२०८३ बैशाख १७ गते, बिहीबार ११:०७

वीरगंजमा दुर्गा मन्दिर निर्माण, घटस्थापनाका दिन मूर्तिको प्राण प्रतिष्ठा गरिने

धिरेन्द्र तिवारी/
वीरगंज/ वीरगंज महानगरपालिका–८ पानीटंकीमा दुर्गा मन्दिरको निर्माण गरिएको छ ।
मधेश प्रदेश सरकार र वडा नं. ८ को लगानीमा निर्माणधीन सो मन्दिरमा स्थापना गरिएको दुर्गा भगवतीको मूर्तिमा बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसर पारेर विधिपूर्वक प्राण प्रतिष्ठा गरी पूजाआजाको शुरुवात गरिने वडा नं. ८ का अध्यक्ष रितेश कुमार गुप्ताले बताउनु भयो ।
पानीटंकीस्थित वीरगंज पब्लिक कलेज नजिकै निर्माण गरिएको सो मन्दिरमा आइतवार परेको घटस्थापनाकादिन भव्य रुपमा पूजापाठ गरि मूर्तीका प्राणप्रतिष्ठा गर्न लागिएको दुर्गा पूजा समितिले शुक्रवार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
घटस्थापनाकै दिन आइतबार बिहान भव्य कलश यात्रा निकालिने, असोज ६ गते महानवमीका दिन संध्या महाआरती गरिने र असोज ७ गते विजयादशमीका दिन महाप्रसाद वितरण गरिने वडाध्यक्ष गुप्ताले बताउनु भयो ।
घटस्थापना, महानवमी र विजयादशमीका दिन बेलुकी मन्दिर परिसरमै झाँकीसहितको भजनकिर्तन पनि गरिने पूजा समितिका अध्यक्ष संजय श्रीवास्तवले बताउनु भयो ।
स्थानीय समाजसेवी प्रेम टिवडेवालले मन्दिर निर्माणकालागि वीरगंज महानगरपालिकालाई जग्गा दान गरेपछि मधेश प्रदेश सरकार र वडा नं. ८ को लगानीमा सो मन्दिर निर्माण गरिएको वडाध्यक्ष गुप्ताले बताउनु भयो ।
मधेस प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने भनेपनि हालसम्म ४३ लाख रुपैयाँ मात्र दिएकोमा त्यसले मन्दिर निर्माण कार्य सम्पन्न नसकेकोमा हाललाई वडा नं. ८ कार्यालयको पहलमा मन्दिर निर्माणसँगै बडा दशैंको पूर्व संध्यामा मन्दिरमा देवी दुर्गाको मूर्ति स्थापना गरी पूजापाठ अगाडी बढाउने तयारी भएको वडाअध्यक्ष गुप्ताले बताउनु भयो ।
वीरगंजस्थित नेपाली सेनाको श्री जंग गणका गणपति कर्णेल डायमण्ड कार्कीको विशेष सहयोगमा मन्दिर परिसर सरसफाई समेत गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM