२०८३ असार १८ गते, बिहीबार २२:२६

सरकार हत्यारा र अपराधीको संरक्षक

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिष्टहरुको दुई तिहाइको सरकार वनेपछि मुलुकमा इतिहासमै सवैभन्दा धेरै असुरक्षा, वलात्कार र भ्रष्टाचार भइरहेको छ । दुई तिहाइको दम्भ भित्र राज्यकोष प्रयोग गरेर चर्चको धर्मपरिवर्तन गराउने काममा समेत कम्युनिष्ट पार्टीका अगुवाहरु नै लाग्नुलाई दुर्भाग्य शिवाय के भन्ने ?

अझ चर्चको कार्यक्रममा देशको कार्यकारी प्रमुख प्रधानमन्त्री तीन तीन दिनसम्म होटलमै वास बसेर धर्म परिवर्तन गराउने काममा सहयोग गर्नु र प्रधानमन्त्रीको नामबाट विभिन्न देशका सरकार प्रमुख, राष्ट्रप्रमुखलाई समेत चर्चको तर्फबाट निम्ता दिनुलाई ओली नेतृत्वको सरकार युनिफिकेसन चर्च तथा पश्चिमा इसाई मिशनरीबाट चलेको प्रष्ट हुन्छ ।

१३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई कारवाही नगरी अपराध लुकाउनेहरुलाई समेत वचावट गर्ने सरकारले कैलालीमा प्रहरीका वरिष्ठ उपरीक्षक सहित सात जना प्रहरी तथा एक नावालकका हत्याका प्रमुख योजनाकार रेशम चौधरीलाई हिजो संघीय संसदको सदस्य पदमा सपथ ग्रहण गराउनुले सत्ता, शक्ति र स्रोतका लागि वर्तमान सरकारले जे पनि गर्न सक्छ भन्ने स्पष्ट हुन्छ ।

रेशम चौधरी कैलाली हत्याकाण्डपछि भागेर दिल्लीमा वसेका थिए । प्रहरीको सर्वाधिक खोजीको सुचिमा रहेका चौधरीलाई पुष्पकमल दाहालले प्रधानमन्त्री छँदा दिल्ली पुगेर भेट गरेका थिए । पछि सपथ गहण गराउने प्रलोभन पाएपछि उनी नेपाल आउँदा पक्राउ परी कारागारमा राखिएको छ । ओली नेतृत्वको सरकारले ऐन, नियम, कानून, संविधानलाई लत्याउँदै एकपछि अर्को अराजक र संविधान विरोधी काम गरिरहेको छ ।

फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिलाई सपथ ग्रहण गराउनु संविधान विरोधी कार्य हो । सत्ताको, भत्ताको र कसैको स्वार्थमा वा प्रभुको निर्देशनमा सरकारले एकपछि अर्को संविधान विरोधी काम गर्दै जान्छ भने अर्थात ज्यानमारा अपराधको अभियोगीलाई गरिमामय संसद पदको सपथ ग्रहण गराइन्छ भने ओली सरकारको वास्तविकता फेरि एक पटक छताछुल्ल हुन्छ । हुन त संसदमा भ्रष्टाचारी, ठग ठेकेदार र अनियमितता गर्नेहरुको वाहुल्यता र वोलवाल छ । संसद पद खरीदविक्री हुन्छ यो अवस्थामा हत्यारालाई सरकारले संरक्षण गर्नुपनि स्वभाविक नै हो ।

नेपाली जनता रेल, पानीजहाज, हात्तीघोडा होइन स्वच्छ सास फेर्ने दे भनेर सडकमा कराइरहेका छन् । वलात्कारी, हत्यारलाई कारवाही गर भनेर लाखौ जनता सडकमा उत्रिएका छन् । संसदको नाममा, मन्त्रीको नाममा खुलम्खुला अबौं भ्रष्टाचार भइरहेकोछ । सनातनी हिन्दु ॐकार परिवारले सदियौदेखि मान्दै आएका चाडपर्वको विदा कटाएर ओली सरकार कोरियाको युनिफिकेसन चर्चको धर्म प्रचार गने कार्यमा जनताको रगत, पसिनाबाट जम्मा भएको राज्यकोषबाट करोडौं खर्च गर्छ भने योभन्दा घोर आततायी कदम, घोर अराजक काम र घोर जनघात, राष्ट्रघात काम अरु केही हुन सक्दैन ।

संसारकै सनातनी हिन्दुराष्ट्र जहाँ ९६ प्रतिशत सनातनी परिवार बस्छन् । त्यस देशको सरकार प्रमुख राज्यकोष खर्चिएर धर्म परिवर्तन गराउने चर्चका गतिविधि गर्न संसद र सरकारको लोगो समेत प्रयोग गर्न पछि पर्दैन भने यो भयावह अराजकता र अत्याचार सहेर नेपाली जनता बस्न सक्दैनन् । धैर्यताको वाँध टुट्यो भने त्यसले निम्त्याउने परिस्थितिको सामना गर्न चर्च समूहहरुलाई हम्मे पर्ला । हाम्रो आस्था, विश्वास खोस्ने, जनमारा गतिविधि र बलात्कार गर्नेको संरक्षण गर्ने काम राज्य पक्षबाटै हुन्छ भने त्यहाँ विद्रोह जन्मन्छ नै । त्यो जनविद्रोहको रापले पुर्याउने क्षतिको अनुमान गर्न निकै कठिन छ । त्यो जनविद्रोहलाई पार्टीका झोले, कुण्डले मण्डले वा डण्डाले छेक्न, रोक्न सक्दैन भन्ने कुरा झण्डा र डण्डा वोकेकाहरुले वेलैमा सोच्न नसकेपरिणाम नराम्रो हुन सक्छ । मर्ने वेलामा कमिलाका पखेटा आएको देखेका छौ हामीले । विनाशकालमा मति र वुद्धि भ्रष्ट हुन्छ । अपराध र अस्थिरतालाई मात्र प्राथमिकता दिन मन लाग्छ । अहिले त्यस्तै त भइरहेको छैन ?

प्रतिस्पर्धामा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM