Friday, November 29, 2024
घरविचारगणतन्त्र नेपाल र सस्तो लोकप्रिय राष्ट्रियता

गणतन्त्र नेपाल र सस्तो लोकप्रिय राष्ट्रियता

– स्वर्ण विक्रम शाह

आजभोली यो राष्ट्रियताको खुब चर्चा भईरहेको छ । जस्को मुखमा पनि राष्ट्रियता भन्ने शब्द झुन्डिएको छ चाहे त्यो जनता होस या चाहे नेताहरुको मुखमा । राष्ट्रियता हरायो, राष्ट्रियता सिद्धीयो, राष्ट्रियता मर्न लाग्यो आदि इत्यादि । आखिर यो राष्ट्रियता भनेको के हो त ? यसको जवाफ दिन लगाउने हो भने हरेक मानिसको सोच एक अर्का संग अमिल्दो हुन्छ । किन भने यहाँ सबैले राष्ट्रियतालाई आप्mनो स्वार्थ बमोजिम प्रयोग गरिरहेका छन । जनताहरुको राष्ट्रियता आफैले भोट दिएर सत्तामा जाओ ब्रम्हलुट गर भनेर पठाउने अनि तिनै नेताहरुले आफ्नो ब्रम्हलुट सुरु गरेपछि गाली गर्ने, सराप्ने आदि आदि । झन हाम्रा राजनितीक दलहरु त जनता भन्दा दस कदम अगाडि छन् ।

उनीहरुले त राष्ट्रियतालाई आफ्नै लयमा ढाल्न सफल भैसकेका छन् । यिनीहरुको राष्ट्रियता त आफ्नो दलको स्वार्थपूर्ति गर्ने, कुर्सी प्राप्त गर्ने, सत्तामा टाँसिएर बस्ने ढाल र तरवार नै भई सक्यो । नेताहरुको त अझै कुरै नगरौं, यिनिहरुको त बानी नै परिसक्यो सत्तामा पुगेर कुर्सीमा बसेर छिमेकी मुलुकहरुलाई गाली गर्नु नै आफुलाई राष्ट्रवादी बनाउने र देखाउने बाटो हो भनेर हाम्रा बिशिष्ठ नेता ज्यूहरुले देखाई सक्नु भएको हामी सबैले धेरै चोटि देखि सकेका छौ । अब अर्का हाम्रा नागरिक समाजका विशिष्ट बुद्धिजिबीहरु त आफु बाहेक अरु त राष्ट्रवादी नै हैन र आजको समयमा देश सक्किन लाग्यो भनेर राष्ट्र हामीले अब बचाऊनु पर्छ भन्दै हिडेका हामी सधै जयों देख्दै आएका छौ । उहाँहरुलाई देस बचाऊनु त छ रे तर कसैलाई राजसंस्था नचाहिने, कसैलाई धर्म संस्कृति नचाहिने, कसैलाई संघीयता स्वीकार छ रे, भने पछि अब हाम्रा अगुवा विद्वानहरु के चाहिं बचाऊने त ?

म भन्छु राष्ट्रवादी बन्नलाई पहिले राष्ट्र भनेको के हो ? देश भनेको के हो ? यो नै बुझ्न आवश्यक छ । राष्ट्र भनेको कुनै भौगोलिक भुभाग होईन, यो त हामी सम्पूर्ण नेपालीहरुको धर्म, संस्कृति, सभ्यता, मौलिकता, भेष–भुषा, हाम्रो भाषा सम्पूर्ण लगायत हाम्रा वीर पुर्खाहरुले राष्ट्र निर्माणमा दिएका बलिदान, देशलाई एकीकरण गर्दा बगाएका रगत र पसिना आदि ईत्यादिको धरोहर, अस्तित्व, प्रमाण बोकेर त्यसलाई संरक्षण गर्दै अनेकौ काल खण्डमा आएका आपत्ति बिपत्तिहरुलाई पन्छ्याउन हाम्रा असंख्य युगपुरुषहरुले दिएका आप्mनो ज्यानको बलिदानीलाई बचाई संरक्षण गरिरहेको एउटा स्वतन्त्र सार्वभौम राष्ट्र तथा हाम्रो जन्म थलो कर्म थलो मात्र नभई हाम्रो पहिचान हो हाम्रो अस्तित्व हो ।

