Friday, November 29, 2024
घरपत्रपत्रिकासमाजवादी पनि सरकारमा सहभागी हुन सक्छ : झलनाथ खनाल

समाजवादी पनि सरकारमा सहभागी हुन सक्छ : झलनाथ खनाल

काठमाडौँ/ नेकपा (एकीकृत समाजवादी) नेता झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन्।

नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रस्तुत गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताएका हुन्। मंगलबार अपराह्न डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने शर्तसमेत राखे।

एकीकृत समाजवादीले बुधबार बिहान मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ। नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौँ भन्ने खाका प्रस्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रतिक्रिया दिए।

सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उनको अडान थियो। नेता खनालले सत्तारुढ गठबन्धनले सहमतिका साथ जानका लागि गरिएको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताए।

उनले भने, ‘अब अहिले जुनजुन पार्टीहरुको बीचमा एउटा समझदारी बनेर यो परिवर्तनको क्रम सुरु भएको छ, त्यसमा औपचारिक रुपले हाम्रो पार्टी छैन। र व्यक्तिव्यक्तिले के–के भूमिका खेले होलान्, त्यो भिन्दै कुरा भयो। तर औपचारिक रुपमा पार्टीलाई यस प्रोसेसमा संलग्न नगराइएको परिस्थिति निर्माण भएको हुनाले अब हामीले सामान्यतया यो घटनाक्रमलाई हामी विरोध गर्दैनौं। र हामी यो घटनाक्रमलाई गहिरोसँग वाच गरिरहेका छौँ। विश्लेषण पनि गर्दैछौँ।

यदि यो प्रोसेसमा हाम्रो पार्टीलाई संलग्न गर्नुपर्छ भन्ने आवश्यकता यो परिवर्तन गर्ने पार्टीहरुको बीचमा त्यो समझदारी बन्यो, हामीसँग पनि वार्ता भयो र एउटा सम्मानजनक ढंगले सहमति गरेर जाउँ भन्ने खालको कुरा आयो भने हामी त्यसलाई अस्वीकार गर्दैनौँ। यसलाई सकारात्मक ढंगले नै लिन्छौँ। तर हामीलाई संलग्न गरिदिनोस् भनेर त्यो याचना गर्न चाहिँ जाँदैनौँ।’

नेता खनालले आफ्नो पार्टीले वाम एकताको पक्षमा भइरहेको प्रयत्नलाई झनै प्रखर ढंगले अघि बढाउने बताए। उनले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई संकटबाट जोगाउने आशा आफूहरुमा पलाएकोसमेत बताए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -