काठमाण्डौ/ नेपाल पत्रकार महासंले सार्वजनिक गरेपछि महासंघका केन्द्रिय पदाधिकारी तथा सदस्यहरूले विरोध जनाएका छन्।
महासंघका केन्द्रिय सचिवहरू गोविन्द चौलागाई, दीपेन्द्र चौहान, सिर्जना अर्याल, नारायणसुन्दर किलम्बू, हेमकर्ण वि.क. माधव पौडेल एवं केन्द्रीय सदस्यहरू सुभाषप्रसाद साह, उत्तर विष्ट, शान्तराम बिडारीलगायतले सोमबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।
विज्ञप्तिमा भनिएको छ, “नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिदै गर्दा नेपाल पत्रकार महासंघका जिम्मेवार पदाधिकारीहरुले एकतर्फी रुपमा हस्ताक्षर गरी सार्वजनिक गरेको सदस्यता नामावलीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
सदस्यता शुद्धिकरणका नाममा सञ्चारकर्ममा क्रियाशील व्यक्तिहरुको नाम नियोजित रुपमा हटाउने तथा नवीकरण नगर्ने र धेरै क्रियाशील पत्रकारहरुको नयाँ सदस्यता प्राप्त गर्ने अधिकारबाट समेत बञ्चित गरेर प्रकाशित गरिएको सदस्यता सूचीले महासंघको साझा चरित्र, विधि, विधान र मर्मलाई नै लत्याउने काम भएको हाम्रो ठहर छ ।
जिल्ला शाखाले चिन्दै नचिनेका, पत्रकारितामा नरहेका र पुरानो सदस्यता सूचीमा नाम नभएका व्यक्तिहरुको नाम किर्ते गरी थपिएको, एउटै मापदण्डमा पर्ने सदस्यहरुमध्ये नियतवश कुनै सदस्यको नवीकरण गरिएको र कसैलाई हटाइएकोप्रति हाम्रो आपत्ति छ। सत्ताको सूँढ छिराएर महासंघका निश्चित पदाधिकारीहरुले महासंघको साझा चरित्र विपरीत चोर बाटोबाट सार्वजनिक भएको सदस्यता सूची सच्याइ देशभरीबाट छुट भएका क्रियाशील पत्रकारहरुलाई यथाशीघ्र समावेश गरी सदस्यता सूची सार्वजनिक गर्न जोडदार माग गर्दछौं ।
महासंघको महाधिवेशन पश्चात निर्वाचन नभइसकेको र नयाँ कार्यसमिति नआएको यस विषम परिस्थितिमा नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठक तत्काल आव्हान गर्दै विधानतः संगठन समिति र केन्द्रीय समितिबाट अगाडि बढाउन आग्रह गर्दछौं ।
साथै महासंघको सदस्यताको विषय टुङ्ग्याएर मात्रै निर्वाचनका कार्यक्रम अगाडि बढाउन निर्वाचन समितिलाई समेत आग्रह गर्दछौं । २४ घण्टाभित्र माग पूरा नभएमा यसवाट सिर्जित समस्याको जिम्मेवारी समेत सम्वद्ध पदाधिकारीहरुले लिनुपर्ने जानकारी गराउँदछौं ।”
गोविन्दप्रसाद चौलागाई, सचिव
दीपेन्द्र चौहान, सचिव
सिर्जना अर्याल, सचिव
नारायणसुन्दर किलम्बू, सचिव
हेमकर्ण वि.क., सचिव
माधव पौडेल, केन्द्रीय सदस्य
सुभाषप्रसाद साह, केन्द्रीय सदस्य
उत्तर विष्ट, केन्द्रीय सदस्य
शान्तराम विडारी, केन्द्रीय सदस्य