यसरी एउटा राष्ट्र प्रत्येक जनताको भावना, श्रद्धा, सम्मान, कर्म, पहिचान र कर्तव्यसँग जोडिएको हुन्छ र जसमा यी सम्पूर्ण कुरा हुँदैन ऊ कहिल्यै राष्ट्रवादी हुन सक्दैन । जबसम्म राष्ट्रको अस्थित्व रहन्छ तब सम्म हाम्रो अस्थित्व रहन्छ, हाम्रो पहिचान रहन्छ । यसको अस्तित्व र सार्वभौम बचाई राख्नलाई राष्ट्रियताको आवाश्यकता पर्दछ । तसर्थ राष्ट्रवाद भनेको आप्mनो मात्रृभूमिको आन, शान, मान र सम्मानको लागि हामी नागरिकलाई कर्तव्यबोधको आभाष गराउने एऊटा भावना हो जसको स्थान प्रत्येक राष्ट्रवासीको मुटु, मन र मस्तिष्कमा हुनु अति आवश्यक छ ।

अहिलेको समयमा नेपालमा राष्ट्रवादको खडेरी परेको छ । यसैको फलस्वरूप हाम्रो मुलुक कुनै अदृश्य शक्तिको कारण विपत्तिमा परेको छ । यसको अनुभूति सारा नेपालीले गरिरहेका छन् । देशमाथि प्राकृतिक प्रकोप के परेको थियो, सारा अवसरवादीहरु राष्ट्रवादको मुखौटा लगाएर आ–आफ्नो स्वार्थपूर्तिको लागि अग्रसर भए र जसको नतिजा हामी माथि जबरजस्ती लादिएको २०७२ को संविधान हो । जुन पूर्ण रुपमा जनभावना विपरीत छ, राष्ट्रहितको विपरीत छ र हाम्रो सार्वभौम र हाम्रो अखण्डताको बिपरीत छ र यो संविधान भनेको चाँडो भन्दा चाँडो हटाउनु पर्छ र २०४७ को संविधान तुरुन्त लागु हुनु पर्छ ।

किनभने सारा नेपाली राष्ट्रवादीहरुको चाहना भनेको भनेको राजतन्त्र देखि सम्पूर्ण दल र विप्लव समेत अटाउने वैदिक सनातन धर्म सहितको जुन संघीयताको नाममा खण्ड खण्ड भएको नभई राष्ट्र निर्माता श्री ५ बडामहाराधिराज पृथ्वीनारायण शाहद्वारा र बहादुर शाहद्वारा निर्माण भएको अखण्ड शान्त सार्वभौम स्वतन्त्र नेपाल हो । तर हाम्रो दुर्भाग्य भनौं या हामी सम्पूर्ण नेपाली जनताहरुको लाचारीपन, आज जाबो मुठ्ठी भर नेताहरुको लगैलहैमा लागेर हामी आप्mनो राष्ट्रवादलाई खुट्टाले कुल्चियर बाचिरहेका छौ हाँसी रहेका छौ तर हाम्रो जननी हाम्रो मातृभूमि रोईरहेको हामीले देख्न सकेका छैनौं । के अझ पनि हामी आफूलाई राष्ट्रवादी भन्न सक्छौ ?

के हामी भित्रको लाज र सम्मान मरिसक्यो ? तपाईहरुलाई के लाग्छ यस्तो भद्रगोल देशमा हुँदा पनि अझै झुटा आश्वासनमा नै जनताहरुलाई भुलाई राख्ने नेताहरुले के जनताहरुको जिम्मेवारी बोकीरहेका छन् त ? देशमा बिखण्डन कै खतरा पर्दा समेत सि के राउत जस्ता बिखण्डनकारीलाई फुलमाला लगाएर जेलमुक्त गर्ने सरकारले हाम्रो देशको अखण्डताको रक्षा गर्न सक्छन त ? यी सारा प्रश्नहरु यो सरकारलाई अहिले नसोधे कहिले सोध्ने त ?

तर हामी सबै जनताहरुलाई थाहा छ कि यस्ता प्रश्न सोध्नेको गति ज्ञानेन्द्र शाहीको जस्तो हुन्छ भनेर, त्यसो भए चुपचाप लागेर बस्ने त हामी ?

अवश्य होईन अब जनताहरुको पालो आई सक्यो यस्ता नालायक भ्रष्टाचारी, गैरजिम्मेवारी राष्ट्रघातीहरुको चङ्गुलबाट हाम्रो मात्रृभुमीलाई बचाऊन एउटा लायक जिम्मेवार सच्चा राष्ट्रवादीलाई यो देशको बागडोर सुम्पिने र त्यो लायक जिम्मेवार समयले मागेको शक्ति भनेको राजदरवारको शक्ति हो र यो देशलाई जोगाउने हो भने राजसंस्था बाहेक अरु बिकल्प नै सक्यो । किनभने अब जनताहरुले बुझिसकेका छन कि यी नेताहरु देशको विकास गर्छु भनेर आएका नै होईनन् । यिनीहरुलाई त पंचायती कालमा राजाको शोक सम्मान देखेर यिनिहरुको डाहाडेपनले आप्mनो स्वार्थ पूर्ति गर्न सत्ता चाहिएको मात्र हो जुन कुरालाई आजको देशको अवस्थाले प्रमाण गरि सक्यो ।

भन्ने नै हो भने नेपालमा दलहरुको काम नै छैन जुन कुरा राजा महेन्द्रले जम्मा ९ वर्षमा देशको बिकाश गरेर देखाई सकेका छन् । हाम्रा नेताहरुले राजाले सम्मान र सोख मात्र देखे तर त्यो सम्मान र सान किन राजाले पाए यो कहिले यिनीहरुले देखेनन् । त्यो सम्मान र सोखके पछाडि राजाको संघर्ष, मेहेनत, देशभक्ति, जनताभक्ति, ईमान्दारीता तथा देश र जनता प्रतिको दायित्ववोध देखेनन् मात्र देखे राजाको सोख र शान । राजाहरुको राष्ट्र र जनता प्रतिको समर्पण, त्याग र बलिदान कहिल्यै देखेनन् । यसको प्रमाण यो छ कि हिजो दरबारले ४ करोड खर्च गर्दा सेतो हात्ती पालेको जस्तो भयो भन्नेहरु आज जनताका पैसामा मोज गरिरहेका छन् । कसैलाई १८ करोडको गाडि चाहियो त कसैलाई १ अर्ब ५० करोडको हेलिकप्टर । हिजो राजाहरुले नेपालमा बनेको खद्दरको लुगा लगाएर जीवन विताए भने आजका नेताहरुलाई लाखौ पर्ने अर्मानी सुट चाहिएको छ । हो हिजो हामीले हाम्रो र देशको रक्षा, सुरक्षा र बिकाशको लागि सेतो हात्ती पालेका थियौं तर आज हामीलाई नै र हाम्रो देशलाई खत्तम र मृत्यु श्यैयामा सुताउने हजारौं ब्वासोहरु पालेका छौं । यो एऊटा लेख मात्र होईन आजको तितो सच्चाई हो । यति भन्दा पनि हाम्रा जनताका घैटोमा घाम लाग्दैन भने मेरो भन्नु केहि छैन मात्र जय राष्ट्रवाद ।

२०७६ जेठ २४ गते शुक्रवार चन्द्रसूर्य वाणी दैनिकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -