सन्तोष मिश्र ।
काठमाण्डौ, १४ माघ
तेश्रो पटक ह्दयाघात भएर उपचारकालागि अस्पताल भर्ना हुसनु भएका पूर्व श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहको स्वास्थ्य अवस्था यतिखेर खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धत गर्दै उनका निकटतम श्रोतबाट जानकारी हुन आएको छ ।
आइतवार साँझदेखि नै छातीमा केही सामान्य असहजता देखिएपनि सोमबार विहान पूर्व निर्धारित कार्यक्रम अनुसार ललितपुरको पाटन क्षेत्रमा रहेको शिव–पार्वती मन्दिर र हिरण्यवर्ण महाविरको पूजा आजा र दर्शन गरेर निवासमा फर्किएका पूर्व युवराज पारस शाहलाई दिउँसो करिब ४ः३० बजेको समयमा ह्दय घातको संकेत देखापरेपछि अस्पताल लगिएको थियो ।

थापाथली स्थित नर्भिक हस्पिटलको सघन अर्थात आइसियु कक्षमा राखेर डा. यादवदेव भट्टसहितको टिमले कुशलतापूर्वक उपचार गरेपछि स्थिति सुधारोन्मुख भएको हो ।
पूर्व युवराज पारसको कोलोनरी एनजिओप्लाष्टीबाट मुटुको भल्वमा देखिएको समस्या खोलिएपछि उनी हाल खतरामुक्त हुनु भएको चिकित्सकहरुले जनाएका छन् ।
यता मध्य पूर्वी तराईको भ्रमणकालागि हिजो मात्र सिमरा पुग्नु भएका राजदम्पत्ति छोरालाई ह्दयाघात भएको खबर पाउने बित्तिकै आमा पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह स्थलमार्ग बाटै काठमाण्डौ आइपुग्नु भएको छ । साँझ अबेर छोराको स्वास्थ्यबारे खबर पाउँदा तत्काल हवाई टिकट नपाएपछि आमा पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी शाह स्थलमार्गबाटै काठमाण्डौ फर्किनु भएको हो ।
पूर्व युवराज पारस शाहका पिता एवं पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह भने मंगलवार काठमाण्डौ फर्किनु हुने समाचारश्रोतले जानकारी दिएको छ ।
पूर्व युवराज पारस शाहको अस्वस्थताबारे खबर सनसनी रुपमा फैलिएपछि देशभरका शुभचिन्तकहरुले उनको शीघ्रस्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
सोही क्रममा पर्साको वीरगंजबाट प्रकाशन हुने क्राइम चेक साप्ताहसक पत्रिकाका सम्पादक सन्तोष मिश्र र चन्द्रसूर्यवाणी दैनिक पत्रिकाका सम्पूर्ण टिम, विराटनगर-१, मोरङ निवासी स्वयम्भुनाथ कार्की, राजधानी काठमाण्डौ बस्ने सिर्जना वाग्ले, राष्ट्रवादी अभियन्ता सोम विक्रम सिंह, मानव सेवक लगायत विभिन्न राष्ट्रवादी संघ संगठनका पदाधिकारी, सर्वसाधारण आम नागरिक लगायतले श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाह सरकारको शीघ्रातीशीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
















