२०८३ बैशाख १२ गते, शनिबार २१:३२

जाजारकोट भूकम्पपछि पुनर्निर्माण सुस्त: सांसद बुढाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं/ नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले जाजारकोटका भूकम्पपीडित नागरिक अझै पनि टिनको छानोमुनी बस्न बाध्य रहेको बताएका छन्। संसदमा आफ्नो धारणा राख्दै उनले २०८० साल कात्तिक १७ गते जाजारकोटको रानीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको स्मरण गराए।

उनका अनुसार उक्त भूकम्पका कारण जाजारकोट, पश्चिम रुकुम तथा सल्यानका केही क्षेत्रमा करिब ८० हजार घरमा क्षति पुगेको थियो। तर, प्रभावित संरचनाहरूको पुनर्निर्माण प्रक्रिया अझै पनि अपेक्षाकृत ढिलो गतिमा अघि बढिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।

सांसद बुढाले पीडितलाई तत्काल राहत उपलब्ध गराउँदै पुनर्निर्माण कार्यलाई तीव्रता दिन सरकारलाई आग्रह गरे। साथै, सुरक्षित आवास सुनिश्चित गर्न आवश्यक कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

यसैबीच, उनले मध्यपहाडी राजमार्ग (पुष्पलाल लोकमार्ग) निर्माण कार्य करिब १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै यसको शीघ्र सम्पन्नताका लागि पनि पहल गर्नुपर्ने बताए। सडक विस्तार, पुल निर्माण, प्रशासनिक संरचना विस्तार तथा जग्गा मुआब्जा वितरण जस्ता काममा ढिलासुस्ती भइरहेको भन्दै उनले यस्ता विकास आयोजनाहरूलाई गति दिन तत्काल कदम चाल्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM