काठमाडौँ– उपसभामुख चयनको विषयले राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको मतभेद उजागर गरेको छ। बिहीबार उपसभामुख चयनका लागि उम्मेदवारी दिँदा रास्वपाभित्रको मतभेद बाहिरिएको हो।
प्रतिनिधिसभामा झण्डै दुई तिहाइ बहुमतसहित निर्णायक रहेको रास्वपाले जसलाई समर्थन गर्यो, उही उपसभामुख हुने अवस्था छ। त्यस्तो अवस्थामा सभापति रवि लामिछानेलाई राप्रपालाई समथर्न गर्ने वचन दिएर उम्मेदवारी दर्ता गर्न लगाए पनि केही बेरमै निर्णय उल्ट्याउँदै रास्वपा श्रम संस्कृति पार्टीलाई औपचारिक रुपमा समथर्न गर्न पुगेको हो।
उपसभामुखमा श्रम संस्कृति पार्टीबाट २५ वर्षीया सांसद रुबीकुमारी ठाकुरको उम्मेदवारी परेको छ जसलाई रास्वपाका महामन्त्रीसमेत रहेका कविन्द्र बुर्लाकोटीको उपस्थितिमा अशोक चौधरीले समर्थन गरेका छन्।
राप्रपाले सांसद सरस्वती लामालाई आफ्नै पार्टीका बाँकी सांसदहरु प्रस्तावक र समर्थक रहेर उम्मेदवारी दर्ता गरेको छ। राप्रापा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रास्वपा सभापति लामिछानले सहयोग गर्ने वचन दिएपछि मात्रै आफूहरुले उपसभामुखमा उम्मेद्वारी दिएको जानकारी सञ्चारकर्मीहरूसँग दिए।
लामिछाने आफैँले फोन गरेर पार्टीको समर्थन रहेने वचन दिएपछि लामालाई लिएर शाही आफैँ उम्मेदवारी दर्ता गराउन गएका थिए। रास्वपाबाट ‘धोका’ पाएको राप्रपा दलका नेता शाहीले भने, ‘हामीले सबैसँग कुरा गरेर नै उम्मेद्वार दर्ता गराएको हो । स्वयं रास्वपा सभापति रवि लामिछानेज्युले नै फोन गरेरपछि हामीले उम्मेद्वारी दर्ता गरेको हो। अब अरु उहाँहरुले जे गर्नुहुन्छ, जसरी गर्नुहुन्छ, गरुन्।’
शाहीले अर्को पार्टीका उम्मेदवारलाई समर्थन गरे पनि आफूहरुलाई आपत्ति नहुने जनाए। ‘उहाँहरुले अर्कोतिर समर्थन गरेर राजनीति गर्नुहुन्छ भने गरुन् त्यसमा मेरो केही आपत्ति छैन। मैले सत्य कुरा बोल्ने हो, यथार्थ कुरा बोल्ने हो, रास्वपा सभापति रवि लामिछानेज्युले फोन गरे पनि नै हामीले उम्मेद्वारी दिएको हो। त्यो भयो भने भोलि हामी पनि देखाउँला के भयो र?’ उनले भने।
उता रास्वपाका महामन्त्री बुर्लाकोटीले भने आफ्नो पार्टीका तर्फबाट कसैलाई पहिल्यै वचन नदिएको दाबी गरे। दलहरुसँगको छलफल भएको तर कसलाई समथर्न गर्ने भन्ने विषय १० मिनेट अघि मात्रै निर्णय गरिएको बताए। राप्रपाका सांसदहरु उम्मेदवारी दर्ता गराउने कक्षमा रहेका बेला श्रम सस्कृतिकी रुबीलाई समर्थन गर्न उनीसमेत संसद सचिवालय पुगेका थिए।
उम्मेदवारी दर्तापछि उनले भने, ‘हामी विभिन्न दलसँग छलफलमै थियौँ। यहाँ आउनुभन्दा १० मिनेट पहिले मात्रै निर्णय गरेका हौँ। यसमा पार्टीमा दुईवटा विचार थिएन।’
रास्वपा स्रोतका अनुसार उपसभामुख राप्रपा वा श्रम संस्कृतिलाई बनाउने भन्ने विषयमा विवाद थियो। सभापति लामिछानेसहितका केही नेता राप्रपालाई समर्थन गर्नुपर्ने पक्षमा थिए भने प्रधानमन्त्री बालेन्द्र शाह, महामन्त्री बुर्लाकोटी, नेता मनिष झा श्रम संस्कृतिको पक्षमा थिए।
श्रम संस्कृतिलाई समथर्न गर्ने पक्षमा रहेका बुर्लाकोटीसहितका नेताहरु अध्यक्ष हर्क साङ्पाङसँग निरन्तर संवाद गरिरहेका थिए भने लामिछाने राप्रपासँगको कुराकानीमा थिए। अन्तत लामिछानेले वचन नै दिए पन प्रधानमन्त्री शाह सहितका नेता उनीमाथि हावी भएका छन्।
साभार : देशसंचार
















