चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १२ जेष्ठ/
भारतीय खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले फैलाएको जालो तोड्न सशस्त्र प्रहरीले थालेको प्रयाससँगै भारी मात्रामा तस्करीको दाल बरामद गरिएको छ ।
शनिवार रात्री ११ः३० बजेको समयमा तीन वटा ट्रैक्टरमा लोड गरि पर्साको अमरपट्टी हुँदै भारततर्फ लैजान लागेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २ बाहिनी मूख्यालय बर्दीबास महोत्तरी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौंको टोलीले संयुक्त रुपमा १५टन सात क्वीन्टल परिमाणको दाल बरामद गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक ओम बानियाँले बताउनु भयो ।
सशस्त्र प्रहरी निरीक्षक बानियाँका अनुसार ना.१त. ५४०७, ना.१त९३८५, ना.१त.३८५५ नम्बरको ट्रैक्टरमा लोड गरिएको सो दाल तेश्रो मुलुकबाट आयात गरी भारततर्फ निकासीकालागि लैजाने क्रममा बरामद गरिएको उक्त परिमाणको दाल, ट्रैक्टरसहितको मूल्य १७ लाख ७० हजार तीन सय रुपैयाँ मूल्यांकन गरी आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
विन्दवासीनी गाउँपालिका घर बताउने ट्रैक्टरका चालकत्रय विरोधी यादव, प्रमोद यादव र शम्भु पटेललाई पनि नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाहीकोलागि हिरासतमा राखिएको जनाइएको छ ।
तस्करीको क्रममा बरामद सो दाल अमरपट्टीका व्यापारी पप्पु चौरसियाको रहेको चर्चा रहेपनि प्रहरीले यसबारे आधिकारीक जानकारी गराएको छैन ।
तेश्रो मुलुकबाट आयात गरिने दाल, केराउ, मरिचलगायतका खाद्यान्न भारतीय बजारभन्दा सस्तो र आकर्षक रहेका कारण नेपालको खुल्लावर्ती सीमाको फाइदा उठाउँदै तस्करहरूले भारततर्फ तस्करी गर्दै आएको सूचना पाएसँगै सशस्त्र प्रहरी बल नेपाल नं. २ बाहिनी मूख्यालय बर्दीवास महोत्तरी अन्तर्गतका सशस्त्र प्रहरी टोलीले निगरानी बढाएसँगै विभिन्न नाकाबाट धमाधम तस्करीका सामान बरामद गरिन थालिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीण कुमार श्रेष्ठले बताउनु भयो ।
खुल्ला सीमानाको दुरुपयोग गरी भन्सार राजश्व चुहावट गर्ने तस्करहरूको जालोलाई तोड्न सशस्त्र प्रहरीले सक्दो प्रयास गरिरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले चन्द्रसूर्यलाई बताए ।
त्यसैगरी सशस्त्र प्रहरी बलको टोलीले नै आइतवार भारतबाट चोरी निकासी भई नेपाल भिœयाउने क्रममा दुई सय १७ थान पर्दा, जैकेट च्यान (जीप) २१ बण्डल बरामद गरी आवश्यक कारवाहीकालागि वीरगंज भन्सार बुझाएको छ ।
यसैबीच नेपाल प्रहरीको तर्फबाट श्रीपुर वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले चोरी तस्करी गरी आयात निर्यात गर्ने क्रममा पर्साको अलौं सिर्सियाबाट केराउ, चप्पल, डटपेन, फ्रिजमा प्रयोग हुने ग्यास, जुत्ता लगायतका सामग्री बरामद गरी आवश्यक कारवाहीकालागि वीरगंज भन्सार बुझाएको छ ।