२०८३ बैशाख ९ गते, बुधबार २२:३४

कार्ल्सबर्गले जल संरक्षणका लागि नेपालमा १० अर्ब लगानी गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय पेय पदार्थ उत्पादक कम्पनी कार्ल्सबर्ग समूहले नेपालमा जल स्रोत संरक्षण र दिगो व्यवस्थापनका क्षेत्रमा लगानी विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले करिब १० अर्ब रुपैयाँ बराबरको लगानीमार्फत पानीको दिगोपन, स्थानीय उत्पादन सुदृढीकरण तथा दीर्घकालीन साझेदारीलाई प्राथमिकतामा राखेको जनाएको छ।

डब्लुडब्लुएफ डेनमार्कसँगको सहकार्यमा कार्ल्सबर्गले जल स्रोत व्यवस्थापनलाई थप व्यवस्थित बनाउने लक्ष्य अघि सारेको हो। विशेषगरी ब्रुअरी उद्योगका लागि पानी अत्यावश्यक कच्चा पदार्थ भएकाले यसको दक्ष उपयोग, भू–जल पुनर्भरण तथा सिमसार क्षेत्रको पुनर्स्थापनामा कम्पनीले केन्द्रित भएर काम गरिरहेको छ।

कम्पनीका अनुसार सन् २०२६ देखि २०२८ सम्म लागू हुने तीनवर्षीय कार्ययोजनाअन्तर्गत देशका विभिन्न स्थानमा क्षतिग्रस्त सिमसार क्षेत्र पुनर्जीवन, पानीको उपलब्धता सुधार तथा जलचक्रको दीर्घकालीन सन्तुलन कायम गर्ने लक्ष्य राखिएको छ। यसले नदी–नाला र भू–जल प्रणालीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रम डब्लुडब्लुएफको ‘वाटर रिस्क फिल्टर’ प्रणालीको मार्गदर्शनमा सञ्चालन भइरहेको छ। यसले उद्योग सञ्चालन तथा आपूर्ति शृंखलासँग सम्बन्धित पानीजन्य जोखिमको पहिचान र व्यवस्थापनलाई तथ्यमा आधारित बनाउने विश्वास गरिएको छ।

कार्ल्सबर्गले नेपाललाई आफ्नो प्राथमिकताप्राप्त रणनीतिक बजारका रूपमा लिँदै आएको छ। बढ्दो विश्वव्यापी जल संकटको सन्दर्भमा कम्पनीको यो पहल व्यवसाय विस्तारसँगै वातावरणीय उत्तरदायित्वलाई सन्तुलित ढंगले अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM