२०८३ जेष्ठ ८ गते, शुक्रबार ०२:०८

आपराधिक निर्लज्जता … राष्ट्रघात

-नारायण गाउँले

प्रचण्डले भेनेजुएलामा ‘नखेल्न’ अमेरिकालाई कड़ा चुनौती दिनुभएछ । ओली, देउबा या कम्तीमा ज्ञानेन्द्रसम्मले दिएको भए त्यो तर्कसङ्गत र अर्थपूर्ण हुन्थ्यो ।

प्रचण्डले विदेशी नेताहरूको नाम र ‘सिद्धान्त’मा पार्टी खोल्नुभो । देशको संवैधानिक शासनविरुद्ध दश वर्ष हत्याहिंसा र आतङ्क सिर्जना भयो । छिमेकी देशबाट गोलाबारूद सहयोग भयो । सीमित भौतिक संरचना पनि तोड़िए । देश ठप्प भयो । भारतविरुद्ध सुरुङ्ग युद्ध गर्ने भ्रम छर्नुभो । अन्तमा भारतको मध्यस्थता (हस्तक्षेप)मा देशको शासक र शासन व्यवस्था फेर्न सफल हुनुभयो ।

अहिले भेनेजुएलामा जुन स्तरको आर्थिक र मानवीय सङ्कट छ त्यो हाम्रो देशमा थिएन । त्यहाँ जनता सामान्य खाद्यान्न, औषधि र लत्ताकपड़ासमेत किन्न नसक्ने अवस्थामा पुगेका छन् । एउटा मजदुरको मासिक तलबले एउटा पाउरोटी किन्न नसक्ने गरी दिमागको गणितले काम नगर्ने खालको मूल्यवृद्धि छ । तीस लाख बढ़ी मान्छे भोक सहन नसकी विस्थापित भएका छन् । मुद्रास्फीतिले पैसा नै काम नलाग्ने भएपछि देशले तीन पल्ट त मुद्रा नै फेरिसकेको छ । संसदलाई बाइपास गरेर आफूखुशी पाँच सयभन्दा बढीको संविधानसभा गठन गरेका छन् राष्ट्रपतिले । प्रशासनिक खर्च आकाश छुने खालको छ । भ्रष्टाचार त सामान्य भयो । राज्यकोष सकिएपछि विदेशी ब्याङ्कमा ‘क्रेडिट’ प्रयोजनका लागि राखिएको डिपोजिट र सुन पनि झिकाएर खर्च गर्नुपर्ने अवस्था छ । अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको छ । संसदमा विपक्षको बहुमत छ र गतसाल सम्पन्न राष्ट्रपतिको चुनाबलाई संसदले गैरकानुनी भनेको छ ।मुख्य विपक्षी दललाई प्रतिबन्ध लगाएर, नेताहरूलाई थुनेर उक्त चुनाब भएको थियो । अहिले संसदका सभाध्यक्षले संविधानको धारा उल्लेख गर्दै आफूलाई कार्यकारी घोषणा गरेका छन् । अमेरिकाले त्यसलाई झटपट समर्थन गरेको छ र रसियाले वर्तमान राष्ट्रपतिलाई । अन्य देशको मत बाँडिएको छ । जुन छिमेकी देशमा शरणार्थीको ओइरो लागेको छ ती छिमेकी देशले पनि सभाध्यक्षलाई समर्थन गरेका छन् । हुलै बाँधेर हजारौं शरणार्थी अमेरिका पस्ने आशामा अहिले पनि मेक्सिकोमा छन् । बोर्डरमा बार लगाउने विषयलाई लिएर अमेरिकी राजनीति नै ठप्प छ ।

प्रचण्डज्यूले युद्ध सुरु गर्दा नेपाल यस्तो थिएन । देशमा डिक्टेटरशिप पनि थिएन । जननिर्वाचित प्रधानमन्त्री थिए । संसद थियो । नागरिक शरणार्थी बनेर विदेश पलायन भएका थिएनन् । भोकमरी थिएन । थाम्नै नसक्ने मूल्यवृद्धि पनि थिएन । वीरेन्द्र राजा थिए । खराब नै होलान्, तर त्यत्ति धेरै खराब पनि थिएनन् । गरिबका छोराछोरी भर्ती हुने पुलिस मार्नुभो । दांगमा ब्यारेक हानेर सेना मार्नुभो । गोर्खामा शिक्षकलाई गोली ठोक्नुभो, पत्रकार डेकेन्द्रलाई जिउँदै गाड्नुभो । द्वन्द्व बढ़ेपछि राज्य पनि विवेकहीन भएर प्रतिवादमा उत्रियो र हजारौं निर्दोषले ज्यान गुमाए । अन्ततः भारतले सहयोग (हस्तक्षेप) गर्यो, १२ बुँदे सहमति दिल्लीमा भयो र देशको ‘संवैधानिक’ शासक ज्ञानेन्द्र बिदा भए ।

एउटा नागरिकले भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गर्नुहुन्न भनेको सुहाउँछ । कुनै पनि स्वाभिमान नागरिकले त्यसो भन्छ र भन्नुपर्छ । तर जसले हतियार उठाएर अनि विदेशी हस्तक्षेप निम्त्याएर देशको शासन व्यवस्था फेरेको छ, उसले अन्य देशको हस्तक्षेपबारे बोल्ने नैतिकता कहाँबाट पाउँछ ? आज पनि जसको घर, कार्यालय र मनको भित्तोमा देशका सर्वहारा नागरिकको होइन, विदेशी नेताको फोटो झुन्डिएको छ, उसले राष्ट्रिय स्वाभिमानको कुरा गरेको कत्ति सुहाउन्न । जसरी भारतले हिजो तपाईंलाई समर्थन गर्यो र सेल्टर दियो, आज अमेरिकाले भेनेजुएलाका नेतालाई गर्दै छ । के फ़रक भयो ? दुबै हस्तक्षेप होइन ? त्यहाँ त बरु निर्वाचित र संसदीय बहुमत भएको व्यक्तिले घोषणा गरेको छ । तपाईं त सोझै जङ्गल पसेको होइन र ?

अमेरिका दुष्ट छ । शक्तिराष्ट्रहरू सबै दुष्ट नै छन् । रूसले क्रिमिया, चीनले तिब्बत र भारतले सिक्किम खाएको देख्नुभएकै छ । यत्रो वर्ष भयो, अफगानिस्तान छोडेको छैन अमेरिकाले । अब अमेरिकाले तपाईंको चेतावनी सुनेन भने के गर्नुहुन्छ ? सुरुङ्ग युद्ध गर्नुहुन्छ ?

स-धन्यवाद:
नारायण गाउँले (Narayan Gaunle) जी को फेसबुकबाट ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM