काठमाडौं । सिम्रौनगढको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्वलाई संरक्षण गर्दै व्यवस्थित विकास गर्न सरकार गम्भीर हुनुपर्नेमा गणेश धिमालले जोड दिएका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद धिमालले एक हजार वर्षभन्दा बढी इतिहास बोकेको प्राचीन मिथिला र तिरहुतको राजधानी सिम्रौनगढ नेपालको मध्यकालीन इतिहास र संस्कृतिको महत्वपूर्ण धरोहर भएको उल्लेख गरे। उनले विगतमा योजनाविहीन ढंगले गरिएका विकास गतिविधिका कारण यस क्षेत्रका महत्वपूर्ण सम्पदाहरू तीव्र रूपमा नष्ट हुँदै गएको बताए।
उनका अनुसार २०६७ सालतिर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्धाधुन्द पोखरी खन्ने कार्यले सिम्रौनगढभित्रका करिब ८० प्रतिशत पुरातात्त्विक सम्पदा क्षतिग्रस्त भइसकेका छन्। अब यसलाई नियन्त्रण गर्न प्राचीन पर्खालभित्र पोखरी खन्ने कार्य तत्काल रोक्न र वैकल्पिक कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता उनले औंल्याए।
धिमालले भु–भौतिक सर्वेक्षणका आधारमा संवेदनशील क्षेत्रहरूको चारकिल्ला निर्धारण गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग माग गरे। साथै, पुरातात्त्विक उत्खनन र सम्पदा संरक्षणका लागि दीर्घकालीन दृष्टिकोणसहित बृहत् गुरुयोजना आवश्यक रहेको उनको भनाइ छ।
सिम्रौनगढमै पुरातत्व विभागको कार्यालय स्थापना गरी हालसम्म प्राप्त मूर्ति तथा अन्य पुरातात्त्विक अवशेषहरूलाई व्यवस्थित रूपमा संग्रहालयमार्फत प्रदर्शन गर्नुपर्नेमा पनि उनले जोड दिए। यसका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया तत्काल अघि बढाउनुपर्ने उनको आग्रह थियो।
दीर्घकालीन व्यवस्थापनका लागि ‘सिम्रौनगढ क्षेत्र विकास कोष’ सम्बन्धी छुट्टै कानुन तर्जुमा गर्नुपर्ने आवश्यकता औंल्याउँदै सांसद धिमालले संरक्षण र विकासलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखे।
यसै क्रममा उनले परिवर्तनको पक्षमा मत दिएका बारा क्षेत्र नम्बर १ अन्तर्गत निजगढ, कोल्हबी, बारागढी, आदर्श कोत्वाल र सिम्रौनगढका मतदाताप्रति आभार व्यक्त गरे।
















