डिङ हाँकेपनि प्रहरी उपरीक्षक राठौरको व्यवहार र कार्यशैली भने हात्ती आयो हात्ती आयो फुस्सा साबित भएको छ ।
प्रहरी उपरीक्षक राठौर पर्सा प्रहरी प्रमुखमा आएदेखि यता तस्करीको लाईन बन्द हुनुको सट्टा तस्करीको लाईन र टाईम परिवर्तन भई संचालन भएको, दिनदिनै आपराधिक गतिविधि बढ्दै गएको, आत्महत्या, बम विष्फोट, घरेलु हिंसा, सामाजिक आतंक जस्ता गैरकानुनी कृयाकलाप विगतको भन्दा तीव्र गतिमा बढेपछि एस.पी. राठौरको कार्यदक्षतामाथि प्रश्न चिन्ह उठ्न थालेको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयकै हाताभित्र रहेको महिला तथा बालबालिका सेलमा पीडितहरूले प्रत्यक्ष प्रहरी सेवा लिन पाएका छैनन् भन्ने जनगुनासो केहि महिना यता व्यापक रुपमा सुनिन थालिएको छ । महिला सेलमा जाने पीडितहरूलाई त्यहाँ अधिकारकर्मीको आवरणमा रहेकी दलालहरूले पीडितलाई झन पीडा दिने उद्देश्यले पीडित र पीडक दुबै पक्षलाई मिलाउने बहानामा दुबै पक्षसँग आर्थिक लाभ लिने गरेको, पीडित पक्ष कमजोर भएपनि बलियो पीडक पक्षसँग अनैतिक लाभ लिई पीडकलाई संरक्षण हुने गरी प्रहरी सेवा प्रवाह गर्ने गरेको जस्ता घटनाहरू बाहिर आउन थालेका छन् (यस विषयमा चन्द्र सूर्य वाणीले थप सामचार आगामी अंकहरूमा प्रकाशन गर्ने नै छ) । यस्ता घटनाहरू भइरहँदा समेत प्रहरी उपरीक्षकले चाल नपाउनुको रहष्य आफैंमा अनौठो छ ।
त्यति मात्र नभई उनकै मातहतमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा अन्तर्गतका ट्राफिक प्रहरीहरू ट्राफिक सवारी व्यवस्थापनलाई भन्दा असुली कार्यलाई प्राथमिकता दिन थालेपछि कार्यालय शुरु हुने समय र छुट्टी हुने समय वीरगंज लगायत आसपासका क्षेत्रका सडकहरू अव्यवस्थित सवारी चापले घण्टौ जाम लाग्ने गरेका छन् ।
विहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि राती ९ बजेसम्म वीरगंजको शंकराचार्य गेट, विर्ता, माईस्थान, आदर्शनगर, घण्टाघर, पावरहाउस, परवानीपुर, चण्डालचोक, तिलावेपुलसम्मका सडकहरू अव्यवस्थित सवारी चाप र ट्राफिक व्यवस्थापनमा लापरवाहीका कारण घण्टौ जाम लाग्ने गरेका छन्, जसका कारण यात्रुहरूलाई समयमा कार्यालय, घर र गन्तव्यसम्म पुग्न असहज हुने गरेको स्थानीयवासीहरू बताउँछन् ।
बढ्दो सडक जामका कारण विरामी बोक्ने एम्बुलेन्स, आगलागी हुँदा दमकल, जस्ता आकश्मिक रुपमा आउने जाने सवारी साधनलाई समेत समयमा अस्पताल जान गाह्रो हुने गरेको स्थानीयहरू बताउँछन् ।
यसैबीच आइतवार साँझ साढे ६ बजेदेखि ८ बजेसम्म तिलावे पुलमा विरामी बोकेको एम्बुलेन्स जाममा पर्दा विरामीलाई समयमै अस्पताल पुर्याउन गाह्रो भएको थियो ।
पोखरीयाबाट वीरगंजस्थित हस्पिटलमा लैजान लागेको एम्बुलेन्स जाममा पर्दा त्यहाँ भित्र रहेका विरामी छटपटिएर अवस्था झन् गाह्रो भएको थियो ।
तिलावे पुलदेखि अलौं स्थित सशस्त्र प्रहरीको क्याम्प भन्दा अगाडीसम्म जाम हुँदा पनि त्यहाँका सशस्त्र टोली अल्मस्ती गर्दै बसेका थिए । एम्बुलेन्सभित्रका विरामीलाई अप्ठेरो पर्न थालेपछि स्थानीय बटुवाहरूकै अगुवाईमा सडक बाटो खोलाउने प्रयास भइरहँदा करिब डेढ घण्टा पछि मात्र प्रहरी पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
बम विष्फोटन, आपराधिक कृयाकलाप, चोरी, तस्करी, लुटपाट, हत्या, घरेलु हिंसा, महिला हिंसा, बाल हिंसा, बलात्कार जस्टा घटना न्यूनिकरणमा असफल जस्तै देखिएका पर्सा प्रहरी नेतृत्व र टिम कम्तिमा ट्राफिक व्यवस्थापनमा त सफल होलान् भनेर आशावादी बनेका पर्सेली जनताहरूको चाहना कहिले पूरा हुने होला भनेर हजार जिब्रो भएका शेषनागले समेत भन्न सक्ने अवस्था छैन भने यो पंक्तिकारले कसरी भन्न सक्लान् र ? कि कसो एस.पी. साहेब ?