Friday, November 29, 2024
घरक्राइम चेकनयाँ सत्ता गठबन्धनबाट आज तीन मन्त्रीले मात्र शपथ लिने

नयाँ सत्ता गठबन्धनबाट आज तीन मन्त्रीले मात्र शपथ लिने

काठमाडौँ/विकसित भएको नयाँ सत्ता समीकरणबाट तीन जना मन्त्रीहरुले सोमबार अपराह्न शपथ लिने भएका छन्। माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले सोमबार शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।

यसका लागि तयारी भइसकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। उनीहरुले पाँच बजे राष्ट्रपति कार्यालयमा शपथ लिने कार्यक्रम छ।

माओवादीले नुवाकोट-१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको हो भने एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत रहेका डीपी अर्यालले मन्त्रीको शपथ लिनेछन्।

यसअघि नयाँ गठबन्धनका चारजना उपप्रधानमन्त्रीले नै सोमबार शपथ लिने भनिएको थियो।

सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना उपप्रधानमन्त्री हुने समझदारी भएसँगै चारै उपप्रधानमन्त्रीको शपथ सोमबार हुने भनिए पनि सबै दलमा मन्त्री बन्नेहरुको तँछाडमछाडका कारण सोमबार तीन मन्त्रीको मात्र शपथ हुने भएको हो।

नयाँ गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाउँदा उपमहासचिव वर्षमान पुन पहिलोपटक उपप्रधानमन्त्री हुने पक्का भएको छ। उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। पुन यसअघि पनि अर्थमन्त्री भएका थिए।

त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री हुने भएका छन्। उनी यसअघि दुईपटक परराष्ट्रमन्त्री भएका थिए।

रास्वपामा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा जाने पक्का भएको छ। उनले गृहमन्त्रालय मागेका छन्।

उता एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने सम्भावना छ। तर उनले कुन मन्त्रालय पाउने भन्नेबारे अलिहेसम्म टुंगो लागिसकेको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथबारे राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर जानकारी गराएका छन्।

स्रोतका अनुसार राजनीतिक समीकरणमा आएको फेरबदलका र नयाँ सत्ता समीकरणबारे राष्ट्रपतिसँग जानकारी गराउन प्रधानमन्त्री दाहाल शितल निवास जान पुगेका थिए।

यसैबीच नयाँ सत्ता गठबन्धनको बैठक अहिले बालुवाटारमा बसिरहेको छ।

नेकपा एमालेसहितकाे गठबन्धनका शीर्ष नेताहरूकाे दाेस्राे चरणकाे बैठकमा शक्ति बाँडफाँटको टुंगो लगाइने बताइएकाे छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे पहिलाे चरणकाे बैठकमा सरकारमा पठाउने मन्त्रीहरूको टुंगो लागेकाे थियाे।

कांग्रेससँगको गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाले नेकपा एमालेसँग सहकार्य गरी सरकार चलाउने भएका छन्।-देशसंचार

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -