Thursday, January 9, 2025
घरसमाचारनेपाल र भारतबाट आधिकारीक जवाफ आएमा म आत्मदाह गरेर मर्न तयार छुःनेपाल

नेपाल र भारतबाट आधिकारीक जवाफ आएमा म आत्मदाह गरेर मर्न तयार छुःनेपाल

काठमाण्डौ/२ डिसेम्बरलाई कालो दिवस मान्दै आएको ग्रेटर नेपाल नेशनललिष्ट फ्रण्टद्वारा काठमाण्डौमा आयोजित वेलायतले छाडेपछि सुगौली सन्धीको हैसियत बहस कार्यक्रम २०७५ का सबै अतिथि वक्ताहरूले लाचारी नेपाल सरकारका कारण सुगौली सन्धीमा नेपालको गुमेको भूभाग भारतबाट फिर्ता गर्न नसकिएको बताउनु भएको छ ।

‘राष्ट्रियता, राष्ट्रवाद कहिले पनि मर्दैन’ भन्ने नाराका साथ सुगौली सन्धीमा गुमेको भुभाग फिर्ता गराउन निरन्तर संघर्षरत ‘वृहत्तर नेपाल राष्ट्रवादी मोर्चाको बहस कार्यक्रमका प्रमुख अतिथि नेकपा मालेका महासचिव सी.पी. मैनालीले ग्रेटर नेपाल अभियान फल दिने अभियान भएकाले निरन्तरता दिनु पर्दछ, सम्पूर्ण देशभक्त नेपालीहरूको सहयोग, समर्थन रहनु पर्दछ भन्नु भएको थियो ।

उहाँले पैसाको लोभमा केपी ओली र माधव नेपालले क्रिश्चियन सम्मेलन गराएर नेपालको अपमान गरेका छन् । रेलसँगै भारतीय सार्वभौमिकता नेपालमा आउन सक्दछ । देशभक्त राष्ट्रवादीको हातमा शासन सत्ता भए मात्र भारतसँग मैत्रीपूर्ण सम्बन्ध हुन सक्दछ । नेपाल राज्य कसैको व्यक्तिगत सम्पत्ति होइन, राजा पृथ्वी नारायण शाहले एकीकरण गरेको नेपालका पनेपालीहरूले बिैटिस साम्राज्यवाद विरुद्ध लडेर नेपालको विस्तार भएर विशाल नेपाल भएको हो भन्नु भएको थियो ।

सो वहस कार्यक्रममा विप्लव नेतृत्वको नेपकाका स्थायी समितिसन्देश पौडेलले बन्दूकको वलमा लादिएको सन्धी बन्दूकबाट मात्र हल हुन्छ । साम्राज्यवादका विरुद्ध हतियार हतियार उठाउनु पर्दछ । कुटनीतिक वार्ताबाट सुगौली सन्धीको हल हुन सक्दैन । साम्राज्यवादको विकसित रुप पूंजीवाद भएकोले पूंजीवाद अन्त्य नगरेसम्म सुगौली सन्धी खारेज गरी नेपाली भूभाग फिर्ता गराउन सकिंदैन भन्नु भएको थियो ।

कानुन व्यवसायी मनोहर लामिछानेले साम्राज्यवाद, विस्तारवादको चंगुलमा नेपाल फसेको छ । ग्रेटर नेपाल भन्दा भन्दै नेपालको सीमा चुरेसम्म सीमित हुने हो कि भन्ने डर देखा परेको छ । भारतीय विस्तारवादको इशारामा प्रधानमन्त्री, मन्त्री बन्न पाउने कि नपाउने चिन्ता पार्टीका नेताहरूमा छ । अन्तर्राष्ट्रिय अदालतमा नेपालले मुद्दा हाले नेपालको सुगौली सन्धीमा गुमेको भूभाग फिर्ता पाउन सक्दछ । अहिले भारतीय विस्तारवादले सीमा अतिक्रमण गरेर नेपाललाई खुम्च्याउँदैछ भन्नु भएको थियो ।

नेपाली काँग्रेसका लोकेश ढकालले वृहत्तर नेपाल राष्ट्रवादी मोर्चा अभियन्ता हो । नेपालका कुनै पनि पार्टीले सुगौली सन्धीलाई पार्टी एजेण्डा बनाउन सकेका छैनन् । इतिहासलाई सम्मान नगरी नेपालको भविष्य सुरक्षित हुन सक्दैन । नेपालको राजनीीतमा राष्ट्रवादी सोंच छैन, केवल सत्ता मात्र छ । नेपालको राष्ट्रियता वामपंथी सरकारको नौ महिनो कार्यकालमा नेपालको राष्ट्रियता एकदमै कमजोर र असफल हुँदै गएको छ । केपी ओलीको चौतर्फी आलोचना भइरहेको छ भन्नु भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले सुगौली सन्धी प्रस्ताव भएको दिन २ डिसेम्बर १८१६ हो । म्याद नघाएर सन्धीमा हस्ताक्षर भएको छ । राष्ट्र प्रमुख राजाको सुगौली सन्धीमा हस्ताक्षर छैन । प्रतिनिधिको मात्र हस्ताक्षर छ । सुगौली सन्धीका बारेमा राजनीतिक दलका नेताहरू किन बोल्दैनन् ? भारत वेलायतबाट स्वतन्त्र भएपछि दिल्लीको सहयोग र समर्थनमा नेपालमा राजनीतिक परिवर्तन हुने गरेको कारण भारतले सीमा अतिक्रमण गर्दा र सुगौली सन्धीबाट गुमेको नेपाली भूभाग फिर्ताको कुरा उठाउन नसकेको बताउनु भएको थियो ।

हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाका कार्जेन लामाले नेपाली मातृभूमिको पक्षमा नेपालको साँध सीमाको यथार्थतामा आवाज नउठाउने नेपाली दलाल हो । नेपाल नै नरहे नेपालका नेताहरूले कुकुर–विरालोको नेतृत्व गर्ने ? रोटी र बेटीको कुरा उठाउने नेपाल सरकार नेपालको गुमेको भूभाग फिर्ता गराउन तयार छैन । अतिक्रमित र गुमेको नेपालको भूभाग फिर्ता हुनै पर्दछ भन्नु भएको थियो ।

परराष्ट्र विज्ञ हिरण्यलाल श्रेष्ठले सुगौली सन्धीका युद्ध बन्दी नेपालीलाई वेलायतले सेना बनाएको थियो । कालापानी, नेपाली भूभाग भारतीय सेनाले कब्जा गरेको छ । महाकाली नदिको पानी कब्जा गर्न भारतले नक्सा नै अतिक्रमण गरेको छ भन्नु भएको थियो ।

अन्तर्राष्ट्रिय थिंक ट्यांक फोरमका प्रेम सागर पौडेलले देश र नेपाली जनतालाई कमजोर असफल बनाउने काम दुई तिहाई बहुमतको बाम सरकारले गरिरहेको छ । देशको हित नगर्ने सिद्धान्त, वाद र व्यवस्थालाई स्वीकार्न सकिंदैन । नेपालका राजनीतिक दलहरू विदेशी स्वार्थको रक्षाकालागि प्रयोग भइरहेका छन् । देशको राष्ट्रिय नीति, अर्थ नीति स्वतन्त्र छैन । नेपालका तथाकथित नेताहरूलाई खारेज नगरेसम्म नेपाल र नेपालीको रक्षा हुन सक्दैन भन्नु भएको थियो ।

वृहत्तर राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले प्रत्येक वर्ष २ डिसेम्बरका दिन भारतीय राजदूतावस अगाडी उभिएर नारा लगाउने गरेकोमा यस वर्ष बहस कार्यक्रम संचालन गरेका हौं । कालोपानीको नेपाली भूभागमा भारतीय सेनाले कब्जा गरेको नेपाली सेनाले टुलुटुलु हेरेर बसिरहेको छ । हामीले कुनै स्वार्थले ग्रेटर नेपालको मुद्दा लिएर हिंडेका हैनौं, सबैखाले स्वार्थ, धम्की, प्रलोभनबाट हटेर नेपालको स्वाधीनताको पक्षमा अघि बढिरहेका छौं । सुगौली सन्धीबाट गुमेको भूभाग नेपालले पाउन सक्दैन भनेर नेपाल र भारतबाट आधिकारीक जवाफ आएमा म आत्मदाह गरेर मर्न तयार छु भन्नु भएको थियो ।

सो कार्यक्रममा सहजकर्ता विष्णु जंग पाण्डेले आफ्नो स्वाभिमान र नेपालको स्वाधीनताको रक्षा गर्नु भर्दछ भन्नु भएको थियो ।

स्वागत भाषण गर्नुहुँदै मोर्चाका केन्द्रिय सदस्य रवीन्द्र श्रेष्ठले नेपालको गौरवपूर्ण इतिहासलाई नेपालका दलाल नेताहरूले धुलिसात पार्दैछन् भन्नु भएको थियो ।

मंसिर १७ गते सोमबार प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -