२०८३ बैशाख १० गते, बिहीबार २०:२३

सीमाबाट अवैध घुसपैठ नियन्त्रणमा कडाइ, पर्सा प्रशासनको सार्वजनिक अपिल

वीरगञ्ज/जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती क्षेत्रमा बढ्दो अवैध घुसपैठ नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेको छ। राष्ट्रिय सुरक्षा र सार्वजनिक शान्तिमा चुनौती थपिन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले सर्वसाधारण, व्यवसायी तथा सरोकारवालासँग सहयोगको अपिल गरेको हो।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २०८३ बैशाख १० गतेदेखि सीमाबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकमाथि विशेष निगरानी बढाइएको प्रशासनले जनाएको छ। यसअन्तर्गत सीमा नाकाबाट प्रवेश गर्ने व्यक्तिहरूको यात्रा कागजात (पासपोर्ट/भिसा) अनिवार्य रूपमा जाँच गरिनेछ भने सम्पर्क नम्बर सहितको विस्तृत विवरण संकलन गरी अभिलेख राखिने व्यवस्था गरिएको छ।

प्रशासनका अनुसार अध्यागमन कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा सीमा क्षेत्रका चेकपोस्टहरूमा निगरानी कडा बनाएका छन्। यस अभियानले अवैध आवतजावत, आपराधिक गतिविधि तथा सम्भावित सुरक्षा जोखिम न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।

जिल्ला प्रशासनले जारी गरेको अपिलमा सर्वसाधारणलाई चार बुँदामा विशेष ध्यान दिन आग्रह गरिएको छ:

– आफ्नो गाउँ/टोल वा होटल–लजमा कुनै शंकास्पद विदेशी नागरिक देखिएमा तुरुन्त नजिकको प्रहरी वा सशस्त्र प्रहरीलाई जानकारी गराउने,

– सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई विवरण संकलनमा आवश्यक सहयोग गर्ने,

– अवैध रूपमा सीमा पार गर्ने वा गराउने गतिविधि देखेमा नडराई प्रशासनलाई सूचित गर्ने,

– सुरक्षा र सुशासनका लागि सञ्चालन गरिएको अभियानमा सक्रिय सहकार्य गर्ने।

जिल्ला प्रशासन कार्यालय पर्साले अवैध गतिविधि नियन्त्रण र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन आम नागरिकको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै यस अभियानलाई प्रभावकारी बनाउन सबै पक्षसँग जिम्मेवार सहभागिताको अपेक्षा गरेको छ।

प्रशासनको यो कदमले खुला सीमा व्यवस्थापनलाई व्यवस्थित बनाउने मात्र नभई सीमावर्ती क्षेत्रमा बढ्दो असुरक्षा चिन्तालाई समेत सम्बोधन गर्ने विश्वास गरिएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM