Thursday, November 28, 2024
घरक्राइम चेकराष्ट्रिय सभा २०७४ का २० सांसदको पदावधि सकियो, अब माओवादी पहिलो दल

राष्ट्रिय सभा २०७४ का २० सांसदको पदावधि सकियो, अब माओवादी पहिलो दल

काठमाडौं/राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि आज सकिँदैछ। २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आजदेखि बिदा हुन लागेका हुन्।

पदावधि सकिनेहरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एमालेका आठ, नेपाली कांग्रेसका चार, नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एक एवं राष्ट्रपतिबाट मनोनित एक गरी २० जना रहेका छन्।

उनीहरूको ठाउँमा माघ ११ मा भएको राष्ट्रिय सभा निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन्। भोलि उनीहरूको शपथ कार्यक्रम राखिएको छ भने एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ।

गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाको समीकरण नै बदलिएको छ। माओवादी पहिलो ठूलो दल बन्दा कांग्रेस दोस्रो ठूलो दलको हैसियतमा रहँदै छ। हाल राष्ट्रिय सभामा कांग्रेसका १० सदस्य छन्। माघ ११ गते कांग्रेसबाट १० सदस्य निर्वाचित भएका थिए। चार सदस्य आजदेखि बिदा हुँदै छन्।

अब राष्ट्रिय सभामा कांग्रेस १६ सदस्यसहित दोस्रो ठूलो दलको भएको छ। यस्तै, एमाले तेस्रो ठूलो दल भएको छ। हाल एमालेका १७ सदस्य रहेकोमा आजबाट आठ सदस्य बिदा हुँदै छन्। गत राष्ट्रियसभा निर्वाचनमा एकजना उम्मेदवार विजयी भएकाले अब एमालेले १० सदस्यसहित प्रतिनिधित्व गर्नेछ।

यता, नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ। हाल यो दलबाट राष्ट्रिय सभामा आठजना सदस्य छन्। आजदेखि दुई सदस्य बिदा हुँदै छन् भने दुई सदस्य निर्वाचित भएर प्रवेश गर्दै छन्।

यस्तै, जनता समाजवादी पार्टीबाट एक सदस्य बिदा हुँदै छन् भने एक सदस्य निर्वाचित भएर प्रवेश गर्ने भएको संख्या फेरबदल भएको छैन। यता, लोकतान्त्रिक समाजवादी पार्टीका एक सदस्य भने यथावत् रहेका छन्।

बिदाइ हुन लागेकाहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा पार्वती, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई छन्।

कांग्रेसका चार सांसदहरूमा रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन्।

यता, नेकपा एसबाट नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमिलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छन्।

यी हुन् राष्ट्रिय सभामा प्रवेश गर्ने सांसदहरू

फागुन २१ गतेबाट नेपाली कांग्रेसबाट १० सदस्यहरू कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट राष्ट्रिय सभामा जाँदै छन्।

माओवादी केन्द्रबाट पाँच सदस्य श्रीकृष्ण अधिकारी, मनरूपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द राष्ट्रिय सभामा प्रवेश गर्दै छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट दुई सदस्य घनश्याम रिजाल, सावित्री मल्ल, नेकपा एमालेबाट रुकमिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरी राष्ट्रिय सभामा जाँदै छन् । उनीहरूका लागि फागुन २१ गते बिहान नयाँ बानेश्वरमा शपथग्रहणको कार्यक्रम राखिएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -