२०८३ जेष्ठ २० गते, बुधबार १८:०९

अधिवेशन नहुँदा राप्रपाको औचित्य सकिएको भन्दै डा. धवल शमशेरको विद्रोही अपिल

अधिवेशन टार्दै नेतृत्व अलोकतान्त्रिक बाटोमा गएको आरोप, डा. राणाद्वारा राष्ट्रवादी शक्तिलाई नयाँ एकताका लागि आह्वान

काठमाडौं । राष्ट्रवादी एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल समाप्त भइसक्दा पनि नेतृत्वले अधिवेशन नगरी पार्टीलाई वैधानिक संकटमा पुर्‍याएको आरोप लगाउँदै उपाध्यक्ष डा. धवलशम्शेर राणाले राष्ट्रवादी शक्तिहरूबीच नयाँ एकताको पहल आवश्यक भएको बताएका छन्।

बुधबार जारी गरेको एक लिखित अपिलमार्फत डा. राणाले महाधिवेशन सम्पन्न गर्न एक वर्षअघि नै सुझाव समिति गठन गरिएको र आफू पनि त्यस समितिको सदस्य रहेको उल्लेख गरेका छन्। समितिले निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनअघि मंसिरमा र त्यसो नभए चैत महिनाभित्र अधिवेशन सम्पन्न गर्न सुझाव दिएको भए पनि त्यसलाई कार्यान्वयन नगरिएको उनको भनाइ छ।

उनका अनुसार केन्द्रीय समितिको कार्यकाल थप गरिएको अवधि समेत सकिइसकेको छ। गत जेठ १९ गते थपिएको समयावधि समाप्त भइसकेको अवस्थामा पार्टीले आफ्नो वैधानिकता समेत गुमाइसकेको दाबी उनले गरेका छन्।

डा. राणाले पार्टीभित्र पटक–पटक औपचारिक तथा अनौपचारिक बैठकमा अधिवेशन सम्बन्धी सुझाव र परामर्श दिँदा पनि नेतृत्वले बेवास्ता गरेको आरोप लगाएका छन्। अधिवेशनको मिति तय गर्ने जिम्मेवारी आफूलाई दिएर पछि जिम्मेवारीबाट पन्छिएको वा भागेको भन्ने आरोप लगाइनु नेतृत्वको गैरजिम्मेवार प्रवृत्ति भएको उनको टिप्पणी छ।

उनले नेतृत्वको कार्यशैलीकै कारण पछिल्लो निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको मात्र नभई पार्टीका वैचारिक मूल्य, मान्यता र सिद्धान्तसमेत कमजोर बन्दै गएको बताएका छन्। नेतृत्वप्रति विश्वासको संकट उत्पन्न भएपछि पार्टीका नेता–कार्यकर्ता अन्यत्र जान वा निष्क्रिय बन्न बाध्य भएको उनको दाबी छ।

अपिलमा डा. राणाले वर्तमान अवस्थाबाट पार्टीभित्र मूल्य र मान्यता स्थापित हुने सम्भावना क्षीण बन्दै गएको उल्लेख गर्दै सम्पूर्ण राष्ट्रवादी समूह, पार्टी शक्ति, अभियान तथा व्यक्तित्वहरूलाई नयाँ राष्ट्रवादी शक्तिको निर्माण अभियानमा जुट्न आग्रह गरेका छन्।

“व्यक्तिपूजाको परम्परामा नभई लोकतान्त्रिक पद्धतिबाट लक्ष्यमा पुग्ने बाटो निर्माण गर्न आवश्यक छ,” उनले अपिलमा उल्लेख गरेका छन्।

डा. राणाको यो सार्वजनिक अपिललाई राष्ट्रवादी राजनीतिक वृत्तमा नयाँ ध्रुवीकरण र एकताको बहससँग जोडेर हेरिएको छ। विशेषगरी पार्टीको वैधानिकता, नेतृत्वको कार्यशैली र आगामी राजनीतिक दिशाबारे उनले उठाएका प्रश्नहरूले राष्ट्रवादी धारभित्र नयाँ तरंग सिर्जना गर्ने संकेत देखिएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM