२०८३ जेष्ठ २१ गते, बिहीबार १७:४७

बारामा सर्पदंशबाट १९ महिने बालकको मृत्यु

बारा/ बाराको पचरौता नगरपालिका–४ बेल्दारीमा सर्पले टोकेपछि एक १९ महिनाका बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार स्थानीय संजय रामका १९ महिनाका छोरा धनजय रामको सर्पदंशबाट मृत्यु भएको हो। सोमबार बिहान करिब १० बजे उनकी आमा सोनापती देवी राम ज्यालादारी काम गर्न गाउँकै एक मकैबारीमा गएकी थिइन्। सोही क्रममा धनजय मकैबारीमा खेलिरहेका बेला सर्पले उनको दाहिने खुट्टामा टोकेको प्रहरीले जनाएको छ।

सर्पले टोकेपछि बालकको अवस्था गम्भीर बनेको थियो। उपचारका लागि दिउँसो करिब २ बजे प्रादेशिक अस्पताल कलैयामा पुर्‍याइए पनि चिकित्सकले परीक्षणका क्रममा बालकको बाटोमै मृत्यु भइसकेको जानकारी दिएका थिए।

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बेल्दारीबाट प्रहरी सहायक निरीक्षक सुनिल यादवको नेतृत्वमा टोली खटिएको थियो। घटनास्थल प्रहरी चौकीबाट करिब दुई किलोमिटर पूर्वतर्फ रहेको प्रहरीले जनाएको छ।

मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी साँझ उनका हजुरबुवा रामरेख रामले बुझिलिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM