प्रदेश २ का उद्योग, पर्यटन, बन तथा वातावरण राज्य मन्त्री सुरेस कुमार मण्डलले हेल्प मधेसीको कामको प्रशंसा गरेका छन् । सिराहाको लक्ष्मण मण्डल माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले प्रदेश २ मा खस्किएको शैक्षिक स्तरलाई उकास्न हेल्प मधेसीको योगदान सराहनीय रहेको बताएका हुन् ।
उनले सरकारको शिक्षा नीतिमा स्थानीय भाषालाई बेवास्ता गरिएकाले मधेसमा शैक्षिक स्तर माथि उठ्न नसकेको बताए । प्रदेश सरकारले पठनपाठनदेखि लोकसेवा आयोगको परीक्षासम्मै स्थानीय भाषा प्रयोगमा ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए ।
मन्त्री मण्डलले मधेसमा महिला साक्षरता दर कम भएको भन्दै प्रदेश सरकारले सुरु गरेको बेटी बचाउ बेटी पढाऊ अभियानले यो दर बढाउने जिकिर गरे । ‘अब हामीले मानसिकता बदल्नु पर्छ’ उनले भने, ‘समृद्ध मधेसको परिकल्पना साकार बनाउन शिक्षामा जोड दिनै पर्छ ।’
एक अर्को प्रसङ्गमा मन्त्री मण्डलले प्रदेश सरकारले मधेसको विकासका लागि योजनाबद्ध रूपमा काम गरिरहेको बताए । फोरम र राजपा मिलेर बनेको सरकार प्रदेश दुईको समग्र विकासमा केन्द्रित भएको उनको दाबी छ ।
हेल्प मधेसी नामक संस्थाले विभिन्न विद्यालयका आर्थिक अवस्था कमजोर भएका ४० विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको थियो ।